
नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक माइग्रेशन गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा सञ्चालित ईएफटी कार्ड स्विचमार्फत कार्ड कारोबार सञ्चालनमा ल्याएको छ।
यस उपलब्धिसँगै अब बैंकका भिसा कार्डको सम्पूर्ण इस्यु, अक्वायरिङ तथा कार्ड कारोबारको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत हुनेछ। साथै, बैंकले नेपालपे कार्डको इस्यु तथा अक्वायरिङ सेवा पनि सञ्चालन गर्ने भएको छ।
बैंकका अनुसार यसबाट राष्ट्रिय कार्ड स्किममा बैंकको सहभागिता थप सुदृढ हुने, एटीएम, पीओएस तथा विभिन्न डिजिटल मर्चेन्ट च्यानलमा नेपालपे कार्डको स्वीकार्यता विस्तार हुने अपेक्षा गरिएको छ। नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कभर कार्डबीचको सहकार्यका कारण बैंकका कार्डको स्वदेश तथा विदेश दुवैमा प्रयोगयोग्यता थप विस्तार हुने जनाएको छ।
बैंकका लागि पुरानो कार्ड स्विचबाट एनसीएचएलको ईएफटी कार्ड स्विचमा सफल माइग्रेशन महत्वपूर्ण रणनीतिक उपलब्धि भएको बैंकले जनाएको छ। यसले कार्डसम्बन्धी सेवाको सञ्चालनलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनगत स्थायित्व, कार्यकुशलता वृद्धि तथा लागत व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास बैंकको छ।
हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सम्बन्धित सेवाहरू सञ्चालन गर्दै आएको छ। यसमा ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। ईएफटी कार्ड स्विचमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमअन्तर्गतका कारोबार प्रोसेस हुने गरेका छन्। गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रोसेस भएको थियो।
एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आधुनिक बैंकिङ सेवामा पहुँच विस्तार गर्दै बैंकले बढ्दो कार्ड प्रयोगकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































