
नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले निषेधाज्ञा खुकुलो भएसँगै तीनवटा मोडलका गाडीहरु सार्वजनिक गर्ने भएको छ।
कम्पनीले सान्टाफे, प्यालिसेड र आइ-२० लगायत तीनवटा मोडलका गाडी असार महिनामै सार्वजनिक गर्न लागेको उपमहाप्रवन्धक दिपक थपलियाले जानकारी दिए।
उनका अनुसार यी तीन गाडीमध्ये प्यालिसेड नेपाली बजारका लागि नयाँ हो। एक साता भित्रै सान्टाफे र प्यालिसेड सार्वजनिक गर्ने योजना रहेको उनले जानकारी दिए। यसैगरी दुई साता पछि आइ-२० सार्वजनिक गर्ने योजना रहेको उनले बताए।
सान्टाफे र प्यालिसेड दुवै फोर व्हिल ड्राइभ अन्तर्गतका स्पोर्ट युटिलीटी भेहिकल (एसयुभी) हुन्। स्यान्टाफे पेट्रोल इन्जिनयुक्त रहेको छ भने प्यलिसेड डिजल इन्जिनयुक्त रहेको छ। यस अघि पनि बिक्री हुँदै आएको सान्टाफेलाई नै नेपालका लागि हुण्डाइको फ्ल्यागसिप मोडल मानिँदै आएको थियो।
कम्पनीका अनुसार प्यालिसेडको सुरुवाती मूल्य दुई करोड रुपैयाँ रहेको छ भने सान्टाफेको सुरुवाती बजार मूल्य एक करोड ६० लाख रुपैयाँ रहेको छ। कम्पनीले यी दुईवटै गाडीको अग्रिम बुकिङ खुला गरेको उनले जानकारी दिए।
आइ-२० भारतीय बजारमा अत्याधिक रुचाइएको गाडी हो। फिचरका आधारमा आइ-२० प्रिमियम रेन्जमा पर्न आउने उनले जानकारी दिए। ह्याचब्याक सेगमेन्टको यो गाडीको आधिकारीक नेपाली बजार मूल्य सार्वजनिक नभइसकेको उनले बताए। उनका अनुसार यो गाडीको न्यूनतम नेपाली बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा माथी निर्धारण हुनेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































