जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कर्मचारी सञ्चय कोषका ६ लाख संचयकर्ताको खातामा ४ अर्ब रुपैयाँ जम्मा, खुद आम्दानी १४.६१% ले बढ्यो

कर्मचारी सञ्चय कोषका ६ लाख संचयकर्ताको खातामा ४ अर्ब रुपैयाँ जम्मा, खुद आम्दानी १४.६१% ले बढ्यो

कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७७/७८ मा आर्जन गरेको नाफाबाट झन्डै चार अर्ब रुपैयाँ आफ्ना संचयकर्ताहरुलाई वितरण गरेको छ।

वैशाख १३ गते बसेको सञ्चालक समितिले निर्णय गर्दै कोषका ६ लाखभन्दा बढी सञ्चयकर्तालाई कुल ३ अर्ब ९३ करोड ६५ लाख ५० हजार रुपैयाँ गत वर्षको नाफा आर्जनबाट वितरण गरेको कोषले जनाएको छ। कोषका अनुसार उक्त नाफा सञ्चयकर्ताको खातामा जम्मा भइसकेको छ।

सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई दिइएको ६.५ प्रतिशत ब्याजका अतिरिक्त आव २०७७/७८ को मौज्दात रकममा ०.९० प्रतिशतले हुन आउने रकम नाफाको रुपमा खातामा पठाइएको कोषले जनाएको छ। यससँगै कोषले आर्थिक वर्ष २०७७/७८ मा दिएको ब्याज दर ७.४ प्रतिशत पुगेको पनि जानकारी दिएको छ।

समूहगत रूपमा कोषले आर्थिक वर्ष २०७७/७८ मा कुल स्रोत ४ खर्ब ४५ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ परिचालन गरेर ४ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ। कुल नाफा रकममध्ये विभिन्न कल्याणकारी कोषहरुमा रकम बाँडफाँड गरी ३ अर्ब ९३ करोड ६५ लाख ५० हजार रुपैयाँ सञ्चयकर्ताहरुको व्यक्तिगत खातामा जम्मा भएको हो।

आर्थिक वर्ष २०७६/७७ मा कोषको कुल स्रोत ३ खर्ब ८६ अर्ब ८० करोड ७५ लाख रुपैयाँ थियो। यो रकम आव २०७७/७८ मा १५.४८ प्रतिशतले बढेर ४ खर्ब ४६ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

यसअघि, आव २०७६/७७ मा कोषले ३३ अर्ब ६९ करोड १७ लाख ५२ हजार रुपैयाँ कुल आय गर्दा यसको खुद आय ३ अर्ब ४३ करोड ४६ लाख ४८ हजार रुपैयाँ थियो । आव २०७७/७८ मा आय १.२० प्रतिशतले घटेर ३३ अर्ब २८ करोड ८६ लाख १४ हजारमा झरेको भए पनि खुद आय भने आव २०७६/७७ को तुलनामा गत वर्ष १४.६१ प्रतिशतले बढेको हो।

ब्याजदरमा आएको कमीले कोषको कुल स्रोत तथा लगानीमा वृद्धि भए पनि कुल आयमा १.२० प्रतिशतले कमी आएको जनाइएको छ। तर, सञ्चालन खर्चमा गरिएको मितव्ययीताका कारण खुद आय बढेको कोषको भनाइ छ।

4305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका