जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तःशुल्क वृद्धिको असर: १५०० सीसीमाथिका दर्जनौं मोडेलका गाडी थप महँगिए, कुनको मूल्य अब कति?

अन्तःशुल्क वृद्धिको असर: १५०० सीसीमाथिका दर्जनौं मोडेलका गाडी थप महँगिए, कुनको मूल्य अब कति?

सरकारले विदेशी मुद्राको सञ्चितिमा चाप परेको भन्दै सवारी आयातलाई निरुत्साहित गरेको केही महिना बितिसकेको छ। यसैबीच जेठ १५ मा आएको आगामी आर्थिक वर्षको बजेट र आर्थिक अध्यादेशमार्फत सरकारले सवारी साधनहरुमा करको दर हेरफेर पनि गरेको छ। यसको प्रत्यक्ष असर सवारीको बिक्री मूल्य हुँदै उपभोक्ताको थाप्लोमा पर्दैछ।

सरकारले आर्थिक अध्यादेशमार्फत १५०० सीसीभन्दा माथिका गाडीमा ५ देखि ७ प्रतिशतसम्मले अन्तःशुल्क वृद्धि गरेको छ। यसको सोझो असर उक्त क्षमताको रेन्जका गाडीहरुको बिक्री मूल्यमा पर्नेछ।

सरकारले यस्ता गाडीहरुलाई विलासिताको वस्तुमा राखेर अन्त:शुल्क बढाएको दाबी गरेको छ। तर १५०० सीसीभन्दा माथिका सबै गाडीहरु विलासिताका वस्तुमा पर्दैनन्। 

यसमा सार्वजनिक यातायातमा प्रयोग हुने यात्रुवाहक सवारी (प्यासेन्जर भेहिकल) र सामान ओसारपसार गर्ने बोलेरोसम्मका गाडीहरु परेका छन्। करका दर चलाएका कारण यी सबै प्रकारका सवारीको मूल्य महँगिने भएको छ।

नेपाली बजारमा अहिले सबै ब्रान्डसँग १५ सय सीसी सेग्मेन्टभन्दा माथिका गाडी पनि उपलब्ध छन्। लक्जरी सेगमेन्टका पावरफुल गाडीहरुको आयात कस्नका लागि करको दरमा हेरफेर गरेको दाबी अर्थमन्त्री जनार्दन शर्माको छ। तर सरकारले अधय्यनबिनै करका दरमा छेडखानी गर्दा सबै प्रकारका गाडी महँगिने देखिएको छ।

उच्च इन्जिन क्षमताका गाडी आयात गरी कारोबार गर्ने मित्सुबिसी, टोयोटा, बीएमडब्लु, जिप, मर्सिडिज बेन्ज र ल्यान्डरोभर जस्ता ब्रान्डका गाडी प्रायः सबैजसो मोडलमा अन्तःशुल्क वृद्धिको असरले महँगिने पक्कापक्की भएको छ। तर नयाँ आउने गाडीमा मात्र यो लागु हुनेछ।

पुरानो दरमा भित्रिएर स्टकमा रहेका गाडीमा भने वृद्धि भएको अन्त:शुल्क लागु नहुने व्यवसायीहरु बताउँछन्। अब आउने १५०० सीसीभन्दा माथिका इन्धन गाडीहरु भने बजारमा मूल्य बढेर आउने भएको छ।

यी हुन् महँगिएर आउने गाडीहरुः

टाटाको एच ५ र सफारी
भारतीय अटो ब्रान्ड टाटाका दुईवटा मोडेलका गाडीमा अन्‍तशुल्क वृद्धिको असर पर्ने भएको छ। १९५६ सीसी क्षमताको टाटा एच ५ र टाटा सफारी गाडीमा पनि पाँच प्रतिशत अन्तःशुल्क वृद्धि लागु हुने भएसँगै यी दुवै गाडी अब बजारमा आउँदा विन्दुबाटै महँगिएर आउनेछन्। 
विभिन्न तीन भेरियन्टमा नेपालमा उपलब्ध टाटा एच ५ को मूल्य अहिले ८७ लाखदेखि ९२ लाख रुपैयाँसम्म छ। 

यस्तै, हाल भेरियन्ट अनुसार ८३ लाखदेखि एक करोड १४ लाख रुपैयाँसम्म रहेको टाटा सफारी पनि अब थप पाँच प्रतिशत अन्तःशुल्क लाग्दा अझ महँगो पर्नेछ। यस गाडीमा डेढ लाखदेखि २ लाख रुपैयाँसम्म मूल्य बढ्न सक्ने कम्पनीले जनाएको छ। 

हुन्डाईका पाँच गाडीको मूल्य बढ्ने
नेपालमा अत्याधिक रुचाएका अटो ब्रान्डहरुमध्येको हुन्डाइका पनि पाँचवटा मोडेलका गाडीहरुमा अन्त:शुल्क वृद्धिको असर पर्ने भएको छ।

हुन्डाईको सबैभन्दा लक्जरियस कार प्यालिसेड र सान्टाफे यो सूचीको अग्रपंक्तिमा छन्। २४९७ सीसीको सन्टाफे र २१९९ सीसीको प्यालिसेडमा अब थप ७ प्रतिशत अन्तःशुल्क लाग्नेछ। यी गाडीमा यसअघि ७८ प्रतिशत लाग्दै आएको अन्त:शुल्क अब ८५ प्रतिशतमा पुगेको छ। यससँगै हुन्डाइका यी दुई प्रिमियम गाडी अब झन् महँगिने छन्।

अहिले प्यालिसेडको मूल्य एक करोड ९४ लाखदेखि २ करोड २५ लाख रुपैयाँसम्म छ। सान्टाफेको एक करोड ६५ लाख रुपैयाँ पर्छ। करका दरमा सरकारले गरेको परिवर्तनले यी गाडीहरु ६ लाखदेखि १३ लाख रुपैयाँसम्म महँगिने बताइएको छ।

यसैगरी, १५९१ सीसी क्षमताको हुन्डाइ भेर्नाको दुई सेगमेन्टका गाडीमा पनि थप ५ प्रतिशत अन्त:शुल्क थपिनेछ। यससँगै अहिले ५० देखि ५४ लाख रुपैयाँसम्म रहेको यी गाडीको मूल्‍य २ लाख रुपैयाँसम्म बढ्ने भएको छ।

यस्तै, नेपालमा चलेको हुन्डाइको अर्को मोडेल टुसान पनि महँगिने सम्भावना छ। १५०० देखि २००० सीसीको रेन्जमा पर्ने यस गाडीमा पनि विद्यमान ७० प्रतिशत अन्तःशुल्क ५ प्रतिशतले ७५ प्रतिशत पुगेको छ। अहिले ९५ लाखदेखि एक करोड २४ लाख रुपैयाँसम्म रहेको टुसान अब बजारमा आउँदा चार देखि ६ लाखसम्म महँगिने कम्पनीले जनाएको छ।

महिन्द्राका यी तीन मोडेल पनि महँगिने
सरकारले थपेको अन्त:शुल्कले यस भारतीय ब्रान्डको गाडीको तीनवटा मोडललाई असर गर्ने भएको छ। 

महिन्द्राको नेपालमा सबैभन्दा बढी बिक्री भएका स्कोर्पिओ र बोलेरो मोडललाई धेरै असर गरेको छ। १९९७ सीसीको स्कोर्पिओको मूल्य अहिले ५२ लाख ७५ हजार रुपैयाँ छ। यसमा अन्त:शुल्क पहिलेको भन्दा ५ प्रतिशत थप हुँदा अब २ लाख रुपैयाँसम्म मूल्य बढ्न सक्ने बताइएको छ।

यस्तै, २१७९ सीसीको महिन्द्रा एक्सयूभी ५०० मा ७ प्रतिशत अन्तःशुल्क थपिएको छ। यससँगै अहिले ६२ लाख ७० हजार रुपैयाँ पर्ने यो गाडी अब २ लाखदेखि ३ लाख रुपैयाँसम्मले महँगिने भएको छ।

निसान एक्सट्रायलको मूल्य ८ लाख बढ्ने 
२००० सीसीको निसानको एक्सट्रायलमा ७ प्रतिशत अन्तःशुल्क बढेसँगै यसको मूल्य  ८ लाख रुपैयाँ हाराहारी बढ्न सक्ने कम्पनीले जनाएको छ। हाल यसको मूल्य नेपाली बजारमा एक करोड २४ लाख रुपैयाँ छ। यो अब ८ लाख रुपैयाँ हाराहारीले महँगिनेछ। 

जीपका चारवटा मोडेलमा असर
अमेरिकन ब्रान्ड जिपको चारवटा मोडेलको मूल्यमा अन्तःशुल्क बृद्धिको असर पर्ने भएको छ। जसमा १९५६ सीसी क्षमताको जीप कम्पास (डिजेल भेरियन्ट) मा ५ प्रतिशत अन्त:शुल्क थप भएको छ। यसको मूल्य अहिले ८७ लाख ९० करोड रुपैयाँ छ। अब भने महँगिएर आउनेछ। 

यसैगरी १९८८ सीसीको जीप र्‍याङ्लर लिमिटेड सहाराको मूल्य अहिले नेपाली बजारमा २ करोड ६७ लाख रुपैयाँ छ। तर यसमा पनि ५ प्रतिशत अन्त:शुल्क बढेसँगै अब बिक्री मूल्य पनि कम्तिमा १० लाख हाराहारीले बढ्नेछ।

यस्तै, जीपको ग्रान्ड चेरोकी २९८५ सीसी र ग्ल्याडिएटर ३६०५ सीसी क्षमताका हुन्। यी दुवै गाडीमा सरकारले बढाएको ५ प्रतिशत अन्तःशुल्क थपिनेछ।

हाल ग्रान्ड चेरोकीको मूल्य २ करोड ५९ लाख ९० हजार रुपैयाँ र ग्ल्याडिएटरको २ करोड २० लाख रुपैयाँ छ। यी गाडीको मूल्य करिब १० लाख रुपैयाँसम्म महँगिन सक्ने बताइएको छ।

स्कोडाका पनि दुई मोडेल महँगिने
स्कोडाको कारोक र न्यु कोडियाक दुवै मोडल १९६८ सीसी क्षमताका गाडी हुन्। यी गाडीमा पनि ५ प्रतिशत अन्त:शुल्क थप भएर यसअघिको ७० प्रतिशतबाट ७५ प्रतिशत पुगेको छ।

कारोकको मूल्य अहिले एक करोड ३० लाख रुपैयाँ र न्यु कोडियाकको एक करोड ७१ लाख रुपैयाँ छ। यी दुवै गाडी तीन लाख रुपैयाँ हाराहारीले महँगिने पक्का छ।

फक्सवागनको टोरेग र अलस्पेस
फक्सवागनले नेपालमा बिक्री गर्दै आएका गाडीहरुमध्ये प्रिमियम सेगमेन्टका टोरेग र अलस्पेश मोडेलमा पनि बढेको अन्तशुल्‍कको असर पर्ने भएको छ। २९६७ सीसी क्षमताको टोरेगमा ५ प्रतिशत अन्त:शुल्क बढेको छ। हाल यसको मूल्य एक करोड ६४ लाख रुपैयाँ रहेको छ। यस्तै, हाल एक करोड १८ लाख रुपैयाँ पर्ने १९८४ सीसी क्षमताको अलस्पेसमा ५ प्रतिशत अन्त:शुल्क बढेको छ। यी दुवै गाडी अब बजारमा आउँदा बढेको अन्तःशुल्कको असरसँगै महँगिएर आउनेछन्।

मित्सुबिसीका चार गाडी महँगिदै
मित्सुबिसीको ३२०० सीसीको पजेरो, ३९९६ सीसी क्षमताको एल२०० मा ५ प्रतिशत अन्त:शुल्क बढेको छ। यस्तै २५ सय सीसीको पजेरो स्पोर्ट र २४ सय सीसीको आउटल्यान्डर मोडलमा ७ प्रतिशत अन्त:शुल्क बढेको छ।

यिनीहरुको मूल्य हाल ९४ लाखदेखि दुई करोड १५ लाख रुपैयाँसम्म छ। यो अब थप महँगो भएर आउनेछ।

टोयोटाका लगभग सबै गाडी महँगिने
टोयोटाका फर्चुनर, ल्यान्डक्रुजर प्राडो, र्‍याभ फोर र कोरोला क्रस लगाय प्रायः सबै मोडलका गाडी १५ सय सीसीभन्दा माथिल्लो क्षमताका छन्।
यसमा टोयोटा फर्चुनर २८०० सीसीको छ। यसको दुई अटोमेटिक र म्यानुअल मोडलको मूल्य अहिलेसम्म क्रमश: २ करोड १७ लाख र २ करोड २७ लाख रुपैयाँ रहेकोमा अब करिब ५ लाख बढेर आउने भएको छ।

यस्तै, टोयोटाको पिकप हाइलक्स २४०० सीसीमा अन्त:शुल्क ७ प्रतिशत बढेको छ। यसको मूल्य ९६ लाख रुपैयाँ रहेकोमा अब ४ लाख बढ्ने कम्पनीले बताएको छ। यसैको अर्को भेरियन्ट २८०० सीसीकोमा ५ प्रतिशत अन्त:शुल्क बढेकाले पहिलेको मूल्य १ करोड १० लाखमा ४ लाखले अब महँगो हुने भएको छ।

यस्तो छ गाडीमा बढेको अन्त:शुल्क दर
सरकारले १५०० सीसी भन्दा माथिका इन्धन गाडीमा थप गरेको अन्त:शुल्क ५ देखि ७ प्रतिशतसम्म छ।

चालु आवमा १५०० सीसीभन्दा माथि र २००० भन्दा कम सीसी भएका गाडीमा ७० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो। यसमा ५ प्रतिशत बढेर ७५ प्रतिशत पुगेको छ।

यसैगरी २००० सीसीभन्दा माथि र २५०० भन्दा कम सीसी भएका गाडीको यस भन्दा अगाडि ७८ प्रतिशत अन्त:शुल्क लाग्दै आएकोमा अब भने ७ प्रतिशतले बढेर ८५ प्रतिशत पुगेको छ।

यस्तै २५०० सीसी सयदेखि ३००० सीसी भन्दा कम भएका गाडीमा पनि ५ प्रतिशतले बढाएर ९५ प्रतिशत बनाइएको छ। 

नेपालमा सबैभन्दा धेरै क्षमतामा  उपलब्ध गाडी ३००० सीसीभन्दा माथिका हुन्। यसमा योभन्दा पहिले १०० प्रतिशत अन्त:शुल्क लाग्दै आएकोमा ५ प्रतिशत बढेर १०५ प्रतिशत कायम भएको छ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका