जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले एक वर्षदेखि थन्क्यायो नयाँ क्लियरिङ हाउसको निवेदन

राष्ट्र बैंकले एक वर्षदेखि थन्क्यायो नयाँ क्लियरिङ हाउसको निवेदन

नेपाल राष्ट्र बैंकले देशका चर्चित उद्योगीहरूको लगानी रहेको नेसनल डिजिटल क्लियरिङ हाउसको लाइसेन्स रोकेको छ । नियमानुसार पेस गरिएको फाइल अगाडि नबढाएर राष्ट्र बैंकले बदनियत देखाएको लगानीकर्ताको आरोप छ ।

सो कम्पनीले सञ्चालन अनुमति माग गर्दै २४ असोज ०७५ मा नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो । राष्ट्र बैंकको भुक्तानीसम्बन्धी काम गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ अनुसार २५ हजार रुपैयाँ दस्तुर तिरेर अनुमतिका लागि दर्ता गराएको निवेदन राष्ट्र बैंकले एक वर्षदेखि थन्काएर राखेको छ । २४ असोजमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले तोक आदेश दिएर निवदेन दर्ता भएको थियो ।

यस कम्पनीमा एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतको संस्थागत लगानी छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका सीईओ रमेशकुमार भट्टराई, चर्चित उद्योगी शशिकान्त अग्रवाल, रतनलाल केडिया, सन्दीप जलान, उत्तमकुमार श्रेष्ठलगायतका लगानीकर्ता छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष महासंघ उपाध्यक्ष श्रेष्ठ हुन् भने सदस्यहरूमा एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधिका साथै रमेशकुमार भट्टराई छन् ।

सञ्चालक समिति सदस्य भट्टराईले विधिवत् रूपमा दर्ता भएको फाइल थन्काएर राखिएको गुनासो गरे । जुन कानूनअनुसार दर्ता भएको हो सोही कानूनबमोजिम नै राष्ट्र बैंकले कारबाही अघि बढाउनु पर्ने उनको भनाइ छ ।

‘हामीले नियमानुसार नै दर्ता गराएका छौं, लामो समय भइसकेको छ’, उनले भने, ‘यदि नियमले दिँदैन भने हामीलाई कारण खुलाएर लिखित जानकारी दिन सक्नुपर्‍यो ।’

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमतिसम्बन्धी नीति, २०७३ को दफा ८ मा रीतपूर्वक इजाजतका लागि प्राप्त निवेदनलाई ९० दिनभित्र आशयपत्र दिनुपर्ने व्यवस्था छ । दिन नमिल्ने भए लिखित कारणसहित इन्कारी पत्र जारी गर्नुपर्ने भनिएको छ । तर, राष्ट्र बैंकले न अनुमति दिएको छ न त इन्कारी पत्र ।

नेपालमा हाल एउटामात्रै क्लियरिङ हाउस कम्पनी रहेको छ । विद्युतीय कारोबारका लागि गेट वे प्रदान गर्न, भुक्तानीसम्बन्धी कारोबार सञ्चालन गर्न, नियन्त्रण गर्न तथा क्लियरिङ गर्ने उद्देश्यले नेपाल क्लियरिङ हाउस मात्रै सञ्चालनमा छ ।

भुक्तानी सेवा प्रदायक कम्पनीहरूको संख्या निरन्तर बढिरहेको सन्दर्भमा एउटा मात्रै क्लियरिङ हाउसले काम गर्न गाह्रो हुने जानकारहरू बताउँछन् । विश्वका धेरै देशहरूमा दुई वा दुईभन्दा धेरै यस्ता कम्पनीहरू सञ्चालनमा छन् ।

राष्ट्र प्रमुखका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘विभागीय प्रमुख देशबाहिर हुनुहुन्छ, उहाँलाई नै थाहा होला ।

6555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका