जोडिनुहोस
शनिबार, फाल्गुन १६, २०८२
शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनासँग पुनः स्पष्टीकरण माग

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनासँग पुनः स्पष्टीकरण माग

पहिलो पटक जारी सूचनालाई अटेर गरेका कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन अध्यक्षसहित पाँच जनासँग राष्ट्र बैंकले पुनः स्पष्टीकरण माग गरेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शनिबार सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्र, सदस्यहरू युवराज अधिकारी, उषाकुमारी भण्डारी, टंकबहादुर बस्नेत र निसार अहमद दर्जीलाई १० दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।

राष्ट्र बैंकका अनुसार उनीहरूलाई यसअघि १५ दिनको समय दिई पत्राचार गरिएको थियो। तर तोकिएको अवधिमा कुनै जवाफ नआएपछि सार्वजनिक सूचना जारी गर्दै थप १० दिनभित्र आफ्नो सफाइ पेस गर्न भनिएको हो।

सूचनामा उल्लेख भएअनुसार, ती पदाधिकारीलाई सञ्चालक पदबाट किन बर्खास्त नगर्नु पर्ने हो भन्ने विषयमा लिखित स्पष्टीकरण दिन भनिएको छ। तोकिएको अवधिभित्र पनि जवाफ नदिए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने संकेत गरिएको छ।

स्पष्टीकरण पेस गर्नका लागि वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौं, नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय वा कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, नेपालगञ्जमध्ये कुनै एक स्थान रोज्न सकिने व्यवस्था गरिएको छ।

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०८१ पुस १० मा समस्याग्रस्त घोषणा गरेको थियो। बैंकमा निष्क्रिय कर्जा बढ्नु, आन्तरिक नियन्त्रण र व्यवस्थापन कमजोरी देखिनु तथा नियामकीय निर्देशन पालना नभएको निष्कर्ष निकालिएको थियो।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका