जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको नीतिको विषयमा सार्वजनिक उत्तेजना फैलाउने भाषण नगर्न आग्रह !!

राष्ट्र बैंकको नीतिको विषयमा सार्वजनिक उत्तेजना फैलाउने भाषण नगर्न आग्रह !!

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारीसँग राष्ट्र बैंकलाई गाली नगर्न आग्रह गरेका छन् । बुधबार गभर्नर अधिकारीलाई भेट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेको एफएनसीसीआईका पदाधिकारीलाई राष्ट्र बैंकको नीतिको विषयमा सार्वजनिक उत्तेजना फैलाउने भाषण नगर्न आग्रह गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

‘अब त निर्वाचन पनि सक्कियो । राष्ट्र बैंकलाई गाली गर्नै पर्ने बाध्यता तपाईंहरुलाई छैन,’ अधिकारीले भने, ‘हामी सबैले देशको अर्थतन्त्र बलियो बनाउन मिलेर काम गर्नु पर्नेछ । त्यसैले संयमित भाषण दिनु होला ।’

भेटमा एफएनसीसीआईको टोलीले ब्याजदर घटाउन राष्ट्र बैंकले उपलब्ध सबै मौद्रिक उपकरण प्रयोग गर्न आग्रह गरेको थियो । ब्याजदर महँगो भएकाले बैंक वित्तीय संस्थामा तरलता भएर पनि कर्जा लगानी हुन नसकेको र बजारमा माग बढ्न नसकेकाले यो समस्या समाधान गर्न केन्द्रीय बैंकले नीतिगत लचकता अपनाउनु पर्ने एफएनसीसीआईले माग गरेको छ ।

एफएनसीसीआईले कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्दैं सहजता सिर्जना गर्न माग गरेको छ । यस्तै एफएनसीसीआईले हाल राष्ट्र बैंकले स्थानीय तहको निक्षेपलाई सीसीडी गणना गर्दा जोड्न दिए पनि आगामी साउनदेखि गणना गर्न नदिने नीति लिएको भन्दै अहिलेको व्यवस्था कायम राख्न माग गरेको छ ।

यस्तै,डिभेन्चरलाई हाल कर्जा र पुँजीमा गणना गर्ने सुविधा दिएकोमा आगामी साउनदेखि कर्जा वा पुँजीमध्ये एकमा मात्रै गणना गर्न दिने नीति लिन लागेको भन्दै यो व्यवस्था पनि तत्काल कार्यान्वयन नगर्न माग गरेको छ ।

स्थानीय तहको निक्षेप र डिभेन्चरलाई के गर्न दिने भन्ने अनिश्चितता हुँदा बैंकहरुले कर्जा लगानी गर्न नसकेको भन्दै एफएनसीसीआईले तत्काल स्पष्ट नीति लिन गभर्नरसँग माग गरेको छ ।

जवाफमा गभर्नर अधिकारीले एफएनसीसीआईले उठाएका विषयलाई गम्भीर रुपमा लिँदैं उपयुक्त निर्णय गर्ने आश्वासन दिए ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?