
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई वर्तमान सरकार र आफ्नो पार्टीप्रति सशंकित नहुन र नआत्तिन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँगको छलफलमा उनले सरकारले व्यवसायीलाई कुनै प्रकारको दुःख दिन नचाहेको स्पष्ट पारेका हुन् ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरण र ठगी लगायतका कसुरमा केही व्यवसायी पक्राउ परेपछि निजी क्षेत्र त्रसित भइरहेका बेला सभापति लामिछानेले उक्त धारणा राखेका हुन् । केही व्यक्ति तथा पात्रहरूले देशको अर्थतन्त्र नै मुठ्ठीमा नियन्त्रण गर्न खोजेकाले सरकार त्यस्ता प्रवृत्तिविरुद्ध निर्मम भएर लाग्नुपरेको उनले बताए । सुशासन र आर्थिक वृद्धिको बाटोमा अघि बढ्दा केही असहजता देखिए पनि यसले बेलैमा अर्थतन्त्रका विकृति नियन्त्रण गर्ने उनको भनाइ थियो । साथै, उद्योगीका समस्या समाधानका लागि अब मन्त्री वा नेताको घर र पार्टी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिने उनले प्रतिबद्धता जनाए । रास्वपाले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्ने रोडम्याप तयार पारिसकेको जानकारी दिँदै उनले विगतको भन्दा फरक र देखिने गरी परिवर्तन महसुस गराउने दाबी गरे ।
सोही क्रममा सभापति लामिछानेले खोला किनारका बस्ती खाली गराउने विषयमा बोल्दै सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने बताए । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजिएको भन्दै उनले सबैको सुरक्षा र पुनर्स्थापनामा सरकार लाग्ने स्पष्ट पारे । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा सहज काम गर्न दिन आग्रह गरे । हरेक आन्दोलनको मुख्य निसानामा निजी क्षेत्र पर्ने गरेको गुनासो गर्दै उनले व्यवसायीलाई सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने प्रयासले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए ।
यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रको हौसला बढाउने नीति आगामी बजेटमा ल्याउन सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग निजी क्षेत्रको ठूलो अपेक्षा रहेको बताउँदै सरकार र निजी क्षेत्र मिलेर अघि बढे १०० अर्ब डलरको अर्थतन्त्र निर्माण सम्भव रहेको दाबी गरे । कार्यक्रममा हरिभक्त शर्मा, चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, जुना माथेमा, शशीकान्त अग्रवाल, वरुण चौधरी लगायतका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































