जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरूकाे सञ्चित घाटा १० अर्ब माथि

वाणिज्य बैंकहरूकाे सञ्चित घाटा १० अर्ब माथि

नेपाली वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणले बैंकिङ क्षेत्रमा एउटा गम्भीर विरोधाभास उजागर गरेको छ। तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १९.३० प्रतिशतले बढेर झण्डै ५० अर्ब रुपैयाँ पुग्न लागेको छ, तर विडम्बना के छ भने त्यो नाफामध्ये लगानीकर्तालाई बाँड्न मिल्ने रकम अर्थात् वितरणयोग्य नाफा भने एक चौथाइ पनि छैन। आव २०८१/८२ को चैत मसान्तसम्म ४१ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेका बैंकहरूले यसपालि ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ कमाएका छन्। यद्यपि, यो झट्ट हेर्दा लोभलाग्दो देखिए पनि गहिरो विश्लेषण गर्दा नेपाली बैंकिङ क्षेत्र अहिले ‘कागजी नाफा’ र वास्तविक नगद प्रवाहबीचको ठूलो खाडलसँग जुधिरहेको स्पष्ट हुन्छ।

९ महिनाको कुल ४९ अर्ब नाफामध्ये लगानीकर्तालाई लाभांशका रूपमा बाँड्न मिल्ने रकम मात्र ११ अर्ब ६३ करोड १४ लाख रुपैयाँ सीमित छ। खुद नाफा र वितरणयोग्य नाफाबीच देखिएको झण्डै ३७ अर्ब ६० करोडको यो ठूलो अन्तर हुनुका पछाडि मुख्य तीन कारण छन्। पहिलो कारण, अन्तर्राष्ट्रिय लेखांकन प्रणालीअनुसार बैंकहरूले पाकेको तर नउठेको ब्याजलाई पनि नाफामा गणना गर्न पाउँछन्, तर राष्ट्र बैंकको नियमअनुसार नगदमा नउठेसम्म त्यसलाई लाभांशका रूपमा बाँड्न पाइँदैन। दोस्रो, नियामकको निर्देशनअनुसार विभिन्न अनिवार्य जगेडा कोषहरूमा रकम छुट्याउनुपर्ने प्रावधान र तेस्रो, बढ्दो निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्तिका कारण जोखिम व्यवस्थापनका लागि नाफाबाट ठूलो हिस्सा छुट्याउनुपर्ने बाध्यताले गर्दा बैंकहरूको वास्तविक लाभांश क्षमता खुम्चिएको हो।

मंगलबारको वित्तीय विवरणले ५ वटा ठूला बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखाएको छ, जसमा प्रभु, एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन र सिटिजन्स बैंक रहेका छन्। यी बैंकहरूको नाफा खातामा अर्बौँ रुपैयाँ देखिए पनि सेयरधनीले यसपटक लाभांश पाउने अवस्था छैन। अझ गम्भीर पक्ष के छ भने २० मध्ये ६ वटा वाणिज्य बैंकहरू अहिले पनि सञ्चित घाटामा छन्। चैत मसान्तसम्म बैंकहरूको कुल सञ्चित घाटा १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जसमा एनआईसी एशिया बैंक १३ अर्ब ६५ करोड र हिमालयन बैंक १० अर्ब ४६ करोड रुपैयाँको ठूलो सञ्चित नोक्सानीमा रहेका छन्। यस्तै प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा र कुमारी बैंक पनि सञ्चित घाटाकै सूचीमा छन्। कुमारी बैंकले यस वर्ष आफ्नो नाफामा १३६१ प्रतिशतको उछाल ल्याउँदै ४ अर्ब १७ करोड पुर्‍याए पनि पुरानो घाटाका कारण यसको सञ्चित मुनाफा अझै करिब २ अर्बले ऋणात्मक छ।

यस्तो प्रतिकूल अवस्थाका बीच केही बैंकहरूले भने लगानीकर्ताका लागि आशाको किरण देखाएका छन्। सञ्चित नाफाका आधारमा २० मध्ये १४ वटा बैंकले मात्र आफ्ना सेयरधनीलाई लाभांश दिन सक्ने देखिन्छ। यसमा एभरेष्ट बैंक ३९.३४ प्रतिशतको उच्च लाभांश क्षमताका साथ अग्रस्थानमा छ। त्यस्तै नबिल बैंकको लाभांश क्षमता २१.१६ प्रतिशत र सिद्धार्थ बैंकको २०.९८ प्रतिशत देखिएको छ। रकमका आधारमा नबिल बैंकले सबैभन्दा बढी ३ अर्ब ९० करोड वितरणयोग्य नाफा कमाएको छ। यी बैंकहरूले नउठेको ब्याज उठाउन सक्ने, निष्क्रिय कर्जालाई पुनः सक्रिय बनाउने र गैरबैंकिङ सम्पत्ति बिक्री गर्न सकेको खण्डमा मात्र आगामी दिनमा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार आउने र वितरणयोग्य नाफामा वृद्धि हुने देखिन्छ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका