
नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिबृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ ।
सन २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीटुबी सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका थिए । सहभागीहरूले नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधीमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारी लगानीको लागि पहल गर्ने बताए ।
यता, नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई नेपाल–कतारबीचको दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गदै लैजानु पर्ने बताए । उनले पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको उल्लेख गरे ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































