जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाबाट सवारीसाधनको कर तिर्ने सेवा सुरु

इसेवाबाट सवारीसाधनको कर तिर्ने सेवा सुरु

बाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क इसेवाबाट तिर्न सकिने भएको छ। 

बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो। योसँगै अब सवारी साधनको कर तिर्नेदेखि सवारी दर्ता, नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको छ। 

अब सवारी धनीहरुले यातायात कार्यालयमा लामो लाइन लागेर कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठूला तथा हेभी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको छ।  

इसेवा खाता भएका प्रयोगकर्ताहरुले मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरणको काम गर्न सक्नेछन्। इसेवा खाता नभएका ग्राहकहरुको हकमा भने नजिककैको इसेवा जोन तथा पोइन्टमा गएर सेवा लिन सकिने कम्पनीले जनाएको छ। 

‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उदेश्य राख्दै आएको छ। सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ। हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ,’ इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिइरहेको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख पुगेको कम्पनीले जनाएको छ। त्यसैगरी, अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको बताइएको छ।

हाल इसेवाको देशभर करिब एक लाख ३० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेको कम्पनीले जनाएको छ।  

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था जोडिसकेका छन्। यी बैंकहरुबाट इसेवामा सहजै रकम जम्मा गर्नेदेखि इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

8685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?