जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कृषि विकास बैंकको मुख्य योजनाकार भारतीय

कृषि विकास बैंकको मुख्य योजनाकार भारतीय

कृषि विकास बैंक लुट प्रकरणमा भारतीय नागरिककाे संलग्नता रहेकाे खुलेकाे छ । प्रहरीले जनाए अनुसार ‘काले’ भन्ने ‘पिटर’ ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ। भारतमा बसेर बैंकको ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएर एउटा ठूलो गिरोहले आइतबार कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ लुटेको तथ्य फेला परेको छ ।बैंकको सिराहासिस्थत लाहान शाखाको कम्युटर ह्याक गरी उक्त शाखामा कार्यरत कर्मचारीको युजरनेम र पासवर्ड चोरी गरेर लुटेराको समूहले रकम चोरी गरेको प्रहरीले जनाएको छ ।

बैंकका कर्मचारीको युजरनेम र पासर्वड प्रयोग भएको देखिएपनि ती कर्मचारीको संलग्नता भएको हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सहकुल थापाले जानकारी दिए ।

‘भारतमा बसेर बैंककोा ५ अर्ब रुपैयाँसम्म लुट्न सक्ने योजना बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ,’ एसपी थापाले भने, ‘पक्राउ परेका लुटेराहरुसँगको वि-च्याट वार्तामा भारतमा बस्ने काले नाम गरेका व्यक्तिसँग ५ अर्बसम्म निकाल्न सकिने कुराकानी भएको देखिन्छ ।’

प्रहरीका अनुसार भारतमा बस्ने काले यो घटनाका मूख्य योजनाकार हुन् । लुटेराको समूहले नविल बैंकलाई लुट्ने प्रयास गरेको तर असफल भएको प्रहरीले जनाएको छ ।

‘लुटेराहरुले धेरै बैंक लुट्ने प्रयास गरेका हुन सक्छन्, तर अहिलेसम्म नविल बैंकमा लुट्ने प्रयास गरेको तर असफल भएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ थापाले भने ।

बैंक लुटपाट प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । मनि चेञ्जर कम्पनीमा भएको शंकास्पद कारोबारको प्रहरीले अनुसन्धान गर्ने क्रममा कृषि विकास बैंक लुटिएको कुरा पत्ता लागेको हो ।

‘पानस रेमिट्यान्सबाट एकै व्यक्तिले एकै दिनमा ६०/६० हजारका दरले ६ पटक रकम झिकेको खबर हामीलाई आयो, हामी तत्काल अनुसन्धानमा खटियौं,’ थापाले भने, ‘पैसा झिक्ने व्यक्तिने नुवाकोटका लवाङ तामाङलाई बुझाउनका लागि रकम निकालेको बताए । हामीले नुवाकोट प्रहरीलाई खबर गरेर त्यसैदिन राति १० बजे उनलाई पक्राउ गर्यौं ।’

ती व्यक्तिलाई पक्राउ गरेपछि उनले सर्लाही हरिवनका पुष्पराज खड्कालाई आफूले रकम दिनका लागि निकालेको बताए । र, प्रहरी पुष्पसम्म पुग्यो । उनले भने भारतमा रकम पठाउन रकम निकालेको बताए । ती व्यक्तिले कृषि विकास बैंकबाट रकम निकालेको बताए ।

र, असोज ६ गते प्रहरीको टोली कृषि विकास बैंक पुग्यो । प्रहरीले शंकास्पद कारोबारको विवरण माग्दा शुरुमा त बैंकका कर्मचारीले पत्याएनन् । प्रहरीले विवरण मागेपछि बैंकले सिस्टम चेक गर्दा सिराहाको लाहान ब्राञ्चमा भएको अधिकांश रकम विभिन्न शाखामा रहेको कृषि विकास बैंककै ११ वटा खातामा पठाइएको । र, ४ करोड ७३ लाख रुपैयाँ निकालिसकेको तथ्य फेला पर्यो ।

‘बैंकका साथीहरुले हामीलाई राम्रो सहयोग गर्नुभयो,’ एसपी थापाले भने ।

यसरी खातामा गएका व्यक्तिको प्रहरीले खाता रोक्का गर्यो । र, बैंकका कर्मचारीलाई प्रहरीले भन्यो कि– यी व्यक्ति रकम निकाल्न आउँदा हामीलाई खबर गर्नु, हामी उपस्थित हुन नसकेको खण्डमा तपाईंहरुले नियन्त्रणमा राख्नू ।’

तर, जुन शखामा भएको खातामा रकम ट्रान्सफर भएको छ । ती खातामा प्रहरी पनि तैनाथ भएर बस्यो । अर्को दिन जसको खातामा रकम जम्मा भएको हो उनीहरुल बैंकमा पैसा निकाल्न गए । प्रहरीले उनीहरुलाई रकम निकाल्दा निकाल्दै पक्राउ गर्यो ।

‘पक्राउ परेका व्यक्तिका साथबाट ६० लाख रुपैयाँ बरामद गरेका छौं,’ एसपी थापाले भने, ‘१५ लाख रुपैयाँ कैलाश विकास बैंकमा जम्मा भएको छ । यसबारे हामी थप अनुसन्धान गरिरहेका छौं ।’

भारतमा बसेर लुटको योजना बनाउने वयक्तिलाई हुण्डीमार्फत् रकम पठाएको भेटेपछि प्रहरीले उक्त हुण्डीका सञ्चालकलाई पनि पक्राउ गरिसकेको थापाले जानकारी दिए ।

‘समयमै थाहा पाएर लुटेर पक्रिन नसकेको भए ठूलो क्षति हुने देखिन्थ्यो,’ उनले थपे, ‘किनभने उनीहरुको यो ह्याकिङ सिस्टमको प्रयोग गरेर ५ अर्ब लुट्ने योजना थियो ।’

प्रहरीले लुटेराहरुको उल्टो पिरामिड शैलीको संरचना भएको बताएको छ । भारतमा बसेर नेपालमा विभिन्न लेयरका एजेन्ट खडा गरेर बैंक लुटिएको प्रहरीले जनाएको छ ।

‘नेपालको मूख्य एजेन्टले भारतको कुनै शहरमा बसेर योजनाकारसँग मिटिङ गरेको छ र उसले यहाँका विभिन्न एजेन्टहरुलाई प्रयोग गरेको छ,’ थापाले भने, ‘तपाईंको खातामा यति रकम हालिदिएका छौं, १०/१५ प्रतिशत आफूले राखेर बाँकी रकम हामीलाई पठाइदिनू भन्ने वार्तालाप भएको देखिन्छ । र, त्यसैअनुसार एजेन्टहरुले रकम पठाएको देखिन्छ ।’

युजर नेम र पासवर्ड प्रयोग भएका कर्मचारीलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय लुटेराहरु सक्रिय भएका छन् । विदेशमा योजना बनाएर नेपाली बैंक लुट्ने गिरोहले एक महिनाको अविधमा

३ हप्ताअघि चिनियाँ ह्याकरहरुले नेप्सको सिस्टम नै ह्याक गरेर विभिन्न बैंकको एटीएममार्फत् भिसा कार्ड प्रयोग गरी साढे ३ करोड रुपैयाँ चोरी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को बैंकको ५ करोड रुपैयाँ लुटिएको छ ।

लुटेराहरुलाई प्रहरीले बुधबार सार्वजानिक गरेको छ । लुटेरा सार्वजानिक गर्ने पक्रकार सम्मेलनमा बैंककमा उच्च अधिकारीहरु पनि उपस्थित थिए ।

बैंकका डीजीएम दीर्घ अर्यालका अनुसार प्रहरीले अनुसन्धानका लागि विवरण मागेपछि मात्रै बैंकले घटना थाहा पाएको हो । घटना थाहा पाउनेवित्तिकै लाहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरिएको र राजविराजबाट कर्मचारी पठाएर कारोबार शुचारु गरिएको जानकारी दिए ।

‘अनुसन्धानका लागि प्रधान कार्यालयबाट मंगलबार नै ४ जनाको टोली लाहान पठाएका छौं,’ डीजीएम अर्यालले भने, ‘जनताको पैसा एक रुपैयाँ पनि तलमाथि भएको छैन । साउन र भदौको ऋणको ब्याज लुटेराहरुले लुटेका हुन् ।’

बैंकको सिस्टम ह्याक नभएको उनले जानकारी दिए । बैंकका देशभर २६७ शाखा छन् ।

‘अरु शाखा सुरक्षित छन्, ह्याकरको आक्रमणमा परेका छैनन्,’ उनले भने, ‘हामीले केन्द्रबाट पठाएको टोलीले रिपोर्ट तयार पारिरहेको छ । रिपोर्ट आएपछि सत्यतथ्य खुल्छ ।’

प्रहरीका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिइ बाँकी रकम भारत पठाउने गरेको फेला परेको छ।

प्रहरीले हालसम्म बैकका कर्मचारीहरूकाे संलग्नतालाइ पुष्टि गर्न सकेकाे छैन । तर, राष्ट्र बैंकले भने कर्मचारीहरुको संलग्नता रहेकाे जनाउँदै अाएकाे छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा पठाएको बताएका छन् ।

पक्राउ पर्नेहरु

लवाङ तामाङ (४३), मेघाङ–४ नुवाकोट, लक्ष्मी लामा तामाङ (४०) नौकुण्ड–५ रसुवा, सञ्जय घले (२६) तारकेश्वर– २ काभ्रेस्थली काठमाडौं, निर्मला तामाङ (२०) नौकुण्ड–५ रसुवा, नीमा तामाङ (१८) नौकुण्ड–५ रसुवा, पुष्पराज खड्का (४२) हरिवन–२ सर्लाही, विद्यासागर लामिछाने (२३) दोर्दी–३ लमजुङ, श्रवणकुमार श्रेष्ठ भानु–९ तनहुँ, सुनिता श्रेष्ठ (३२) ठिमी–४ भक्तपुर, शुबन्कर पञ्जा (३०) कलकत्ता भारत, विजय शाह (२२) भजनी–३ कैलाली, चन्द्रबहादुर बुढा (४५) भजनी–१ कैलाली रहेका छन् ।

6355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका