![लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक](https://aarthikbazarnews.com/wp-content/uploads/2020/05/new-nepal-map.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र तथा सङ्घीयतानुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।
सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गर्नुभएको हो । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र प्रतीकचिन्हसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ ।