
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिब क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ ।
२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार यसअवधिसम्म चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।
त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ। २०८२ साउन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७७ अर्ब ४१ करोड रहेको छ । आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । निर्यात ९५.७ प्रतिशतले र आयात ११.४ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड र राजस्व परिचालन रु.८४ अर्ब ४७ करोड रहको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ। विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.७६ प्रतिशत रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































