

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १५ खर्ब चार अर्ब ८० करोडको निक्षेप उठाएको छ । ४० पटक गरी उठाइएको यस्तो निक्षेपमध्ये फिर्ता भएर अहिले केन्द्रीय बैंकसँग दुई खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ मौज्दात छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ ।
जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । अहिले निक्षेप संकलन दर तीन प्रतिशत कायम छ । केन्द्रीय बैंकले साधारण निक्षेपको ब्याजदर तीन प्रतिशतभन्दा तल जान नदिन आफैँ तीन प्रतिशतमा बढी निक्षेप उठाउँदै आएको हो ।