
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)को नेतृत्वका लागि हेमराज ढकाल समूहले प्रतिनिधिसभा निर्वाचनअघि प्यानल घोषणा गर्यो। फागुन ११ गते दरबारमार्गमा रहेको पाँच तारे होटल याक एण्ड यतीमा वरिष्ठ उपाध्यक्ष ढकालको समूहमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठको प्यानल घोषणा भयो।
त्यसपछि प्रतिनिधि सभाको निर्वाचनकै मेलोमा अर्को समूहले प्यानलको सूची तयार पार्न खोज्यो। सिटिजन्स बैंकका अध्यक्ष एवं महासंघका कार्यकारिणी सदस्य प्रवलजंग पाण्डेले टिम निर्माणको नेतृत्व लिएर विभिन्न चरणमा छलफल गरेका थिए। पाण्डे एसोसिएट उपाध्यक्षका उम्मेद्वार हुन्।
त्यो छलफलमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वारको भने टुंगो लाग्न सकेन। स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक अरु सबै उम्मेद्वारको करिब करिब टुंगो यसअघि नै लागिसकेको थियो। यो समूहबाट जिल्ला नगर उपाध्यक्षमा भैरहवाका कृष्ण शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं महासंघका बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेले भोट माग्न थालिसकेका छन्।
‘वरिष्ठ उपाध्यक्षबाहेक अरु सबैमा उम्मेद्वारको टुंगो लागे पनि वरिष्ठ उपाध्यक्षमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन,’ स्रोतले भन्यो, ‘वरिष्ठ उपाध्यक्षमा दुई जना आकांक्षी भएकाले समस्या परिरहेको छ।’
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले सुरकृष्ण वैद्यको नाम लिइरहेका छन्। तर, पाण्डे भने रामचन्द्र संघईलाई पनि मिलाउनुपर्ने पक्षमा छन्। संघईलाई मिलाउने विषयमा धेरै पटक छलफल भइसकेको छ। त्यो छलफल भने टुंगोमा पुग्न सकेको छैन। स्रोतका अनुसार श्रेष्ठ र संघईबीच सहमति नभएपछि वरिष्ठ उपाध्यक्षको घोषणा नगरी चुनावमा जाने तयारी छ।
पाण्डे समूहको यो तयारीमा भने संघई संशकित छन्। ‘अहिले वरिष्ठ उपाध्यक्ष घोषणा नगरी गए मलाई फेरि पेन्डुलम बनाउने हुन की?,’ संघईले आफू निकटलाई भनेका छन्, ‘चुनाव लड्ने वरिष्ठ उपाध्यक्षमा तर सहयोग नभए के गर्ने?’
संघईले यसअघि अन्जनसँग वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धामा थिए। उमेशलाल श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षको ब्याटलमा थिए।
संघईले अन्जन र उमेशलालसँग प्रतिस्पर्धा गर्दा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र जिल्ला नगरमा सुरकृष्ण वैद्य उनकै प्यानलमा थिए। संघईको प्यानलबाट ज्योत्सना र सुरकृष्णले जितेका थिए।
ज्योत्सना र सुरकृष्णले आफ्नो प्यानलमा बसेर आफूलाई हराएको निष्कर्ष संघईले निकालेका थिए। ‘मेरो प्यानलमा बसेर पिठ्युँमा छुरा हान्ने काम गरियो,’ संघईले आफ्ना निकटलाई भन्ने गरेका छन्।
त्यही भएर पनि संघईले अहिले वरिष्ठ उपाध्यक्षको नाम फाइनल गरेर जानुपर्ने अड्डी कसिरहेका छन्। त्यसमा पाण्डे प्यानलका केही उद्योगी पनि सहमत छन्।
स्रोतका अनुसार उद्योग व्यवसायका बारेमा जानकार संघईलाई जसरी पनि प्यानलमा ल्याउनुपर्ने जोडबल केही उद्योगीले गरिरहेका छन्।
‘महासंघलाई उद्योगी व्यवसायीको संगठन बनाउने हो भने मर्म बुझेको मान्छेलाई ल्याउनुपर्छ। होइन भने महासंघ भाषणबाजी गर्नेहरुको संस्थाको रुपमा मात्रै रहन्छ,’ एक उद्योगीले बिजमाण्डूसँग भने, ‘त्यही भएर त्यो समूहबीच सहमतिका लागि रस्साकस्सी चलिरहेको छ।’
ती उद्योगीका अनुसार उद्योग व्यवसाय भएका व्यवसायी नल्याएमा महासंघ कमजोर भइ नेपाल उद्योग परिसंघ थप बलियो हुनेछ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































