
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंकमा रहेका पाकिस्तानको हबिब बैंकका सेयर खरिदका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। राष्ट्र बैंकले बिहीबार सेयर खरिदका लागि अनुमति दिने निर्णय गरेको हो।
उच्च स्रोतका अनुसार स्वीकृति पत्र औपचारिक रूपमा आइतबार नेशनल लाइफलाई पठाइने छ। त्यसपछि कम्पनीले हबिब बैंकको नाममा रहेका हिमालयन बैंकका सेयर खरिदको प्रक्रिया अघि बढाउनेछ।
नेपाल बीमा प्राधिकरणबाट अनुमति पाइसकेपछि नेशनल लाइफले यसअघि नै हबिब बैंकसँग सेयर खरिदसम्बन्धी सम्झौता गरेको थियो। सम्झौतापछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पठाइएको थियो, जसलाई राष्ट्र बैंकले अब हरियो झण्डा देखाएको हो।
हिमालयन बैंकले यस वर्षको जेठ महिनामा प्रतिकित्ता रु ११२.८० का दरले हबिब बैंकको स्वामित्वमा रहेका सेयर बिक्री गर्ने सूचना जारी गरेको थियो। सो सेयर खरिदका लागि हिमालयन रि–इन्स्योरेन्सले प्रयास गरे पनि संस्थापक सेयरधनी नै खरिदमा अघि आएपछि त्यस योजना कार्यान्वयन हुन सकेन।
हबिब बैंकले सन् २०७६ सालमै आफ्नो स्वामित्वमा रहेका हिमालयन बैंकका सेयर बिक्री गर्न खोजेको थियो। त्यतिबेला बेलायतस्थित कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (CDC Group) सँग सम्झौता समेत भएको थियो, तर बैंककै एक सञ्चालकको असहमतिको कारण प्रक्रिया रोकिएको थियो।
पछिल्लो चरणमा कर्मचारी सञ्चय कोषले पनि सो सेयर खरिद गर्न चासो देखाएको थियो, तर त्यस प्रयास पनि सफल हुन सकेन।
अब राष्ट्र बैंकको स्वीकृति पाएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हिमालयन बैंकमा हबिब बैंकको स्वामित्व रहेको सेयर खरिद गर्ने बाटो खुलेको छ। यस निर्णयलाई वित्तीय क्षेत्रका विश्लेषकहरूले बीमा क्षेत्रको लगानी विविधिकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































