
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्डलाई एक विशेष पत्र पठाउँदै विभिन्न ५६ जना व्यक्तिको सेयर लगानीको विस्तृत विवरण उपलब्ध गराउन र उनीहरूको सेयर कारोबार तत्कालका लागि रोक्का राख्न निर्देशन दिएको छ। धितोपत्र सम्बन्धी कसुर मुद्दामा सरकारवादी भई अनुसन्धान भइरहेका मुख्य आरोपी दीपक भट्टको मुद्दाको सिलसिलामा सीआईबीले यो कडा कदम चालेको हो। ब्यूरोले भट्टको वित्तीय कारोबार र नेटवर्कको गम्भीरतापूर्वक अनुसन्धान गर्ने क्रममा उनीसँग व्यावसायिक रूपमा जोडिएका अन्य व्यक्तिहरूको समेत लगानी खोतल्न बोर्डलाई यस्तो पत्राचार गरेको हो।
ब्यूरोको कारबाही शाखाले धितोपत्र बोर्डलाई पठाएको ५६ जनाको उक्त सूचीमा मुलुकका प्रतिष्ठित वित्तीय तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूको नाम समावेश रहेको पाइएको छ। प्राप्त जानकारीअनुसार यस घटनामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देखि लिएर विभिन्न स्थापित बीमा कम्पनीका सञ्चालकहरू तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च पदाधिकारीहरू समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको देखिएका छन्। सीआईबीले ती सबै प्रतिवादीहरूको नाममा धितोपत्र बजारमा रहेको कुल लगानी स्पष्ट रूपमा खुल्ने गरी विवरण पठाई हाललाई उनीहरूको सम्पूर्ण सेयर कारोबार रोक्का राखेर अनुसन्धान प्रक्रियामा सहयोग गर्न बोर्डसमक्ष आग्रह गरेको छ।
दीपक भट्टसँग जोडिएर धितोपत्र सम्बन्धी कसुर ऐनअन्तर्गत भइरहेको यस अनुसन्धानले वित्तीय बजारमा ठूलो तरंग पैदा गरेको छ। सीआईबीले भट्टले कारोबार गरेका विभिन्न कम्पनीहरू र ती कम्पनीहरूमा आबद्ध संकास्पद व्यक्तिहरूको वित्तीय संलग्नाताको कडीहरू जोड्नका लागि यो विवरण माग गरेको जनाएको छ। धितोपत्र बोर्डले सीआईबीको निर्देशनबमोजिम उक्त सूचीमा रहेका व्यक्तिहरूको सेयर अभौतिकीकरण खाता तथा दोस्रो बजारको कारोबार रोक्का राख्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। यस प्रकारको उच्च तहको अनुसन्धानले वित्तीय क्षेत्रमा हुने गैरकानुनी गतिविधि तथा मिलेमतोलाई नियन्त्रण गर्न र समग्र धितोपत्र बजारलाई थप पारदर्शी एवं सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास प्रहरी प्रशासनले लिएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































