समाचार
वास्तविक सुकुम्बासीलाई लालपुर्जा बाँड्ने सरकारको तयारी, पहिचान नहुँदासम्म मासिक १५ हजार भत्ता दिइने

सरकारले लामो समयदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्यालाई सदाका लागि अन्त्य गर्दै वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्रै प्रक्रिया पूरा गरेर लक्षित वर्गलाई लालपुर्जा वितरण गरिने घोषणा गरेकी छिन्। हाल काठमाडौँका विभिन्न खोला किनारमा रहेका अस्थाई सुकुम्बासी बस्तीका नागरिकहरूलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा निर्माण गरिएका ‘होल्डिङ सेन्टर’हरूमा राखिएको छ। सोही होल्डिङ सेन्टरहरूमा सरकारी टोलीले अहिले ती नागरिकहरूमध्ये को वास्तविक सुकुम्बासी हुन् र को हुन्निन् भनी छानबिन र पहिचान गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ। मन्त्री रावलका अनुसार वास्तविक सुकुम्बासीको अन्तिम सूची तयार हुनेबित्तिकै सरकारले उनीहरूलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नेछ।
यसैबीच, वास्तविक सुकुम्बासीको पहिचान भई लालपुर्जा वितरण नहुँदासम्मका लागि सरकारले उनीहरूको अस्थायी व्यवस्थापन र राहत स्वरूप प्रतिपरिवार घरभाडाबापत मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने विशेष तयारी समेत गरेको छ। गत वैशाख ३१ गते बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सभापति हरि ढकालले सरकारको यो तयारी र योजनाबारे औपचारिक जानकारी गराएका थिए। खोला किनारका जोखिमपूर्ण बस्ती हटाएर सहरको सौन्दर्यकरण गर्ने र वास्तविक भूमिहीनलाई राज्यले नै उचित आवासको ग्यारेन्टी गर्ने सरकारको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ। सरकारले अघि सारेको यो प्याकेजले वास्तविक सुकुम्बासीहरूलाई ठूलो राहत मिल्ने र हुकुमबासी वा नक्कली सुकुम्बासी बनेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अधिकारीहरूले लिएका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































