समाचार
नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार जरिबाना

बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई अदालतले दुई वर्ष कैद सजाय निर्धारण गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको हो ।
अदालतले खाणलाई विभिन्न कसुरमा फरक–फरक सजाय निर्धारण गरेको छ । जसअनुसार उनलाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार जरिबाना तथा संगठित अपराधको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको छ । यसैगरी, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिबानाका साथै थप तीन महिना कैद सजाय सुनाइएको छ ।
फरक–फरक मुद्दामा छुट्टाछुट्टै सजाय तोकिए पनि अदालतले एकीकृत कसुरतर्फ भने खाणलाई जम्मा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने गरी अन्तिम सजाय निर्धारण गरेको हो । यसअघि न्यायाधीश खड्काकै इजलासले गत असार २४ गते यस मुद्दामा फैसला सुनाउँदै खाणसहित १६ जनालाई दोषी ठहर गरेको थियो भने अन्य सात जनालाई सफाइ दिएको थियो । दोषी ठहर भएकाहरूको हकमा सजाय तोक्न मंगलबार छुट्टै सुनुवाइ भएको हो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































