समाचार
कपिलवस्तुको चन्दौटा अस्पतालमा ३८ लाख बढी रकम हिनामिना: स्वास्थ्य शाखा प्रमुख र मेसुसहित ५ जना पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्दौटामा सरकारी रकम हिनामिना गरेको आरोपमा प्रहरीले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ५ जनालाई पक्राउ गरेको छ ।
अस्पतालको सेवा शुल्क र फार्मेसीबाट संकलन भएको **३८ लाख १९ हजार ७७० रुपैयाँ** संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसरी भयो घटना सार्वजनिक
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण गर्ने क्रममा यो ठगी धन्दा फेला परेको हो । अस्पतालको रकम नेपाल बैंक लिमिटेडको चन्दौटा शाखामा जम्मा गर्नुपर्नेमा कर्मचारीहरूको मिलेमतोमा **१२९ थान नक्कली बैंक भौचर** बनाएर फाइलमा राखिएको तर वास्तविक रकम बैंक खातामा जम्मा नभएको पाइएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलबासेले दिएको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्दौटाको टोलीले संलग्नहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगरपालिकाका उच्च कर्मचारीदेखि बैंकका कर्मचारीसम्म रहेका छन् । चूडामणि भट्टराई, स्वास्थ्य शाखा प्रमुख, शिवराज नगरपालिका, डा. अमित पाण्डेय मेडिकल सुपरिटेन्डेन्ट, आधारभूत स्वास्थ्य सेवा अस्पताल, रुक्सना खातुन फार्मेसी सहायक, आधारभूत स्वास्थ्य सेवा अस्पताल, कमल प्रसाद भण्डारी क्यासियर, नेपाल बैंक लिमिटेड (चन्दौटा शाखा), विक्रम केसी कार्यालय सहयोगी, नेपाल बैंक लिमिटेडका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ । सरकारी अस्पतालको रकममा नक्कली भौचर खडा गरी गरिएको यो संगठित भ्रष्टाचारलाई प्रहरीले गम्भीर प्रकृतिको घटनाको रूपमा लिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































