
सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा पौडेललाई संगठनको सर्वोच्च पदमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार पौडेलले आगामी १८ वैशाखदेखि सशस्त्र प्रहरीको कमान्ड सम्हाल्नेछन्। हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी १८ वैशाखमा अवकाशमा जाने भएपछि सरकारले नयाँ नेतृत्व चयन गरेको हो।
पौडेल हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागको प्रमुखका रूपमा कार्यरत छन्। उनी १८ चैत २०८४ सम्म करिब दुई वर्ष संगठन प्रमुखको जिम्मेवारीमा रहनेछन्। विद्यमान नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण सोही मितिमा उनी अवकाश हुनेछन्।
नगरपालिकाको खरिदारदेखि प्रहरी प्रमुखसम्मको यात्रा
सुर्खेतको साविक जर्बुटामा जन्मिएका पौडेलको वृत्तिविकासको यात्रा रोचक छ। उनले आफ्नो सेवा यात्रा निजामती सेवाको खरिदार पदबाट सुरु गरेका थिए। लोकसेवा उत्तीर्ण गरी उनले पाँच वर्षसम्म वीरेन्द्रनगर नगरपालिकामा स्थायी खरिदारका रूपमा काम गरे। नगरपालिकामा कार्यरत रहँदै स्नातक तह पूरा गरेका पौडेलले साथीहरूको लहलहैमा लागेर २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर पदमा आवेदन दिएका थिए। पहिलो प्रयासमै सफल भएपछि १८ चैत २०५४ मा उनले नेपाल प्रहरीको इन्स्पेक्टरका रूपमा सुरक्षा सेवामा पाइला टेके।
द्वन्द्वकालको अनुभव र व्यावसायिक छवि
नेपाल प्रहरीमा रहँदा उनले माओवादी द्वन्द्वको केन्द्र मानिने रोल्पामा स्ट्राइकिङ टोलीको कमान्डर भएर काम गरेका थिए। उनले देखाएको निडरपन र व्यावसायिकताका कारण प्रहरी प्रधान कार्यालयले उनलाई एक ग्रेड थप गरी पुरस्कृत समेत गरेको थियो। उनले झापाको बिर्तामोड र दाङमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। सशस्त्र प्रहरी बल गठन भएपछि ४ वैशाख २०५८ मा उनी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। त्यसयता उनले सुरक्षा बेस तुलसीपुर, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र विभिन्न विभागहरूमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्दै आएका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































