जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थतन्त्र चलायमान हुँदै, बैंकवित्त पूर्ण रुपमा सुचारु

अर्थतन्त्र चलायमान हुँदै, बैंकवित्त पूर्ण रुपमा सुचारु

नेपालमा कोरोना भाइरसको दोस्रो लहर क्रमिक रुपमा कम हुँदै जान थालेपछि विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञालाई केहि खुकुलो बनाइएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई परिपत्र गरी आर्थिक क्षेत्रलाई विस्तारै चलायमान बनाउने गरी निषेधाज्ञाको स्वरूप हेरफेर गर्न निर्देशन दिएसँगै जिल्लाको अवस्था हेरेर स्थानीय प्रशासनले निर्णय लिएका छन् । काठमाडौं उपत्यकामा आर्थिक क्षेत्रलाई सर्तसहित सञ्चालन गर्न दिएर निषेधाज्ञा खुकुलो बनाइएको छ ।

गृह मन्त्रालय र सीसीएमसीसँगको परामर्शपछि काठमाडौं उपत्यकामा भने तीन वटै जिल्ला प्रशासनले असार ८ गतेदेखि थप एकसाता ‘खुकुलो निषेधाज्ञा’ लागू गर्ने निर्णय गरेका छन् । सोही अनुसार फेन्सी, सपिङ सेन्टर, स्टेसनरी, भाँडा पसल, हार्डवेयर, सुनपसल लगायत विभिन्न आर्थिक गतिविधि सञ्चालनका लागि भने दिन र समय तोकिएको छ । यस्तै निजी सवारी साधन र ट्याक्सीलाई जोरविजोर सञ्चालन गर्न दिने निर्णयले यातायातमा केही सहज भएको छ ।

सार्वजनिक यातायात, होटल, रेष्टुरेण्ट र मनोरन्जन स्थलहरु सञ्चालनका लागि भने केहि निर्णय हुन सकेको छैन । सरकारले आवश्यकतालाई मध्यनजर गरेर ठूला आयोजनामा पूर्ण स्वास्थ्य मापदण्ड अपनाइ काम निरन्तर गर्न सक्ने व्यवस्था गरेको छ । अत्यावश्यकीय सेवा निरन्तर सञ्चालनमा रहेका छन् । सरकारले अवस्थाको गम्भीर समीक्षा गरी कोरोना नियन्त्रणका लागि तत्कालीन तथा दीर्घकालीन पहल गरेको छ ।

बैंकवित्त पूर्ण रुपमा सुचारु

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन् । यसअघि सीमित शाखाबाट मात्रै सेवा दिँदै आएका बैंक वित्तहरुले मंगलबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्दै बैंक वित्त संस्था पूर्ण रुपमा खोल्न दिने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार, ‘बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्नुपर्नेछ ।’

असार १७ देखि आन्तरिक उडान

मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान संख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । साथै मन्त्रालयले अन्तरराष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहिबारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यसरी कोरोना भाइरसका कारण धराशायी बनेको अर्थतन्त्र क्रमिक रुपमा चलायमान हुँदै गएको छ ।

2390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका