जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • दुर्गा प्रसाई बैंकविरुद्ध उत्रिँदा, किन मौन छ राष्ट्र बैंक ?

दुर्गा प्रसाई बैंकविरुद्ध उत्रिँदा, किन मौन छ राष्ट्र बैंक ?

मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईं एक सार्वजनिक कार्यक्रममै बैंकवित्तविरुद्ध उत्रिएका छन् । झापामा आयोजितक कार्यक्रममा उनले भने, ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु । यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ ।’ व्यवसायी प्रसाईंले बोलेको यो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झापामा आयोजित कार्यक्रममा प्रसाईंले निजी क्षेत्रका बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर कारोबार नगर्ने, सामान आयात नगर्ने, मालपोत तथा राजस्व पनि नतिर्ने अभियान हुने बताए । ‘म केही दिनमा बाहिर (विदेश) जाँदै छु, रेमिट्यान्स पनि नपठाउन आग्रह गर्नेछु,’ उनको घोषणा थियो । बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब रुपैयाँ ऋण लिएको सार्वजनिक गरेका उनले तिनका कर्मचारीलाई लक्षित गर्दै आक्रमण गर्ने घोषणा समेत गरे । जसका लागि झापामा २ सय १ सदस्यीय युवा दस्ता पनि उनले तयार पारेको बताए । जसमा २०–२१ वर्षका युवा रहेको उनले बताएका थिए ।

‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ उनले भीडलाई उचाल्दै भनेका थिए, ‘मोसो दल्दा केही समस्या पर्दैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ।’

उनले २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा लिन नहुने बताए । झापाको बिर्तामोडमा बीएन्डसी र क्यान्सर अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंले उक्त कार्यक्रममा असार महिनासम्मको ब्याज भुक्तानी गरिसकेकाले आफूलाई बैंकले कारबाही गर्न नसक्ने पनि बताए ।

उनी विगतमा पनि बैंकको ऋणका विषयमा विवादमा पर्दै आएका थिए । पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरेका उनको होटलदेखि मिडिया क्षेत्रसम्म करोडौं लगानी छ । भक्तपुरमा उनले केही समयअघि दुई अर्ब लगानीमा तरकारी बजार खोलेका थिए । उनले करिब १० करोड रुपैयाँ हुन्डीमार्फत दुबई पठाएर कम्पनी सञ्चालन गरेको समाचार केही समय अगाडि बाहिरिएको थियो ।

जग्गाधनी पुर्जा किर्ते गरेको आरोप पनि उनीमाथि छ । उनले हुँदै नभएको जमिनको धनीपुर्जा सरकारी निकायमा पेस गरेर टिचिङ अस्पताल खोल्ने अनुमति लिएका थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज बुझाएका छैनन् । उल्टै, ऋणीहरूलाई समेत ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्।

प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको ऋण नतिर्न मुलुकको पूर्वी भेगमा अभियान चलाएका छन्। प्रसाईंको अभिव्यक्तिपछि ऋण असुलीमा निस्किएका बैंकरहरुलाई ऋणीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्दै फर्काउन थालेका छन्।
प्रसाईंले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै बैंकबाट लिएको ऋण नतिर्न अभियान चलाएपछि बैंकरमाथि ऋणी खनिएका हुन्।

उनको यस्तो अभिव्यक्तिपछि पूर्वका बैंकरहरुले ऋण असुली गर्न जाँदा ‘प्रसाईंले ऋण नतिर्न भनेका छन्’ भन्दै दुर्व्यवहार खेप्न थालेका छन्। प्रसाईं आफैंले भने बैंक तथा वित्तीय संस्थाबाट साढे ५ अर्बभन्दा बढी परिमाणको ऋण लिएका छन्।

राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।

प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायत क्षेत्रमा लगानी गर्न बैंकबाट ठूलो परिमाणमा ऋण लिएका हुन्। ऋण दिएका बैंकका अनुसार प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज पनि भुक्तानी गरेका छैनन्।

कतिपय बैंकरहरुले उनको अभिव्यक्तिपछि बैंकको आईडी कार्ड झुण्ड्याएर बाहिर निस्कन पनि डर लागिरहेको बताएका छन् । गत फागुन ३ गते नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमासंघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले अहिले विभिन्न व्यक्तिहरुले बैंकरलाई धम्क्याउने अभिव्यक्ति दिइरहेकोले बैंकरलाई कार्ड लगाएर बाहिर निस्कन पनि डर लाग्ने गरेको गुनासो गरेका थिए ।

उनले भनेका छन्, ‘हामी सबैतिरबाट च्यापिँदै गएका छौं, अहिले हाम्रा साथीहरु बजारमा टाई लगाएर जान पनि डर लाग्न थाल्यो भनिरहनु भएको छ, कतिपयले जता भेट्यो त्यतै कालोमोसो दल्ने भनिरहेका छन्, यो प्रवृतिको अन्त्य सबै मिलेर गर्नु पर्छ, अहिले देखिएको परिस्थितिको सामना गर्नको लागि हामी सबैले सहकार्य गर्नु पर्छ ।’

प्रसाईंले व्यवसायीलाई भड्काउने, बैंकरमाथि जाइलाग्नेजस्ता अराजक अभिव्यक्ति दिँदै हिँडेपछि राष्ट्र बैंक भने मौन छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट आफैं बैंकबाट ऋण लिने र पछि तिर्दिनँ भन्न थालेपछि समग्र बैंकिङ सिस्टम नै अप्ठयारोमा पर्ने बताउँछन् । ‘बैंकमा भएको पैसा निक्षेपकर्ताको सम्पत्ति हो। एउटा व्यवसायीले निक्षेपकर्ताको पैसाबाट व्यावसायिक साम्राज्य खडा गरेको हुन्छ,’ भट्टले भने, ‘त्यसरी ऋण तिर्दिनँ भनेर अभियान चलाउँदा भोलि अर्थतन्त्र नै तहसनहस हुन्छ ।’

2730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका