जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकको कर्सिया शाखा लुटपाट प्रकरण: सुरक्षा गार्डको उपचारमा सिडिओको चासो 

सिटिजन्स बैंकको कर्सिया शाखा लुटपाट प्रकरण: सुरक्षा गार्डको उपचारमा सिडिओको चासो 

हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहले सुरक्षागार्डलाई अबरोध गरेको भन्दै गोलि समेत चलाएको थियो।  लुटेरा समुहले चलाएको गोलि लागेर गार्ड घाइते भएकाले अहिले उनलाई थप उपचारका लागि अस्पताल पठाईएको  प्रहरीले जनाएको छ।

सोमबार दिउँसो ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन् । लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरुले एकअर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन् ।

सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो । तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाट भएको रकम भेटिएको छैन ।

प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

बैंकभित्र दुई राउण्ड गोली चल्यो

सोमबार दिउँसो ८ जनाको लुटेरा समूह बैंक भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो ।

गोली लागेर घाइते सुरक्षागार्ड

एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्काे गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

प्रहरी उपरीक्षक जिसीले ७–८ जनाको समूहले योजनावद्ध रुपमा लुटपाट गरेको बताए । लुटपाटको घटनाको मुख्य योजनाकार महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली नचलाएको बताउँदै प्रहरी उपरीक्षक जिसीले भने, ‘अनुसन्धानका क्रममा लुटेरा समूहका सदस्यलाई आफ्नै समूहले चलाएको गोली लागेको देखिएको छ ।’ यसअघि लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको भनिएको थियो ।

उनीहरुले लुटपाटमा प्रयोग गरेको पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ । तर सो समूहका अन्य व्यक्ति र लुटिएको रकम भने भेटिएको छैन । फरार भएका व्यक्ति भारतीय नागरिक भएकाले भारत नै भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सुरक्षा गार्डको उपचारमा सिडिओको चासो 

घटनापछि प्रहरीले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको र भारतीय पक्षसँग समन्वय गरेर फरार व्यक्तिहरुको खोजी गरिरहेको बताए ।

गोली लागेर घाइते सुरक्षागार्ड अस्पतालमा

लुटेर समूहको गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कुँवरको उपचारमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले चासो देखाएका छन् । लुटपाट गर्ने समूहलाई रोक्ने क्रममा गोली लागेर घाइते भएका कुँवरको स्वास्थ्य अवस्थाबारे दाहाल अस्पतालमा पुगेर बुझेका थिए ।

सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

5335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका