
खाना पकाउने ग्यास र सवारीसाधनका लागि प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ। बजारमा ग्यास मौज्दात हुँदाहुँदै अभाव देखाएर उपभोक्तालाई नदिने तथा बढी मूल्य लिने गुनासो बढेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो।
ग्यास हुँदाहुँदै ‘पाइँदैन’ भन्दै ग्राहकलाई फर्काउने, अभावको हल्ला फैलाएर महँगोमा बिक्री गर्ने तथा इन्धन डिपोहरूमा मौज्दात हुँदाहुँदै सवारीसाधनलाई उपलब्ध नगराउने गतिविधि देखिएको सूचनापछि महानगरले अनुगमन कडा बनाएको जनाएको छ।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले ग्यास अभावको गलत सूचना फैलाएर मूल्य बढाउने र सर्वसाधारणको जनजीवनमा असहज अवस्था सिर्जना गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिए। ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढाउने तथा जनजीवन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन। यस्तो गर्नेलाई कारबाही हुन्छ,’ उनले भने।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९ सय १० रुपैयाँ तोकेको छ। व्यवसायीहरूले यही मूल्यमा ग्यास बिक्री गर्नुपर्ने र उपभोक्तालाई अनावश्यक रूपमा बढी मूल्य नलिन आग्रह गरिएको उनले बताए।
काफ्लेले सम्भावित अभावको आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास खरिद गर्न थालेको पनि पाइएको जानकारी दिए। यसरी ग्यास सञ्चिति गर्न थालेमा माग र आपूर्तिको स्वाभाविक चक्र प्रभावित हुने भएकाले उपभोक्तालाई जिम्मेवार रूपमा खरिद गर्न आग्रह गरिएको उनले बताए।
‘उपभोक्ताले पनि अत्यधिक सञ्चिति गर्न थाले भने बजारमा अनावश्यक अभाव देखिन सक्छ। सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग–व्यवसाय र सरकार सबैले आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ उनले भने।
महानगरका अनुसार केही पेट्रोल पम्पहरूले आफूसँग इन्धन मौज्दात हुँदाहुँदै ‘सकियो’ भन्दै सवारीसाधनलाई सेवा नदिएको सूचना समेत प्राप्त भएको छ। यस सम्बन्धमा पनि महानगरले निगरानी थालेको जनाएको छ।
ग्यास वा इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि देखेमा उपभोक्ताले महानगरपालिकाको हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा जानकारी दिन सक्ने व्यवस्था गरिएको छ। प्राप्त सूचनाका आधारमा महानगरले थप अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ।
उता ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा ग्यास आपूर्ति अहिलेसम्म नियमित रहेको बताए। भारतबाट ग्यास आपूर्ति अवरुद्ध नभएको उल्लेख गर्दै उनले अत्यधिक खरिदका कारण मात्रै केही ठाउँमा अभावजस्तो देखिएको बताए।
‘भारतबाट आउने ग्यास नियमित छ। माग धेरै भएकाले केही ठाउँमा अभाव देखिएको हो। उपभोक्ताले सञ्चितिका लागि अनावश्यक खरिद नगरे बजार सहज हुन्छ,’ उनले भने।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































