जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • कम्पनीहरुले जारी गरे एक करोड ५ लाख पोलिसी, जीवन बीमाको पहुँच ३४.६८ प्रतिशत !

कम्पनीहरुले जारी गरे एक करोड ५ लाख पोलिसी, जीवन बीमाको पहुँच ३४.६८ प्रतिशत !

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा एक करोड ५ लाख वटा जीवन बीमा पोलिसी बिक्री गरेका छन् । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनसंख्या विवरणको आधारमा जीवन बीमाको पहुँच ३४.६८ प्रतिशतमा पुगेको देखिन्छ । विभागका अनुसार नेपालमा तीन करोड तीन लाख ७८ हजार जना मानिसहरु रहेका छन् ।

कम्पनीहरुले जारी गरेको कुल पोलिसी संख्यामा पनि एउटै व्यक्तिले दुई तीन वटासम्म पोलिसी खरिद गरेको पाइन्छ । यसले गर्दा जारी भएको पोलिसी संख्याको आधारमा बीमाको पहुँचलाई गणना गर्न मिल्दैन । अर्को तर्फ बैदेशिक रोजगारीमा गएका नेपालीहरुले गर्नै पर्ने म्यादी जीवन बीमा पोलिसीले पनि पहुँच धेरै देखाउन मद्दत गरेको छ ।  त्यसैले गर्दा बीमा समितिले नेपालमा बीमाको पहुँचको मोटामोटी गणनाका लागि म्यादी जीवन बीमा पोलिसी र दोहोरो पोलिसीलाई ५ प्रतिशतमा राखेर बाँकी रहेको संख्यालाई पहुँचको रुपमा गणना गर्ने गरेको छ ।

पछिल्लो जनसंख्यामा पछिल्लो समय जारी भएका पोलिसी संख्याका आधारमा ३० प्रतिशत हाराहारीमा बीमाको पहुँच पुगेको भनेर आकलन गर्न सकिन्छ । गत वर्ष बीमा समितिले २६/२७ प्रतिशतलाई नै बीमाको पहुँच रहेको भन्दै सार्वजनिक गरेको थियो । यस आधारमा पनि बीमाको पहुँच यस वर्ष लगभग ४/५ प्रतिशतले सुधार भएको आकलन गर्न सकिन्छ ।

गत वर्ष सबैभन्दा धेरै पोलिसी बिक्री गर्नेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले विभिन्न माइक्रोफाइनान्स सँग समन्वय गरेर माइक्रो पोलिसी बिक्री गर्दै आएको छ । यसले गर्दा पनि कम्पनीको संख्या सबैभन्दा धेरै देखिएको हो । रिलायबल नेपालले ३६ लाख ९ हजार वटा पोलिसी बिक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १०६ प्रतिशतले संख्या बढाउन सफल भएको हो ।

त्यस्तै पोलिसी संख्याका हिसावले दोस्रो स्थानमा नेपाल लाइफ रहेको छ । सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल नेपाल लाइफले गत वर्ष १३ लाख ८१ हजार वटा पोलिसी बिक्री गरेको छ । कम्पनीले एक वर्षको अवधिमा ५.८९ प्रतिशतले संख्या बढाउन सफल भएको हो । तेस्रो स्थानमा रहेको मेट लाइफले पनि ११ लाख ८२ हजार वटा पोलिसी बिक्री गरेको छ ।

अभिकर्ताहरुले एउटै व्यक्तिहरुको विभिन्न कम्पनीहरुमा बीमा गराउने गरेको पाइन्छ । अर्को तर्फ एउटै कम्पनीमा फरक फरक पोलिसी पनि बिक्री गराउने गरेको पाइन्छ । यसले गर्दा पोलिसी संख्यालाई मात्रै हेरेर बीमाको पहुँच यति पुग्यो भन्दा उपयुक्त हुँदैन ।

जीवन बीमा व्यवसाय विभिन्न उमेर समुहकाले गर्न पाउछन् । बालबालिकादेखि लिएर ६० वर्ष उमेर समुहकाले समेत बीमा गर्न पाउने भएकाले यसमा आकर्षण देखिन्छ । तर धेरै उमेर समुहकालाई बीमा गराउदा कम्पनीहरुलाई भने घाटा हुन्छ । त्यसैले गर्दा बालबालिका तथा २० देखि ४० वर्ष उमेर समुहका मानिसहरु धेरै हुन्छ । कम्पनीहरुका अनुसार २० देखि ३० वर्ष उमेर समुहका मानिसहरुले सबैभन्दा धेरै बीमा गराउने गरेको पाइन्छ ।

नेपालमा अझै पनि अभिकर्ताको फोर्सका कारण बीमा गर्ने प्रचलन छ । सर्वसाधारण आफै कम्पनीमा पुगेर बीमा गर्ने परिपाटी कम छ । अर्को तर्फ निम्न आय भएका नागरिकले जीवन बीमा गर्न सक्ने अवस्था छैन । त्यसैले गर्दा बीमा समितिले माइक्रो इन्स्योरेन्स कम्पनीको अवधारणा अगाडि सारेको छ । न्युन आय भएका नागरिकको पहुँच पनि बीमा पुग्नु पर्यो भन्दै समितिले माइक्रोइक्स्योरेन्स कम्पनी खोल्नका लागि अध्ययन गरिरहेको छ । ठुला कम्पनी ठुलो ठुलो बीमाङ्कका पोलिसीमा मात्रै केन्द्रित हुँदा उनिहरुले एक दुई लाख, ५० हजार रुपैयाँको पोलसी बिक्री गर्न सक्दैनन् । त्यसैले गर्दा पनि न्युन आय भएका वर्गलाई बीमाको दायरामा ल्याउने हो भने नेपालमा केहि वर्ष भित्रै ५०/६० प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्छन् । बीमाको दायरा बढ्नु भनेको देशमा लगानी योग्य रकमको बृद्धि हुनु हो । सबै जनाले आर्थिक सुरक्षा तथा सामाजिक सुरक्षा पनि पाउछन् ।

2320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका