जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

एनआईसी एसिया बैंक म्याग्दी शाखाका कर्मचारीमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट कर्मचारीको टाउको फुटेको छ । यस्तो सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले घोर निन्दा एवं भत्सर्ना गरेको छ । सिबिफिनले भनेको छ– बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ ।

जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ । यसै सन्दर्भमा आज गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण र त्यसबाट गम्भीर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्सर्ना गर्दछ । निहित स्वार्थपूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं ।

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका