बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ। हालसम्म नेपालगञ्ज उपमहानगर र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण डाँगीले बताए।
उनका अनुसार नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचलनविरुद्ध उजुरी संकलन गरिएको छ भने कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी छ। प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो।
‘अब सहकारी संचालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,’ प्रहरी नायब उपरीक्षक डाँगीले भने।
प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लगायतको उजुरी संकलन गरेको जनाएको छ। रासस