
नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा गरिएका आधा दर्जनभन्दा बढी व्यवस्थाहरूको उल्लंघन गरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई कारवाही गरेको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा बैंकले व्यापक रूपमा नियम विपरीतका कार्यहरू गरेको फेला परेपछि उक्त कदम चालिएको हो ।
निरीक्षणका क्रममा हिमालयन बैंकले सीमित ऋणीहरूलाई मात्र निर्धारित प्रिमियम दरमा ब्याकडेट (अघिल्लो मिति) बाट लागू हुने गरी ब्याज छुट प्रदान गरेको र सो छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानी गर्न प्रयोग गरेको पाइएको छ । त्यसैगरी, तोकिएको समयसीमा पश्चात् बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरेर मात्रै गर्नुपर्ने कर्जा पुनरतालिकीकरण वा पुनर्संरचनाको कार्यमा समेत बैंकले बदमासी गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
बैंकको वित्तीय अनुशासनहीनता यत्तिमा मात्र सीमित छैन । ९० दिनभन्दा बढी बक्यौता रहेका ‘फोर्स लोन’ लाई खराब कर्जा (एनपीएल) अन्तर्गत वर्गीकरण नगरेको र त्यस्तो कर्जामा राख्नुपर्ने पर्याप्त कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) समेत कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी एकीकृत निर्देशनका विभिन्न व्यवस्थाहरूको गम्भीर उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित)’ को दफा १०० को उपदफा (क) बमोजिम हिमालयन बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सचेत गराएको छ । साथै, सोही ऐनको दफा १०० को उपदफा १ (ख) बमोजिम जारी निर्देशनहरूको उल्लंघन गरेबापत बैंकको सञ्चालक समितिलाई तत्काल सुधारात्मक कदम चाल्नका लागि अनिवार्य कबुलियतनामा समेत गराएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































