जोडिनुहोस
सोमवार, साउन ११, २०८३
सोमवार, साउन ११, २०८३
  • होमपेज
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा: जामको सास्ती अन्त्य, नेपालमा सुरुङ युगको सुरुवात

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा: जामको सास्ती अन्त्य, नेपालमा सुरुङ युगको सुरुवात

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुले वर्षौंदेखि भोग्दै आएको नागढुंगाको सास्तीपूर्ण जाम र घुम्तीहरू अब इतिहास बनेका छन्। २०८३ साउन ११ गतेदेखि नेपालकै पहिलो आधुनिक र प्रविधिमैत्री नागढुंगा–सिस्नेखोला सुरुङमार्ग विधिवत रूपमा सञ्चालनमा आएको छ। यससँगै घण्टौं लाग्ने जामको यात्रा अब केही मिनेटमै छोटिएको छ भने नेपालको यातायात पूर्वाधारमा नयाँ अध्याय थपिएको छ।

पूर्वाधार र लगानी
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोग र नेपाल सरकारको करिब २० अर्ब रुपैयाँ लागतमा यो आयोजना निर्माण भएको हो। सडक विभागका अनुसार यो आयोजनाको संरचनागत आयु करिब १०० वर्ष रहेको छ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग एउटा बाटो मात्र नभएर आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना र देशकै लागि आशाको किरण हो। यसको सफलतासँगै अब सिद्धबाबा, दाउन्ने र खुर्कोट–चियाबारी (बीपी राजमार्ग) लगायतका स्थानमा पनि सुरुङमार्ग निर्माण अघि बढाउने बाटो खुलेको छ।

कति लाग्छ सुरुङमार्ग प्रयोगको शुल्क?
सडक विभागले इन्धन र समय बचतबाट हुने लाभको करिब ४० देखि ५० प्रतिशत बराबर मात्रै शुल्क लिने गरी दस्तुर निर्धारण गरेको छ। उकालो चढ्ने र ओरालो झर्ने सवारीका लागि छुट्टाछुट्टै दर तय गरिएको छ। सुरुङमार्ग प्रवेशद्वारमा स्वचालित (ट्याग) र म्यानुअल दुवै प्रणालीबाट शुल्क तिर्न सकिने व्यवस्था छ।

सवारीसाधन वर्गीकरण र तोकिएको शुल्क:

वर्ग १: कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ।

वर्ग २: मिनी बस, मिनी ट्रिपर र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।

वर्ग ३: बस र ट्रक (सिंगल रियर एक्सल) ले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

वर्ग ४: मल्टी एक्सल ट्रक, सवारीसाधन र भारी उपकरणहरूका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ।

नोट: तत्कालका लागि अत्यावश्यक र आपत्कालीन सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिइएको छ भने क्रमशः अन्य सवारीलाई पनि खुल्ला गरिनेछ। सार्वजनिक सवारीको शुल्कमा सहुलियत दिनुपर्ने यातायात व्यवसायीहरूको माग भने कायमै छ।

सुरक्षा व्यवस्था र प्रतिबन्धित सवारी
सुरुङभित्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। सञ्चालन र व्यवस्थापनको जिम्मा ५ वर्षसम्म चिनियाँ र नेपाली संयुक्त टोली (युसिन एआरटी जेभी) ले पाए पनि सम्पूर्ण निगरानी सडक विभागले नै गर्नेछ।

सुरुङभित्रका सबै गतिविधिको २४सै घण्टा नियन्त्रण कक्षबाट सिसिटिभी निगरानी हुनेछ।  हावाका लागि भेन्टिलेसन (फ्यान) र आपत्कालीन उद्धारका लागि छुट्टै ‘इमर्जेन्सी टनेल’ को व्यवस्था गरिएको छ। सवारी बिग्रिएमा वा दुर्घटना भएमा सेवा प्रदायकको टोली तत्काल परिचालन हुनेछ।

यी सवारीलाई सुरुङमार्ग प्रवेशमा रोक:

विस्फोटक पदार्थ बोकेका सवारीसाधन

इन्धन/पेट्रोलियम ट्याङ्कर

साइकल र मोटरसाइकल (दुई पाङ्ग्रे सवारी)

समय र इन्धनको भारी बचत

सुरुङमार्ग सञ्चालनमा आएसँगै यातायात व्यवसायी र यात्रुहरू उत्साहित छन्। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले यसलाई पूर्वाधार विकासमा ‘ऐतिहासिक छलाङ’ को संज्ञा दिएका छन्। विगतमा नागढुंगाको उकालोमा ३० मिनेटदेखि २ घण्टासम्म जाममा फस्ने गाडीहरू अब मात्र ६ देखि ७ मिनेटमा वारपार गर्नेछन्। यसले मालवाहक सवारीको ढुवानीलाई सहज बनाउनुका साथै इन्धन बचत र सञ्चालन लागत घटाएर समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दैनिक करिब १० हजार सवारीसाधनले यो सुरुङमार्ग प्रयोग गर्ने अनुमान छ।

यात्रुमा उत्साह, स्थानीय व्यवसायीमा चिन्ता
उद्घाटनको दिन सुरुङमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले अनौठो र सुखद अनुभव सँगाले। बाहिरको चर्को गर्मीबाट सुरुङभित्र पस्ने बित्तिकै प्राकृतिक शीतलता महसुस गरेका यात्रुहरूले यसलाई ‘नेपालमै बसेर विदेशको सुरुङमा हिँडेको’ जस्तो रोमाञ्चक अनुभूति भएको बताए।

एकातिर विकासको खुसी छाएको छ भने अर्कोतिर नागढुंगा–नौबिसे सडक खण्डका पुराना घुम्तीमा व्यवसाय गर्दै आएका स्थानीयमा भने व्यापार सुक्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ। यद्यपि, समग्र राष्ट्रिय विकासका अगाडि यो सुरुङमार्ग बदलिँदो नेपालको आत्मविश्वास र समृद्धिको बलियो प्रतीक बनेर उभिएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?