जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्राहक गोपनीयता र सुरक्षाप्रति नबिल बैंकको प्रतिवद्धता, दुष्प्रचार गर्नेमाथि कानुनी प्रक्रिया सुरु गर्ने चेावानी

ग्राहक गोपनीयता र सुरक्षाप्रति नबिल बैंकको प्रतिवद्धता, दुष्प्रचार गर्नेमाथि कानुनी प्रक्रिया सुरु गर्ने चेावानी

नबिल बैंकले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा ग्राहकको गोपनीयता भंग गरेको भनी आएका समाचारहरू आधारहीन र प्रमाणविहीन भएको भन्दै त्यसको कडा खण्डन गरेको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा गरिएको यस्तो दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बैंकले मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारलाई उद्यृत गर्दै स्पष्ट पारेको छ। उक्त समाचारमा कान्तिपुर आफैँले “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण” भनी उल्लेख गरेको तथ्यलाई नजरअन्दाज गरी केही व्यक्तिले बैंकविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको बैंकको ठहर छ।

नबिल बैंकका अनुसार, ग्राहकको विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि, वा कानुनी प्रक्रिया पुर्‍याएर आएका नियामक तथा अनुसन्धानकारी निकायलाई बाहेक अन्य कुनै पनि अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराइँदैन। बैंकले आफ्नो प्रणाली (काेर बैंकिङ सिस्टम) अत्यन्त सुरक्षित रहेको र कसले, कहिले, कुन प्रयोजनका लागि विवरण हेर्यो भन्ने कुराको पूर्ण अभिलेख रहने स्पष्ट पारेको छ।

चार दशकभन्दा लामो इतिहास भएको नबिल बैंकले प्रचलित कानुन, नियमन र आन्तरिक सुशासनको पूर्ण पालना गर्दै आएको जनाएको छ। बैंकले भनेको छ, “बैंकिङ गोपनीयता कायम राख्नु हाम्रो नैतिकता र आधारभूत सिद्धान्त हो, यसमा कुनै पनि हालतमा सम्झौता हुँदैन।”

तथ्यहीन दुष्प्रचार गरी जनमानसलाई भ्रमित पार्ने व्यक्ति तथा निकायहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बैंक बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै भविष्यमा पनि उच्च गुणस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?