जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नाडा अटो शोको ‘कर्टेन रेजर’ : कोभिडपछिकै ठूलो आर्थिक गतिविधि, के के हुनेछ नयाँ?

नाडा अटो शोको ‘कर्टेन रेजर’ : कोभिडपछिकै ठूलो आर्थिक गतिविधि, के के हुनेछ नयाँ?

आजबाट १५औं संस्करणको नाडा अटो शो २०२३ सुरु हुँदैछ। कोभिड-१९ पछिकै सबैभन्दा ठूलो आर्थिक गतिविधिका रुपमा यसलाई लिन सकिन्छ। मुलुकको समग्र क्षेत्र आर्थिक मन्दीले जर्जर अवस्थाबाट गुज्रिरहँदा आजबाट सुरु हुने ‘अटो शो’ मुलुकमा आर्थिक गतिविधि चलायमान गराउन सफल रहला त?

समग्र मुलुकको सूचकांकहरु नकारात्मक ‘रुट’मा चलिरहँदा नाडाले सबैभन्दा ठूलो मेला आयोजना गर्नु आफैंमा एउटा संकेत हो – नेपालको निजी क्षेत्र बजार चलायमान गराउन चाहन्छ।

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस संस्करणको नाडा अटो शो २०२३ भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल छ। साथै सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।

आयोजकको दाबीलाई मान्ने हो भने यो मेलामा २० अर्ब बराबरको कारोबार हुने अनुमान छ। अटो शोजस्तै ठूलो मेला चाहिँ घरजग्गा एक्स्पो हुने गरेको थियो, जुन पछिल्लो समय मन्दीको चपेटमा परेको छ।

अटो शोमा नयाँ मोडलहरु लन्च हुनु त स्वाभाविक नै हो। त्यसबाहेक यो त्यस्तो मेला हो जहाँ कुल बिक्री हुने गाडीको ६० प्रतिशतको कारोबार हुन्छ। चलायमान पैसाले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिनसक्ने आधारमा पनि यसलाई महत्त्वका साथ हेरिएको छ।

मेला गाडीको हो तर यसमा बैंक तथा वित्तीय संस्था पनि अनिवार्य जोडिएका छन्। बीमा कम्पनीहरु पनि यस मेलाका हिस्सा हुन पुगेका छन्। अटोमोबाइल क्षेत्रका हरेक विधाको यसमा सक्रिय सहभागिता रहन्छ। सबै सरोकारवालाको एकै छतमुनिको कारोबारमा यसपाला अटोमोबाइल कम्पनीहरुको सक्रियता लोभलाग्दो छ। यसखाले सक्रियतालाई ‘क्यास’ गर्न सके भने यस क्षेत्रले केही गति लिनसक्ने अपेक्षा गर्न सकिन्छ।

चाडपर्व नजिकिँदै गर्दा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरुपमा संलग्न सबैलाई आजबाट जोड्ने छ।

१२० स्टल रहने
यस प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लक रहने छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता हुँदैछ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता हुनेछ।

प्रदर्शनीलाई बढी जानकारी, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी वित्तीय सेवा, बिक्रीपछिका सेवा लगायतका सेवासुविधाका अलग स्टल रहनेछन्।

नाडा अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ।

प्रदर्शनीमा सटल बस सञ्चालन हुनेछ। यसका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गरिएको छ। यस्तै, यसपटक पार्किङ प्रदर्शनीस्थल भन्दा बाहिर गर्ने व्यवस्था मिलाइएको छ। प्रदर्शनीस्थलमा सजिलै आवागमनका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्कमा पार्किङ रहने आयोजकले जनाएको छ। त्यहाँबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिएको छ।

१४ लाखदेखि करोडौंका कार
यो अटो शोमा सबैभन्दा सस्तो १४ लाखदेखि करोडौंका गाडी देख्न पाइनेछ। चिनियाँ कम्पनी सेरेस ई १ मा धेरैको आँखा जाने निश्चित छ। १३ लाख ९९ हजार मूल्य तोकिएको यो सिटी स्मार्ट कार हो।

यस्तै, एमजीको कोमेट पनि पहिलोपटक गाडी लिन चाहने वा इभीमा उक्लिन चाहनेको नजरमा पर्ने छ। यसको मूल्य १७ लाख रुपैयाँ तोकेर अटो शोमा राखिएको छ। यस्तै, टाटाको बहुप्रतिक्षित टियागो इभी पनि यस पटकको आकर्षण हुनेछ।

यस्तै, मिडियम रेन्जतर्फ एमजीको एमजी ४ इभी, बीवाइडीको डल्फिन, सेरेस इभी ३, एटो ३, जेडएस इभी, जिम्नी, फ्रन्क्स, एक्सयुभी ७००, पन्चलगायत धेरै मोडल नेपाली गाडी पारखीका बीचमा हुनेछ।

त्यसैगरी करोडभन्दा माथिका गाडीहरु पनि आजदेखि हुने अटो शोमा देखिने छ। बीवाइडीको सिल, स्काइवेल ईटी ५, आयोनिक ५, नेटा यु, नेटा जीटी, किया इभी ६, मिफा ९ लगायत धेरै नयाँ मोडल आजको अटो शोमा देखिँदैछ। यी गाडीहरु एक करोडभन्दा माथि मूल्यका लक्जरी सेगमेन्टमा पर्छन्।

यस्तै, दुई पाङ्ग्रे र तीन पाङ्ग्रे र लाइट कमर्सियल गाडी पनि आकर्षणमा रहने छन्।

साढे १३ लाखसम्मका स्टल
आयोजकका अनुसार ब्लक ‘ए प्लस थ्रीडी’ को ४ वटा स्टल १३ लाख ५८ हजार ६२५ रुपैयाँमा बिक्री गरिएको छ। प्राइम स्टल ‘ए’मा सुजुकी, निसान, टाटा र महिन्द्रा देखिने छन्।

यस पटक ‘बी ५’ मा हुन्डाई मोटर्सको स्टल देख्न सकिने छ। यस्तै ‘बी ११’ स्टलमा बीवाइडी बस्नेछ। ‘ए ६’ स्टलमा सेरेस, ‘ए ७’ स्टलमा ग्रेटवाल मोटर, ‘सी ८’ स्टलमा फोर्ड, ‘ए १०’ मा नेटा भी, ‘जी १२’ स्टलमा किया, ‘एच १३’ स्टलमा एमजी, ‘ए ९’ मा सिट्रोन, ‘एफ १३’ स्टलमा विलिङका गाडीहरु देख्न सकिन्छ।

यस्तै, ब्लक ‘ए थ्री ई’को ४ वटा स्टल भने ८ लाख ९१ हजार ५०० रुपैयाँमा बिक्री भएको छ। साथै ब्लक ‘बी टु ई’ मा दुई स्टल छन्। जसको मूल्य १२ लाख ४९ हजार रुपैयाँ छ।

यस्तै, अन्यको भाडादर स्टल र स्थान हेरेर १ लाख रुपैयाँदेखि ९ लाखसम्म छ। क्याफ्टेरियाका लागि नाडाले २ लाख २६ हजार रुपैयाँ कायम गरेको छ।

गाडीको कारोबारको सबैभन्दा ठूलो पर्व कति सफल हुन्छ अहिले नै भन्न सकिन्न। तर, मुलुकको आर्थिक अवस्था दयनीय अवस्थामा अटो क्षेत्रले देखाएको साहसलाई भने कम आकलन गर्न सकिन्न। यसर्थ आजबाट सुरु हुने मेला अटो शो मात्र होइन, मुलुकको आर्थिक गतिविधि कुन दिशातिर उन्मुख हुँदैछ भन्ने देखाउने बलियो प्रतिबिम्ब हुने निश्चित छ।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका