जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हबिबको सेयर हिमालयन बैंकका संस्थापकले विद्यमान हिस्सा अनुसार उठाउने, बाँकी कोषलाई

हबिबको सेयर हिमालयन बैंकका संस्थापकले विद्यमान हिस्सा अनुसार उठाउने, बाँकी कोषलाई

हिमालयन बैंकका संस्थापक सेयरधनीहरुले नै हबिब बैंकको सेयर खरिद गर्ने भएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार गर्नु एक साता अगाडि नामसारी हुने गरी हबिबको सबै सेयर खरीद गर्ने सहमति बनेको हो।

कर्मचारी सञ्चय कोषबाट प्रतिबद्धता आउन बाँकी छ। बाँकी सबैले खरिद गर्ने आशयपत्र दिइसकेका छन्।

सञ्चय कोषको लगानी समितिले निर्णय गर्न समय लगाएकाले अन्तिम आशयपत्र दिन ढिलाइ भएको हो। हिमालयनमा पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर लगानी छ। हबिबको सेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ले लिन खोजेको थियो। हिमालयन संस्थापकहरुको आन्तरिक लफडाले प्रक्रिया ढिलाइ हुँदा पछाडि उसले हात झिक्यो।

त्यसपछि हबिबले विभिन्न समूहलाई सेयर खरिदका लागि मनाउन खोजेको थियो। त्यही क्रममा हिमालयनकै संस्थापकहरुले सेयर खरिद गर्न लागेका हुन्।

कसले कति?
अहिले हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ। यसमध्ये २० प्रतिशत अर्थात २ करोड १३ लाख ६८ हजार ८०२ कित्ता सेयर हबिब बैंकको छ।

यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्ने छन्। त्यसबाहेक जति उब्रिन्छ सबै कर्मचारी सञ्चय कोषले लिनेछ।

संस्थापकहरुले आफ्नो अहिले जति सेयर स्वामित्व छ त्यही अनुपातमा खरिद गर्ने सहमति गरेका छन्। अहिले बैंकमा कर्मचारी सञ्चय कोषबाहेक चार वटा समूह छ। हबिबको २० प्रतिशतसहित संस्थापक सेयरधनीको ८५ प्रतिशत लगानी छ।

खेतान समूहको ११.७५ प्रतिशत सेयर छ। यसबाहेक राणा समूह (हिमालयन र अशोक) को पनि ११.७५ प्रतिशत सेयर छ। यो समूहभित्र शशिकान्त खेतान पनि छन्। मनोजबहादुर श्रेष्ठको पनि ११.७५ प्रतिशत नै सेयर छ। प्रचण्ड समूहमा पनि उत्तिने सेयर भएपनि प्रचण्डमान श्रेष्ठ आफ्नो मात्र ८.२५ प्रतिशत मात्र छ। बाँकी सेयर अन्य ब्यक्तिहरुको नाममा छ। विभिन्न व्यक्तिगत संस्थापकको नाममा ७.५ प्रतिशत सेयर छ।

‘सबैले आफ्नो सेयरको समानुपातिक रूपमा खरिद गर्ने भन्ने सहमति भएको छ। अब किन्ने बेलामा कसैसँग पैसा नहुन सक्छ। त्यो बेला बढी भएको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरिदिने छ,’ स्रोतले भन्यो, ‘प्लस-माइनस एक प्रतिशत होला। सबैले आफ्नो हिस्साको सेयर खरिद गर्ने छन्।’

यसो हुँदा खेतान, राणा र मनोजबहादुर समूहले २५ लाख १० हजार ८३५ कित्ताका दरले सेयर पाउने छन्। उनीहरुले जनही ७० करोड रुपैयाँ हाराहारी लगानी गर्नु पर्नेछ। प्रचण्ड समूहले १७ लाख ६२ हजार ९२६ कित्ता सेयर पाउने छन्। उनले ४९ करोड रुपैयाँ लगानी गर्नु पर्छ।

मूल्य कति?
सेयर बिक्रीकै लागि भनेर सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउँदा प्रति कित्ता मूल्य २८२ रुपैयाँ ५० पैसा निस्किएको थियो। यही मूल्यमा खरिद गर्नका लागि हबिबले संस्थापकहरुलाई आग्रह गरेको थियो।

हबिबले प्रस्ताव गरेको सेयर मूल्य महँगो भएको बाँकी संस्थापकबीच समान राय बन्यो। संस्थापकहरुले हबिबलाई बजार मूल्यमा खरिद गर्ने प्रस्ताव गरेका छन्।

संस्थापकहरुले हिमालयनको कारोबार रोक्का हुनुअघि (इन्भेष्टमेन्टसँग मर्जर समझदारीपछि नेपाल स्टक एक्सचेञ्जमा कारोबार रोक्का छ) को ६ महिनाको औसत मूल्यको आधा दिने प्रस्ताव गरिएको छ। यसमा हबिबका अधिकारीहरु राजी भएका छन्। उनीहरुले मूल्य माउ कम्पनीको सञ्चालक समितिबाट अनुमोदन गराउन भने बाँकी छ।

हिमालयन बैंकको १८० दिनको औसत सेयर मूल्य ५५७ रुपैयाँ छ। संस्थापक सेयरको भाउ आधा हुन्छ। त्यसअनुसार २७८.५ रुपैयाँ दिन हिमालयन बैकका प्रवर्द्धकहरु सहमत भएका हुन्। यस हिसाबले हिमालयनका संस्थापकलाई प्रति कित्ता ४ रुपैयाँ बचत हुन्छ।

२९ वर्ष लामो साझेदारी छाडेर जान लागेको हबिबले पुरै मूल्य पाएमा ५ अर्ब ९५ करोड १२ लाख रुपैयाँ पाउने छ। हबिबले पनि सुरुमा सय रुपैयाँ दरमै सेयर खरिद गरेको हो। त्यसैले उसले १९ करोड रुपैयाँ हाराहारी पुँजीगत लाभकर तिर्नु पर्छ।

२९ वर्षअघि हिमालयन बैंक खुल्दा यसको चुक्ता पुँजी ६ करोड रुपैयाँ थियो। अहिले बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ नाघेको छ।

यो बीचमा बैंकले सेयरधनीलाई ५ अर्ब ५० करोड नगद लाभांश वितरण गरिसकेको छ भने ९ अर्ब ९८ करोड रुपैयाँ बोनस सेयर वितरण गरेको छ। बैंकले एक पटक मात्र सेयरधनीसँग पैसा उठाएको छ- चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने बेलामा। त्यतिबेला मेलम्चीको बैंक ग्यारेन्टीबापत ऋण डुब्दा बैंकको नाफा प्रभावित भएकाले १४.२९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नु परेको थियो।

3120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?