जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थमन्त्री जनार्दन शर्माले भने-‘अर्थतन्त्रमा समस्या छ, तर नेपाल र श्रीलंकाको तुलना हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले भने-‘अर्थतन्त्रमा समस्या छ, तर नेपाल र श्रीलंकाको तुलना हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताएका छन्। राष्ट्र बैंकले विलासिताका वस्तु आयातका कडाइ गर्न सिफारिस गरेपछि नेपालको अवस्था आर्थिक संकटमा फसेको श्रीलंका जस्तो हुने त होइन भन्ने बारेमा बहस भइरहँदा शर्माको यस्तो प्रतिक्रिया आएको हो।

उनले श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा तुलना नहुने बताएका हुन्। केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने उनले बताए।

‘कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने। तिनको सपना पूरा हुँदैन। नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन। हाम्रो ऋणको कुरालाई हेर्नुस्। हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस्। त्यहाँ तुलना हुने कुरा नै छैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम भइरहेको छ। त्यो गलत छ,’ उनले भने।

अर्थतन्त्रमा समस्या रहेको तर नेपाललाई श्रीलंकासँग तुलना गर्नु नै गलत रहेको उनको भनाइ छ। उनले अर्थतन्त्रलाई सुधारका बारेमा बहस हुनुपर्ने बताए। उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढेको र विदेशी मुद्रा सञ्चितिमा दबाब परेको समेत बताए।

‘अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ। यो भन्दा तल नझरोस् भनेर हामी सतर्क हुनुपर्छ। किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले छुट दियौं धेरै, हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गर्‍यौं भने हाम्रो गल्ती त्यहाँ भएको छ,’ मन्त्री शर्माले भने, ‘दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं। हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हामीले नीतिमा कतै कमजोरी भयो। अनुदानले किन उत्पादन वृद्धि गरेन?  हाम्रो नीतिमा कतै गडबडी भयो।’

नेपालको अर्थतन्त्र रसिया र युक्रेनबीचको युद्धको कारण थप समस्यामा परेको शर्माले बताए। दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको उनको मत छ।

‘कोरोना भाइरस महामारीको लहरसँगै सुस्ताएको विश्व अर्थतन्त्र संकटग्रस्त नै भएको अवस्थामा अहिले त्यसबाट बाहिर निस्कन नपाउँदै फेरि विश्वमा देखिएको नयाँ परिस्थिति देखियो। विश्वमा भइरहेको ध्रुवीकरण, रसिया र युक्रेनले श्रोत केन्द्रित रहेको छ। स्रोतहरुमा युद्धको कारणले पारेको प्रभावहरुमा आज हामी पनि असर गरेको छ,’ शर्माले भने।

उनले विलासिताका वस्तुहरु बढी आयात घटाउन जोड दिँदै आफ्नो स्रोत साधनको उपयोग कसरी गर्ने भन्ने बारेमा सोच्ने समय आएको बताए।

3845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका