
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
म प्रमुख कार्यकारी अधिकृत रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जेनजी प्रदर्शनीका क्रममा ठूलो क्षति भयो । बैंकमा २ करोड रूपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ । त्यसबाहेक अप्रत्यक्ष क्षति निकै ठूलो छ । आगजनी, लुटपाट, तोडफोड सहित बजारको समस्त श्रृंखला प्रभावित भएको छ । त्यसभन्दा पनि ठूलो मनोवैज्ञानिक क्षति भएको छ। जेनजी विद्रोहपछि बैंकिङ क्षेत्रमा कर्जाको माग घटेको छ, क्षमता भएका ऋणी पनि कर्जा तिर्न आलटाल गरिरहनुभएको छ । कर्जा असुली निकै प्रभावित भएको छ ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
प्रदर्शनका क्रममा निजी सम्पत्ति, व्यवसाय लगायतमा भएको लुटपाट, तोडफोड र आगजनीका कारण मेरो मनोबलमा ठूलो असर परेको छ । हामी बैंक भएका कारण कर्जाको माग आएको अवस्थामा थप लगानी नगरी बसिरहन सक्दैनौं ।
जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा कतिको धक्का पुगेको छ ?
पक्कै पनि लगानीको वातावरण थोरै कमजोर बनेको छ । यो समग्र व्यावसायिक जगतले महसुस गरिरहेको विषय हो ।
जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा, म सरकारको कामप्रति असन्तुष्ट छु । सरकारले प्रयास गरे पनि सबै पक्षलाई एकैपटक खुसी पार्न खोज्दा ठोस नतिजा आउन कठिन भएको देखिन्छ । सरकार सञ्चालनमा दृढ र कडा निर्णय लिनु आवश्यक हुन्छ किनकि सबैलाई रिझाउन खोज्दा प्रभावकारी काम हुन सक्दैन । अहिले भइरहेको पनि त्यही हो ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
हाम्रो बैंकको झन्डै २ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यस क्रममा धेरै संख्यामा एटीएम मशिनहरू र एक्स्टेन्सन काउन्टरहरू तोडफोड गरिएका छन् । बैंकको अर्बौं लगानी भएको संरचनामा आगजनी र ठूलो भौतिक क्षति भएको छ । ठूला व्यावसायिक प्रतिष्ठानहरूमा पनि भौतिक क्षति पुगेको छ ।
भौतिक क्षतिका कारण व्यवसायहरू बन्द हुँदा र कारोबार रोकिँदा ग्राहकहरूको नगद प्रवाहमा गम्भीर असर परेको छ । क्षति भएका संरचनाहरूलाई पुनः पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने देखिएको छ । बिमा रकम र एडभान्स प्राप्त हुने क्रममा भए पनि तत्कालको व्यावसायिक लय बिग्रिएको छ । यस्ता घटनाले लगानीकर्ता र व्यवसायीहरूको मनोबलमा नकारात्मक असर पारेको छ । ‘फेरि लड्छौं र गरेर देखाउँछौं’ भन्ने आँट देखाए पनि व्यावसायिक वातावरणप्रति उनीहरूमा त्रास र अन्योल कायमै छ ।
सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?
पूर्णरूपमा गम्भीर असर परेको छ भन्न नसकिए पनि यसले लगानीको वातावरणमा निकै ठूलो प्रभाव पारेको छ । मुलुकमा विद्यमान अनिश्चितताका कारण थप लगानी गर्ने वा नगर्ने भन्ने विषय अहिले निकै चुनौतीपूर्ण बनेको छ । लगानीकर्ताहरूले बाहिरबाट ‘हामी गरेर देखाउँछौं’ भन्दै दृढता व्यक्त गरे पनि आन्तरिक रूपमा उनीहरूको मनोबल कमजोर भएको देखिन्छ र उनीहरू हाल ‘पर्ख र हेर’ को अवस्थामा छन् । यसका साथै, आगामी निर्वाचन हुने वा नहुने भन्ने विषयमा समेत लगानीकर्ताहरू पूर्णरूपमा विश्वस्त हुन नसक्दा अन्योल थप बढेको छ ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको ‘पोस्ट जेनजी स्ट्रेस’ (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?
मुलुकमा व्याप्त अनिश्चितताका कारण भविष्यप्रति सबैमा त्रास र अन्योलको स्थिति छ । विशेषगरी निर्माण क्षेत्रका व्यवसायीहरू समेत के गर्ने भन्ने द्विविधामा छन् । वाणिज्य बैंकको रूपमासेवालाई निरन्तरता दिँदै व्यवसायीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्नु हाम्रो दायित्व हो । हामीले साना तथा मझौला उद्योगहरूलाई अगाडि बढाउन सक्रिय रूपमा पहल त गरिरहेका छौं, तर यस्तो परिस्थितिमा बढी दबाब वा प्रोत्साहन दिँदा भविष्यमा कर्जा असुलीमा समस्या आउन सक्ने जोखिमप्रति हामी पनि उत्तिकै सचेत छौं । हालको प्रतिकूल वातावरणका कारण नयाँ उद्यमीहरू उत्साहका साथ लगानीका लागि अगाडि आउन सकिरहेको अवस्था छैन ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
हाल बैंकका कर्मचारीहरूमाथि निरन्तर भौतिक आक्रमण र दुर्व्यवहार भइरहेका घटनाहरू अत्यन्तै चिन्ताजनक छन् । कार्यालयमा तोडफोड गर्ने र कर्मचारीको मनोबल गिराउने जस्ता कार्यहरू पहिले पनि भएका थिए र अहिले पुनः दोहोरिएका छन् । ‘कर्जा तिर्नुपर्दैन’ भन्ने र ’बैंकहरूलाई लखेट्नुपर्छ’ भन्ने जस्ता अराजक अभिव्यक्तिले बजारमा भ्रम फैलाएको छ । वास्तवमा बैंकहरू देशको आर्थिक समृद्धिका लागि अनिवार्य साझेदार हुन्, तर अहिले कर्मचारीको सुरक्षा र कार्य वातावरणमा चुनौती थपिएको छ । यस्तो अराजक स्थितिमा काम गर्न निकै कठिन हुन्छ ।
यद्यपि, सुरक्षा र प्रशासनिक निकायबाट हामीले सकारात्मक सहयोग पाइरहेका छौं । कुनै पनि अप्रिय घटना हुँदा प्रहरी प्रशासनले तत्काल सक्रियता देखाई दोषीहरूलाई नियन्त्रणमा लिन सहयोग गरेको छ । अर्कोतर्फ, सरकारको अवस्था पनि चुनौतीपूर्ण छ । केही दिनको अवरोधपछि पर्यटन क्षेत्रमा सुधार देखिनु र पर्यटकहरूको आगमन बढ्नु सुखद पक्ष हो । सुरुमा सबै क्षेत्र ध्वस्त हुने हो कि भन्ने आशंका गरिए पनि पर्यटकहरूको चहलपहलले अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन मद्दत पुर्याएको छ ।
व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?
हालको अवस्थामा सरकारलाई मेरो केही सुझाव छैन ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
पछिल्लो समयको सुरक्षा स्थिति अत्यन्तै चुनौतीपूर्ण र तनावपूर्ण थियो । बैंकहरूमा लुटपाट हुन सक्ने त्रासमा हामीले रातभर जागै बस्नुपर्ने अवस्था समेत सिर्जना भयो । कालिकोट र महेन्द्रनगर जस्ता स्थानहरूमा बैंकका शाखाहरूमा आगजनी गर्ने प्रयास भए तर स्थानीयको सहयोगले गर्दा ठूलो क्षति हुन पाएन । धेरै ठाउँमा प्रदर्शनकारीहरूको लुटपाट गर्ने नै उद्देश्य देखिन्थ्यो । मानिसहरूमा यस्तो गैरजिम्मेवार मानसिकता रहेसम्म सुरक्षा चुनौती सधैं कायम रहन्छ ।
ग्राहकहरूको ‘लकर’ को सुरक्षा हाम्रा लागि सबैभन्दा ठूलो चिन्ता र जिम्मेवारी थियो । अन्य केही बैंकहरूमा भएका आगजनी र लुटपाटका घटनाले हामीलाई थप सशंकित बनाएको थियो । लकरमा रहेका बहुमूल्य सामानहरूको बिमा निश्चित सीमासम्म मात्र हुने भएकाले भोलि कुनै अप्रिय घटना भएमा र ग्राहकले ठूलो रकमको दाबी गरेमा त्यसलाई सम्बोधन गर्न बैंकलाई निकै कठिन हुने थियो । त्यसैले, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका र सुरक्षाको उचित प्रबन्ध हुन आवश्यक छ ।
निजी क्षेत्र र व्यवसायीप्रति आम जनताको दृष्टिकोण केही नकारात्मक देखिन्छ । त्यसमा सुधार आउनु जरुरी छ । वास्तवमा, कुनै पनि उद्यमीले सामाजिक सेवाका लागि मात्र नभई प्रतिफल प्राप्त गर्ने उद्देश्यले नै ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । नयाँ उद्यमीहरूलाई आकर्षित गर्नका लागि लगानीबाट उचित नाफा कमाउन पाउने वातावरण हुनुपर्छ ।
यसैगरी, बैंकमा भएको पैसा बैंकको निक्षेप मात्र नभई आम जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हाम्रो मुख्य दायित्व हो । हाल देशका केही भागमा ‘बैंकको ऋण तिर्नुहुँदैन’ भन्दै भइरहेका आन्दोलनहरूले मुलुकको अर्थतन्त्रलाई गम्भीर संकटतर्फ लैजान सक्छन् । बैंकहरूले समेत पछिल्लो तीन वर्षदेखि उचित लाभांश वितरण गर्न नसकेको यथार्थलाई सर्वसाधारणले बुझ्नुपर्छ । बैंकले गर्ने सामान्य मुनाफालाई ईर्ष्याको विषय बनाइनुहुँदैन ।
त्यसैगरी, वैदेशिक लगानी भित्र्याउनका लागि मुलुकमा लगानीमैत्री वातावरण र आर्जित प्रतिफल सहजै लैजान पाउने सुनिश्चितता हुनुपर्छ । तथ्यांकले पनि नेपालमा वैदेशिक लगानी उत्साहजनक नभएको देखाउँछ । त्यसैले, कसैले वैधानिक रूपमा धनार्जन गर्दा खुसी हुने र लगानीलाई सुरक्षा दिने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।
नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
मुलुकको विकासका लागि सबै क्षेत्रको एकीकृत प्रयास र सहयोग अपरिहार्य छ । विशेषगरी सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ । हाल जलविद्युत् लगायतका परियोजना सञ्चालन गर्दा स्थानीय स्तरबाट अवरोध पुर्याउने प्रवृत्ति देखिएको छ । यस्ता परियोजनाहरू व्यक्तिगत सम्पत्ति मात्र नभई राष्ट्रिय गौरव र सम्पत्ति हुन् भन्ने बुझ्न आवश्यक छ । स्थानीय क्षेत्रमा विकास हुनु भनेकै राष्ट्रको विकास हुनु हो । व्यवसायीहरूले पनि आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय विकास र सामाजिक उत्तरदायित्वमा खर्च गर्न हिचकिचाउनु हुँदैन । तर, व्यवसाय फस्टाउनै नदिई प्रतिफलको मात्र आशा राख्नु ‘सुनको अण्डा दिने कुखुरालाई सुरुमै मार्नु’ जस्तै आत्मघाती कदम हुनेछ ।
यसैगरी, सरकारी तहमा पनि नीतिगत र प्रक्रियागत सुधारको खाँचो छ । कम्पनी दर्तादेखि सञ्चालनको चरणसम्म विभिन्न प्रशासनिक व्यवधानहरू विद्यमान छन् । लगानी बोर्डले लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने नीति लिए पनि कार्यान्वयनका प्रत्येक चरणमा झेल्नुपर्ने झन्झटका कारण लगानीकर्ताहरू निराश भएर फर्कने अवस्था छ । विकास र लगानीलाई वास्तविक रूपमै प्रोत्साहन गर्ने हो भने सरकारी प्रक्रियालाई सरलीकृत गर्दै प्रभावकारी ‘एकद्वार प्रणाली’ पूर्ण रूपमा लागू गर्नु आजको आवश्यकता हो ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दिएको जवाफका आधारमा तयार पारिएको हो।)
सम्बन्धित समाचार


लोकप्रिय समाचार



































































