जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकबारे फैलाइएको अफवाह, के हो वास्तविकता ?: नारायण पौडेल

एनआईसी एशिया बैंकबारे फैलाइएको अफवाह, के हो वास्तविकता ?: नारायण पौडेल

एनआईसी एशिया बैंक डुब्दैछ, सञ्चालकहरु भाग्दैछन् र बैंक सहकारी जस्तै हुँदैछ भनी पछिल्लो केही सयदेखि निक्षेपकर्ताहरुलाई आफ्नो निक्षेप बैंकबाट झिक्न केही अराजक समूहले अभियानै चलाएका छन् ।

बैंक डुब्दैछ भन्ने भ्रामक अनि मनगढन्ते नितान्त आवेग, दम्भ, व्यक्तिगत आक्रोश, कुण्ठा वा द्वेषको रुपमा यसलाई लिन सकिन्छ। बैंकविरुद्धका यस्ता प्रस्तुति/अभिव्यक्ति/अन्तर्वाता वा अन्य कुनै पनि माध्यमबाट सम्प्रेषण गरी सार्वजनिक गर्नु अतिरञ्जित हो ।

त्यसर्थ, एनआईसी एशिया बैंक डुब्न लागेको चर्चाको वास्तविकता के हो ? चिरफार गर्न आवश्यक देखिएकोले यहाँ केही प्रष्ट पार्न खोजिएको छ ।

बैंकको वास्तविक अवस्थाबारे यहाँ ८ बुँदामा प्रष्ट पार्ने प्रयास गरिएको छ ।

१. बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार २०८० पुस मसान्तमा निक्षेप दायित्व ३ खर्ब ८३ अर्ब ४४ करोड (अघिल्लो वर्ष ३ खर्ब ९ अर्ब ३५ करोड) र कर्जा ३ खर्ब २ अर्ब ६७ करोड (अघिल्लो वर्ष २ खर्ब ६६ अर्ब ६८ करोड) रही कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.१८ प्रतिशत (अघिल्लो वर्ष ८३.८४ प्रतिशत) रहेको छ ।

त्यसैगरी तरलता अनुपात ( लिक्विडिटी रेसियो)उक्त अवधिमा पर्याप्त अर्थात् २७.२८ प्रतिशत (अघिल्लो वर्ष २२.४७ प्रतिशत) रहेबाट बैंकले नगदमा परिणत गर्न सक्ने सम्पत्ति करिब १ खर्ब रुपैयाँको हाराहारीमा देखिन्छ । यी परिसूचकहरुलाई नियाल्दा बैंकको अवस्था सामान्य छ । अफवाह र अनर्गल प्रचारको प्रभावले पछिल्लो समयमा भने निक्षेप झिक्ने क्रम बढेको खण्डमा तरलता अनुपातमा कमी आई कर्जा–निक्षेप अनुपात बढ्न सक्ला । तर त्यसले केही पनि फरक पर्दैन ।

२. उक्त अवधिमा एनआईसी एशिया बैंकको पुँजीकोष (क्यापिटल एडुकेसी रेसियो) १२.२१ प्रतिशत (अघिल्लो वर्षको सोही अवधिमा १३.१८ प्रतिशत) र निष्कृय कर्जा (एनपीएल) १.१९ प्रतिशत (अघिल्लो वर्ष ०.६१ प्रतिशत) रहेको छ । यी परिसूचकहरु स्वीकार्य स्तरमा र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधीभित्र नै रहेका छन् ।

३. कोषको लागत (कस्ट अफ फन्डस्) आधार दर (बेस रेट) तथा ब्याजदर–अन्तरजस्ता दरहरुमा समय–समयमा हुने सामान्य उतार–चढाव बाहेक कुनै पनि अर्थमा एनआईसी एशिया बैंक अस्वभाविक र अनियन्त्रित देखिँदैन ।

४. बैंकले अघिल्लो आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशतका दरले बोनस सेयर वितरण गरेकोमा चालु आवको दोस्रो त्रयमासमा वितरणयोग्य मुनाफमा संकुचन आएको परिणमस्वरुप बैंकको प्रतिसेयर किताबी मूल्यमा कमी आइ २०५ रुपैयाँ १० पैसा (अघिल्लो वर्ष २४३ रुपैयाँ९७ पैसा) कायम भएको देखिएको छ ।

५. समस्याहरु जहाँ पनि हुन्छन्, एउटा संस्था विशेषमा होला या समग्र प्रणालीमै पनि होला । सोचेअनुसार व्यासाय विस्तार भएन होला, अपेक्षा गरेबमोजिमको प्रतिफल नभएको होला, कर्जा असुलीमा चुनौती देखिएको होला, संचालन लागत बढेको होला, बजार हिस्सामा कमी आएको होला, अघिल्लो वर्ष जस्तो कार्य–सम्पादन गर्न सकिएन होला या प्रतिस्पर्धीको तुलनामा केही पछि परिएको होला । यी सबै समस्याहरु हुन् र यसको समाधान वा निकास नै नहुने भन्ने होइन ।

देखिएका समस्या तथा चुनौतीहरुलाई अतिरञ्जित गरेर अमूर्त शैलीमा ठूलै संकट आउँदैछ भनी अनर्गल प्रचार गर्ने कार्यलाई सबै सचेत वर्गले निरुत्साहित पार्न जरुरी छ ।

६.बैंक तथा वित्तीय संस्थाहरुमा विगतमा पनि समस्याहरु आउँथे । नेपाल राष्ट्र बैंकले आवश्यक कारबाही गरेको वा व्यवस्थापन नै आफ्नो नियन्त्रणमा लिएको वा खारेजीमा पठाएको उदाहरणहरु छन् । तर अहिलेसम्म नेपालमा कुनै पनि निक्षेपकर्ताको निक्षेप धराप वा जोखिममा परेको अवस्था बनेको छैन ।

७. बैंक डुब्दै छ भन्दै फैलाइएका भ्रामक समाचारहरु प्रकाशित भएपछि एनआईसी एशिया बैंकले त्यस्ता झुठा र आधारहीन तथ्यका पछाडि नलाग्न सरोकारवालाहरुलाई सजग गराइ रहेको छ ।

८. अतः उपरोक्त तर्क र तथ्यका आधारमा त्यस्ता आधारहीन र भ्रामक हल्लाका पछाडि नलागि एउटा सचेत नागरिकले स्थितिको यथार्थ अनि वस्तुपरक विश्लेषण गर्न आवश्यक छ ।

(नारायण पौडेल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।)

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका