जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेबोनको अध्यक्ष पदमा देखिएन आकर्षण, एकदिन मात्रै बाँकी छँदा तीनजनाको आवेदन

सेबोनको अध्यक्ष पदमा देखिएन आकर्षण, एकदिन मात्रै बाँकी छँदा तीनजनाको आवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त रहेको अध्यक्ष पदका लागि अपेक्षाकृत दरखास्त परेको छैन। अर्थ मन्त्रालय स्रोतका अनुसार दरखास्त दिने अन्तिम एक दिन बाँकी रहँदा जम्मा तीन जनाले मात्र मङ्गलवार साँझसम्ममा आवेदन दिएका छन्। यसलाई सो पदमा आकर्षण घटेको रूपमा समेत व्याख्या गर्न थालिएको छ। 

स्रोतका अनुसार अहिलेसम्म आवेदन दिनेमा हाल धितोपत्र बोर्डमा नै कार्यरत दुई जना छन् भने एक जना सेबोन बाहिरका व्यक्ति रहेका छन्। हालसम्म अध्यक्ष पदको आकाङ्क्षीका रूपमा आवेदन गर्नेमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी र उप-कार्यकारी निर्देशक नवराज अधिकारी छन्।  अर्का प्रत्याशीका रूपमा भने विमल पौडेल नाम गरेका व्यक्ति छन्।  उनी नेपाल सरकारको कर्मचारी रहेको समेत समाचार स्रोतले जानकारी दिएको छ। 

लामो समयसम्म धितोपत्र बोर्डमा काम गरेको अनुभव भएका गिरी र अधिकारीको आवेदनलाई स्वाभाविक मानिए पनि पौडेल कुन माध्यमबाट यो दौडमा सामेल हुन आए भन्ने चाहिँ खुलेको छैन। उनको आवेदनले कतै नपत्याउने खोलाले त बगाउने होइन भन्ने चर्चा समेत सेबोनमा चलन थालेको छ। सेबोनमा कार्यरत एक निर्देशकले पौडेलको आवेदनले गिरी र अधिकारी दुबैलाई बेचैन बनाएको बताए। 

त्यसो त धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा लागेका भनी चर्चा गरिएका अझै आधा दर्जन भन्दा बढी व्यक्तिहरूले अहिलेसम्म आवेदन दर्ता गराएका छैनन्। बिहीबार अर्थात् कार्तिक २५ गते आवेदन दिने अन्तिम दिनमा यसअघि चर्चामा आएका व्यक्तिहरूले समेत आवेदन दिने सम्भावना कम रहेको अर्थ मन्त्रालय स्रोतको अनुमान छ। स्रोतले भन्यो, “योजना आयोगका उपाध्यक्ष स्वयम् छनौट समितिमा बसेपछि सो विषयमा जे जस्तो चर्चा भयो त्यसले उनलाई दबाब परेको छ।  उनीसँगको निकटताका आधारमा आवेदन दिन ठिक्क परेकाहरू समेत यदि छनौट भै हालेको खण्डमा पनि विवादमा परिने डरले पछि हटेजस्तो देखियो।” तर, अन्तिम दिन उनीहरूको पनि आवेदन पर्न सक्ने सम्भावनालाई भने स्रोतले नकारेन। 

स्मरण रहोस्, यसअघिका बोर्ड अध्यक्षलाई सर्वोत्तम सिमेन्टको शेयर किनेको र अनावश्यक रूपमा ५२ कम्पनीको नाम सार्वजनिक गरेर बदनाम गराएको आरोप लगाउँदै कार्यकाल २८ महिना बाँकी छँदै बर्खास्त गरेपछि अहिले सेबोन नेतृत्वबिहिन छ। सेबोन अध्यक्षको छनौटका लागि अर्थ मन्त्रालयले अर्थ सचिव मधु मरासिनी, योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र  विज्ञ सदस्यको रूपमा प्रा.डा नारायण प्रसाद पौडेल रहेको समिति गठन गरेको छ। 

सो समितिले कार्तिक ११ गते सूचना प्रकाशित गर्दै २५ गते भित्रमा अध्यक्ष पदका लागि आवेदन दिन भनेपछि आकाङ्क्षीहरूले आवेदन गर्ने क्रम जारी छ। सूचनामा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिमको योग्यता भएको नेपाली नागरिकले आवेदन गर्न सक्ने कुरा उल्लेख छ। जसको योग्यता भने धितोपत्र बजार बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, व्यवसाय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्ने बताइएको छ। त्यस्तो व्यक्ति तीस वर्ष पुरा गरी ६० वर्ष नपुगेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। 

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?