जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • लगानी निर्देशिका संशोधन गर्दै समिति, अब बीमा कम्पनीहरु मुद्दती निक्षेप केन्द्रीत हुन नपाउने

लगानी निर्देशिका संशोधन गर्दै समिति, अब बीमा कम्पनीहरु मुद्दती निक्षेप केन्द्रीत हुन नपाउने

बीमा समितिले लगानीसम्बन्धी निर्देशिका हेरफेर गर्ने तयारी गरेको छ । बीमा कम्पनीहरुले गर्ने लगानीको दायरा साँघुरो भएको भन्दै समितिले निर्देशिका हेरफेर गर्न लागेको हो । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘हामीले लगानीसम्बन्धी निर्देशिका हेरफेर गर्ने तयारी गरेका छौं । पूरानो निर्देशिकाले बीमा कम्पनीहरुलाई खुल्ला हुन दिएको छैन् । अब बीमाको पैसा बैंकमा मात्रैभन्दा पनि अन्य उत्पादनमूलक क्षेत्र र सामाजिक विकासका क्षेत्रमा पुग्नुपर्छ भन्नेमा हामी पनि सहमत छौं ।’ 

अधिकांश बीमा कम्पनीहरुले बैंकको ब्याजदरलाई नै आम्दानीको मुख्य स्रोत बनाइरहेकोले त्यस्तो लगानी उत्पादनमूलक क्षेत्रमा बढाउन विद्यमान निर्देशिका केही बाँधेकोले संशोधन गर्न लागिएको उनले बताए । 

पौडेलले अहिलेको जोखिममा आधारित पूँजी (रिक्स बेस्ड क्यापिटल)ले पनि बीमा कम्पनीहरुको लगानी सम्बन्धी निर्देशिकामा संधोशन खोजेको बताए । यसले ब्याज खाएर नाफा गर्दै आएका बीमा कम्पनीलाई नविन क्षेत्रमा समेत लगानी गरेर नाफा बढाउने अवसर मिल्नेछ । 

यता बीमा कम्पनीहरुले पनि एकातर्फ लागानीको दायरा साँघुरो भएको र अर्कोतर्फमा बैंकको मुद्दती निक्षेपमा राख्नका लागि मात्रै पनि प्रत्येक पटक बीमा समितिबाट स्वीकृति लिनुपर्ने बाध्यताले हैरान भएको बताएका छन् । 

बीमा कम्पनीहरुले समितिमा स्वीकृतिका लागि पठाउँदा र स्वीकृति पाउँदा हुने ढिलाईले पनि आफ्नो व्यवसायलाई प्रत्यक्ष प्रभाव पारेको गुनासो गरेका छन् । 

पूरानो निर्देशिकाको आधारमा काम गर्न सम्भव नभएको निष्कर्षमा समिति पनि पुगेकोले यसको चाँडै संशोधन हुने देखिएको छ । बीमा कम्पनीहरुले टेक्निकल रिर्जभको लागि समितिमा स्वीकृति लिनुपर्ने प्रवधान भने वैज्ञानिक रहेको पौडेलको तर्क छ । 

समितिले धेरै पटक स्वीकृति लिँदा कम्पनीहरुलाई समस्या पर्ने भए पनि नियमनकारी निकायले जति गहिरो चेकजाँच गर्यो उति राम्रो हुने उनले बताए । 

पौडेलले थपे, ‘गाउँ गाउँबाट आएको पैसा जथाभावी नजाओस भनेर हामीले हेर्नै पर्छ । त्यसले अल्ली बढी समय लिएको हुनसक्छ । तर अब बीमा कम्पनीले पनि जलविद्युत आयोजना र अस्पतालमा लगानी गर्न हुन्न, एफडीमा मात्रै पैसा राख्नुपर्छ भन्ने पनि त छैन नि ।’

बीमा क्षेत्रले लगानी गरेको पैसा एउटा राम्रो अस्पताल खोल्न सकेमा भोली बीमा क्षेत्रकै मान्छे बिरामी पर्दा पनि त्यो अस्पताल काम लाग्ने भएकाले सामाजिक उत्तरदायित्वको हिसावमा पनि बीमा क्षेत्रको लगानी विविधिकरण गर्नु उचित हुने उनले बताए । 

यस्तो छ लगानीको दायरा 
हालसम्म बीमा कम्पनीहरुले सरकारको बचत पत्र तथा ऋण पत्र, क वर्गको बैंकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार विकास बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा लगानी गर्दै आएका छन् । 

त्यस्तै, घर जग्गा, क, ख, र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चर, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बीमा कम्पनीहरुले अहिले लगानी गर्न पाउने व्यवस्था छ । 

निर्देशिका संशोधनपछि भने एफडीमा मात्रै लगानी गरेर नाफा गर्दै आएका बीमा कम्पनीलाई आफ्नो लगानी उत्पादनमूलक तथा सामाजिक विकासका क्षेत्रमा लगानी गर्न बाध्यता सिर्जना गर्छ । 

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका