जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल बैंक ७ वटै प्रदेशमा पुर्याउने योजना छ

नबिल बैंक ७ वटै प्रदेशमा पुर्याउने योजना छ

रातारात नबिल बैंक आउनु भयो कथा के हो ?
३३ वर्ष पुरानो नबिल बैंकले आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ । अरू बैंकमा जस्तै नबिलमा पनि कार्यकारी पदमा नयाँ व्यक्ति आउँदा अलिअलि परिर्वतन त भइहाल्छ नै । तर एउटा बाटो समातिसकेको संस्थाको पहिचानलाई नै निरन्तरता दिनु महत्वपूर्ण कुरा हो ।

नबिल, एउटा यस्तो बैंक हो जसले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन एक रुपैयाँ पनि लगानी थप्नुपरेको छैन । बैंकले पुँजी बढाउन न एफपीओ जारी गर्नुपर्यो न त मर्जर वा एक्वायरमा जानुपर्यो । यसबाट प्रष्ट हुन्छ, नबिल आफैंमा सक्षम बैंक हो । हाम्रो अबको सोच सेवाग्राहीसँग मिलेर अगाडि बढ्ने भन्ने छ । जसको अर्थ सेवाग्राहीको पनि आर्थिक उन्नति होस् र बैंकले पनि अझै प्रगति गरोस् । यो कुरा बनाउने मेरो कुरा छ । म कसरी आएँ, किन आएँ, यो सबैले बुझ्नु भएकै छ नि ।

अब नबिल बैंकमा कस्तो परिर्वतन ल्याउने योजना छ ?
एक हिसाबले हेर्दा ४ वर्षे कार्यकाल लामो हो । तर, बैंकको सेवासुविधा जुन हिसाबले विस्तार गर्न सकिने ठाउँ छ, त्यसलाई मनन गर्दा ४ वर्षे कार्यकाल छोटो पनि हुनसक्छ । म आवश्यकता हेरेर सेवाग्राहीलाई सेवा प्रदान गर्ने योजनामा छु । हाम्रो देशमा विदेशी लगानी भएका बैंकहरू पर्याप्त छन् । तिनमा भारतीय, पाकिस्तानी, बंगलादेशी, बेलायती लगानी छ । मैले अहिलेसम्म नेपाली बैंकले विदेशमा गएर कमाएर ल्याएको देखेको छैन ।

यस्तो अवस्थामा यो काम नबिलले नगरे कसले गर्छ ? नबिल बैंकले विदेशमा शाखा खोलेर हुन्छ कि विदेशी बैंक नै किनेर वा साझेदारीमा, जसरी हुन्छ विदेशी पैसा नेपाल भित्र्याउने योजना छ । नबिलले अहिले जुन किसिमले प्रविधिको प्रयोग गरेको छ ।

यो अवस्थासम्म आइपुग्न अन्य बैंकलाई अझै दुई–तीन वर्ष लाग्ने देखिन्छ । जुन प्रविधिहरू नबिलले प्रयोग गरिरहेको छ, त्यसलाई अझैसम्म हामीले बजारमा प्रचार गरेका छैनौं । आउँदो दिनमा यी प्रविधिको पूर्ण रूपले प्रचार गर्ने मेरो योजना छ । सात वटा प्रदेशमा नबिल पुर्याउने मेरो योजना छ ।

नबिललाई पाको बैंकको रूपमा हेरिने गरिन्छ । युग सुहाउँदो परिर्वतन गरेर यो बैंक युवादेखि वृद्ध–वृद्धासम्मको हो भन्ने भावना विकास गर्नुछ । जसको लागि हरेक उमेर समूहलाई सहज हुने तरिकाले सेवासुविधा विस्तार गर्ने योजना छ ।

हामी नियामक निकायसँग पनि सहकार्य गरेर आगाडि बढ्ने सोचमा छौं । जसको लक्ष्य उत्कृष्ट नियमपालक बैंकको रूपमा नबिललाई सबैले विश्वास गरोस् भन्ने हो । हामी देशव्यापी शाखा सञ्जाल विस्तार गरेर अझै फैलिने सोचमा छौं । गाउँ पुगेर नबिलले बैंकिङ सेवा मात्रै विस्तार गर्यो भन्ने होइन कि यसले हाम्रो दुःख पीडामा पनि साथ दिन्छ भन्ने आभास सबैलाई गराउन चाहन्छौं ।

राष्ट्र बैंकले ग्रामीण भेगमा बैंक जान मानेन भनिरहेको छ नि ?
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने लक्ष्य लिएको छ । यसमा हामीले सहयोग गर्नुपर्दछ र त्यही अनुसार शाखा विस्तार पनि गर्दै आएका छौं ।

तर कतिपय स्थानमा पूर्वाधार अभावको कारण सरकार आफैं पुग्न सकेको छैन । यस्तो ठाउँमा बैंक तथा वित्तीय संस्था कसरी पुग्न सक्छ ? सरकारी निकायसँग छलफल गर्दा विकासको पूर्वाधार नभए पनि बैंक तथा वित्तीय संस्था जसरी पनि जानुपर्छ भन्छन् । तर बैंकलाई कुनै समस्या आयो भने आफू जिम्मेवारी लिन्छु भन्दैनन् ।

भोलि केही भइहाल्यो भने आखिर फस्ने त सर्वसाधारणको पैसा हो । त्यसैले हामी लगानीकर्ताको विश्वास गुमाउन चाहन्नौं । यसो भन्दै हामी पन्छिन पनि खोजिरहेका छैनौं । म बैंकर्स संघको अध्यक्ष हुँदा राष्ट्र बैंकको एक पटकको अनुरोधमा हामीले २४४ वटा शाखा विस्तार गरेका थियौं । सरकारले आवश्यक पूर्वाधारको विकास गर्छ भने हामी जस्तोसुकै दुर्गममा गएर पनि सेवा दिन तयार छौं ।

स्थापनाकालदेखि मेगा बैंकमा हुनुहुन्थ्यो, अचानक किन छोड्नुभयो ?
म सधैं नियामकलाई सम्मान गर्ने व्यक्ति हो । नियामक निकायको व्यवस्था अनुसार एक व्यक्ति दुई कार्यकाल बढी एउटै बैंकको सीइओ बन्न पाउँदैन । यो नियमको पालना गर्दै बाहिरिएको हुँ । ८ वर्षअघि म नबिल जस्तो स्थापित संस्था छाडेर सञ्चालन अनुमतिसमेत नआइसकेको संस्थामा जाँदै थिएँ ।

त्यतिबेला धेरैले मलाई यति ठूलो जोखिम किन लिएको भन्थे । तर टिम राम्रो भयो भने जुनै पनि संस्थालाई उचाइमा पुर्याउन सक्छु भन्ने ममा विश्वास थियो ।

राष्ट्र बैंकले ‘कुलिङ पिरियड’ तपार्इंलाई नै लक्षित गरेर ल्यायो भन्ने चर्चा त्यस बेला बजारमा आयो यसलाई कसरी लिनुभएको छ ?
मलाई लाग्दैन, अनिल शाह एउटा त्यस्तो शक्तिशाली व्यक्ति हो, जसको पछि राष्ट्र बैंक लाग्छ । नियामक निकायले वित्तीय क्षेत्रलाई थप पारदर्शी बनाउनको लागि उक्त नियम ल्याएको हो । यो नियम लागू हुनु र म नबिल आउनु संयोग मात्र हो । नियामकले नियम ल्याइसकेपछि पालना गर्नु मेरो कर्तव्य हो । यसैबीच राष्ट्र बैंकसँगै यसबारेमा सल्लाह गर्दा उहाँहरूबाट डेपुटीका रूपमा जान मिल्ने सुझाव आयो । जसले गर्दा डेपुटी सीइओका रूपमा नबिलमा आएको हुँ । अरू केही होइन ।

सीइओ भएर लामो समयसम्म काम गर्नुभएकै संस्थामा ‘डेपुटी’ का रूपमा प्रतिष्ठा घटाउनुभयो भन्ने हल्ला बजारमा छ नि ?
मलाई काम गर्न कुनै पद नै चाहिन्छ भन्ने लाग्दैन । जुन पदमा भए पनि आफूले राम्रो गरेर देखाउने हो । नबिलको ‘ब्रान्ड भ्यालु’ मैले बुझेको छु । यसको ‘ब्रान्डिङ’लाई अझ बढी विस्तार गर्न सकेँ भने पद होइन म व्यक्ति माथि पुग्छु । त्यसैले पदलाई होइन कामलाई विश्वास गर्छु ।

नबिलमा केही राम्रो गर्न सक्छु भन्ने हेतुले नै आएको हुँ । यहाँको टिमप्रति म पूर्ण विश्वस्त छु । म एक्लैले भन्दा पनि संस्थाको लक्ष्य प्राप्तिका लागि पूरै टिम नै सक्षम हुनुपर्छ र त्यो नबिल बैंकमा छ । जुन कुरा मैले यो टिमसँग ६ वर्ष काम गर्दा बुझिसकेको छु ।

अहिले तरलता अभावले ब्याजदर अस्तव्यस्त भएको छ यसलाई कसरी लिनुहुन्छ ?
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) अभाव भएको छ । यसको समाधानका लागि बैंकरहरूले नियामक निकायसँग आग्रह गरेका थियौं ।

हामीले मागे जस्तो तरलता सहजताका लागि ठ्याक्कै केही ठोस कदम राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा अवधिमा ल्याएको छैन । तर, यसको समाधानका लागि हामी जस्ता वित्तीय संस्था स्वयं लाग्नुपर्दछ । अहिले बजारको निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि उच्च छ । राजतिलक साप्ताहिक

8350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका