जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • व्यक्तिगत रूपमा १५ सय अमेरिकी डलरसम्म मात्र नगद राख्न पाइने

व्यक्तिगत रूपमा १५ सय अमेरिकी डलरसम्म मात्र नगद राख्न पाइने

नेपाली नागरिकले अबदेखि व्यक्तिगत रूपमा बढीमा १ हजार ५ सय अमेरिकी डलर (वा सो बराबरको अन्य विदेशी मुद्रा) मात्र नगदका रूपमा साथमा राख्न पाउने भएका छन्। विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा विभिन्न वैध माध्यमबाट प्राप्त भएको विदेशी मुद्रामध्ये १५ सय डलरसम्म मात्र नगद राख्न पाइने कानुनी व्यवस्था गरिएको हो।

केन्द्रीय बैंकको नियमअनुसार आफ्नो साथमा १५ सय डलरभन्दा बढी नगद विदेशी मुद्रा भएमा त्यस्तो रकम ३५ दिनभित्र अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्था वा अनुमतिप्राप्त मनी एक्सचेन्जमार्फत साटिसक्नुपर्नेछ। तोकिएको सीमाभन्दा बढी रकम नगदमा राखेको पाइएमा त्यो गैरकानुनी मानिने र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कारबाहीको दायरामा आउन सक्ने व्यवस्था छ। यसका साथै, विदेशबाट नेपाल प्रवेश गर्दा ५ हजार अमेरिकी डलरभन्दा बढी नगद बोकेको खण्डमा अनिवार्य रूपमा भन्सार घोषणा (कस्टम डिक्लारेसन) गर्नुपर्ने नियम छ।

नेपालको आयातमुखी अर्थतन्त्र, पर्यटन, वैदेशिक रोजगारी र अन्तर्राष्ट्रिय व्यापारका कारण अमेरिकी डलरको माग र कारोबार पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग (Foreign Exchange Management Department) ले विदेशी मुद्रा बजारको नियमन, विनिमय दर निर्धारण र सटही अनुमति व्यवस्थापन गर्दै आएको छ। बैंकिङ प्रणाली, मनी एक्सचेन्ज र रेमिट्यान्स गरी मुख्य तीन माध्यमबाट नेपालमा डलरको कारोबार हुने गर्दछ।

नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणालीमा आवद्ध भए तापनि विश्व बजारमा डलरको उतारचढावले नेपालको आयात र वैदेशिक ऋणको भारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर निरन्तर बलियो बन्दै गएको छ। राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर तोक्ने गरेकोमा पछिल्ला महिनाहरूमा अमेरिकी डलरको भाउ १४9 देखि १५४ रुपैयाँको ऐतिहासिक उचाइसम्म पुगेको छ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?