जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • २.४० करोडसम्मका विद्युतीय गाडी नाडा इभी एक्स्पोमा, ६ लाखसम्मका बाइकमा आकर्षण

२.४० करोडसम्मका विद्युतीय गाडी नाडा इभी एक्स्पोमा, ६ लाखसम्मका बाइकमा आकर्षण

काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा इभी एक्स्पोमा साढे ३ लाखदेखि ६ लाख रुपैयाँसम्मका बाइक र ३० लाख रुपैयाँदेखि २ करोड ४० लाख रुपैयाँसम्म गाडी बिक्रीका लागि राखिएको छ। एक्स्पोमा विभिन्न कम्पनीहरुले १६ वटा मोडलका बाइक तथा स्कुटर बिक्रीमा राखेका छन्। विभिन्न ब्राण्डका १० वटा विद्युतीय गाडी एक्स्पोमा राखिएको छ।

गाडी खरिद गर्दा नगद छुटदेखि विभिन्न लक्की ड्रमा सिंगापुर टुर जानेदेखि आइफोन १४ जित्ने मौकासम्म पाउने गरी कम्पनीहरुले अफर ल्याएका छन्। स्क्रयाचमा २ लाखसम्मको नगद छुटको पनि योजनाहरु गाडी बिक्रेता कम्पनीहरुले ल्याएका छन्।

एक्स्पोमा आकर्षण भने तीनवटा ब्रान्डमा देखिएको छ। हुन्डाईको आयोनिक-५, टेस्ला र टाटाको नेक्सन सिरिजका गाडी अवलोकनकर्ताहरुको आकर्षण छ। यस्तै दुई पांग्रेमा सुपर सोको, ओला, एनआईयु, हिरो इलेक्ट्रिक, टेल्जी, पियोर लगायतका ब्राण्डमा धेरै आकार्षण देखिएको छ। यी ब्रान्डहरुले नयाँ मोडलहरु यही एक्स्पोमा सार्वजनिक गरेका छन्।

हुन्डाईको दुईवटा मोडल आयोनिक ५ र कोना इभी राखिएको छ। एक्स्पोमा आयोनिक ५ तथा कोना इभी बुकिङ गर्दा एक लाख रुपैयाँ नगद छुट पाइन्छ। एक वर्षको बीमा र ६ वर्षको सर्भिस कम्पनीले नि:शुल्क दिने जनाएको छ। मोटरमा भने २ वर्षको वारेन्टी समेत दिइएको छ।

सिंगल चार्जमा सानो ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने र ६४ किलोवाटको ब्याट्रीले ४८० किलोमिटरसम्म रेञ्ज दिने दाबी कम्पनीको छ। हाल आयोनिक ५ को मूल्य १ करोड १७ लाख रुपैयाँ र कोना इभीको ६० लाख ५६ हजार रुपैयाँ छ।

यसैगरी टाटाको नेक्सनमा पनि एक्स्पो अफर ल्याइएको छ। कम्पनीले लक्की ड्रमार्फत एक जनालाई आइफोन १४ र बम्परमा सिंगापुर टुरको अवसर पाउनेछन्। एक्स्पोमा हालसम्म कम्पनीले ६० वटा नेक्सन इभी बुकिङ गरिसकेको कम्पनीले जनाएको छ।

कम्पनीले नेक्सनको इभी एक्सएमको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ। एक्स्पोमा कम्पनीले नेक्सन सिरिजको अपग्रेडेड भर्सन इभी प्राइम संस्करण पनि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार एकपटकको फुल चार्जमा यो गाडीले ३१२ किलोमिटर दुरी पार गर्छ। तर नेपालमा भने यसले २१० किलोमिटर मात्र रेन्ज दिने कम्पनीले जनाएको छ। यसैगरी कम्पनीले टिगोर इभी पनि एक्स्पोमा राखेको छ। यसको मूल्य ३१.४९ लाखदेखि ३२.९९ लाख रुपैयाँसम्म तोकिएको छ।

टेस्लाको मोडल वाई र मोडल थ्री इभी एक्स्पोमा प्रदर्शनीमा राखिएको छ। मोडल वाईमा ब्याट्री ७४ किलोवाट क्षमताको छ। जसले एकपटकको फुल चार्जमा ५२५ किलोमिटरको दुरी पार गर्ने कम्पनीले जनाएको छ। यसमा २९१ किलोवाटको डबल मोटर जडान गरिएको छ।

टेस्लाको गाडी बुकिङका लागि २५ लाख रुपैयाँ अग्रिम तिर्नुपर्छ। बुकिङ गरेको तीन महिना भित्रमा गाडी उपलब्ध गराउने कम्पनीको भनाइ छ।
यस्तै मोडल थ्रीमा ब्याट्री ५४ किलोवाट क्षमताको छ। यसले एकपटकको फुल चार्जमा ४५१ किलोमिटरको दुरी पार गर्छ। यसमा १८१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। मोडल वाईको मूल्य २ करोड ४० लाख रुपैयाँ र मोडल थ्रीको एक करोड ५५ लाख रुपैयाँ रहेको छ।

बिवाइडीले पनि यही एक्स्पोलाई लक्षित गरेर ५० हजारसम्मको छुटको अफर ल्याएको छ। कम्पनीले स्क्रयाचमा पनि थप ५० हजारदेखि २ लाख रुपैयाँसम्म नगद छुट दिइरहेको छ। हाल इ-६ को मूल्य ब्याट्री क्षमता अनुसार ५० लाखदेखि ५७ लाख ५० लजार रुपैयाँ रहेको छ। यो गाडीले एकपटकको फुल चार्जमा ५१२ किलोमिटर दुरीसम्म कुद्ने कम्पनीले जनाएको छ।

यस्तै दिगोले नयाँ इलेक्ट्रिक जीप एक्स्पोमा राखेको छ। जीप बुकिङ गर्दा ग्राहकहरुले एक लाख नगद छुट पाउने अफर ल्याएको छ। यसको मूल्य नेपालमा ७१ लाख २५ हजार रुपैयाँ तोकिएको छ। एकपटकको फुल चार्जमा ३३० किलोमिटरको गुड्ने कम्पनीले जनाएको छ।

नेटा भी पनि एक्स्पोमा राखिएको छ। कम्पनीले यसलाई विभिन्न कलरमा बजारमा भित्र्याएको छ। कम्पनीले एक्स्पोमा बुकिङ गर्नेहरुका लागि एक लाख ४० हजार नगद छुट तथा ३ जना लक्की ड्र जित्ने ग्राहकले टिभी, दम्पत्तीका लागि ताज सफारी टुर प्याकेज र ५५० लिटरको फ्रिज पाउने कम्पनीले जनाएको छ।

साथै ७ लाख ६० हजार रुपैयाँ डाउनपेमेन्टमा गाडी खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ। यसले एक फटकको फुल चार्जमा ३८० किलोमिटरको दुरी पार गर्न सक्ने जनाएको छ। एक्स्पोमा गाडी बिक्रेताहरुले दसैंका लागि लक्षित गरिएका अफरहरुलाई नै मुख्य प्रथामिकता दिएका छन्।

यसैगरी एक्स्पोमा दुई पांग्रे इभीमा पनि यस्तै विभिन्न अफरहरु रहेका छन्। हिरो इलेक्ट्रिकले आफ्नो स्कुटर बुकिङ तथा खरिद गर्नेहरुका लागि २५ हजार रुपैयाँसम्मको नगद छुट प्रदान गरिरहेको छ। कम्पनीले एक जनालाई लक्की ड्र मार्फत जर्मन ब्रान्ड बोसको वासिङ मेसिन प्रदान गर्नेछ।

यसले एकपटकको फुल चार्जमा ८२ देखि १६५ किलोमिटर दुरी पार गर्ने कम्पनीले जनाएको छ। कम्पनीले नेपाल ल्याएको स्कुटरहरुको मूल्य २ लाख १० हजारदेखि ३ लाख ४६ हजार रुपैयाँसम्म रहेको छ। ९ हजार ९९९ रुपैयाँमा स्कुटर बुकिङ गर्न सकिन्छ। अहिलेसम्म ६ वटा स्कुटर बुकिङ भइसकेको कम्पनीले जनाएको छ।

यस्तै सुपर सोकोको पनि नयाँ बाइक एक्स्पोमा सार्वजनिक भएको छ। सुपर सोको टीएस स्ट्रीट हन्टरको एक्स्पोमा सार्वजनिक गरेको हो। यसले फुल चार्जमा २०० किलोमिटर दुरी पार गर्न सक्छ। कम्पनीले ४ वटा बाइकको बुकिङ लिइसकेको छ।

एक्स्पोका लागि भनेर ३ वर्षसम्मको लागि शून्य प्रतिशत डाउनपेमेन्टमा कम्पनीको बाइक बेचिरहेको छ। यसको मूल्य ३.८९ लाखदेखि ४.८९ लाख रुपैयाँ रहेको छ।

पियोर इभीले पनि एक्स्पोलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको छ। यसमा कम्पनीले हरेक मोडलको खरिदमा ८ हजारदेखि १५ हजारसम्मको क्यासब्याक प्रदान गरेको छ। कम्पनीले हेलमेट, टिसर्ट तथा क्याप नि:शुल्क दिइरहेको छ।

इप्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार र इट्रान्स नियोको मूल्य २ लाख २९ हजार मूल्य तोकिएको छ। यो एकपटक चार्ज गरेपछि ६० किलोमिटर प्रति घण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ।

महिन्द्राको तीन पांग्रे ट्रियो झोर पनि एक्स्पोमा प्रदर्शनीमा राखिएको छ। साथै इलेक्ट्रिक साइकल पनि एक्स्पोमा राखिएको छ। इलेक्ट्रिक साइकल खरिद गर्दा ६-८ हजार रुपैयाँसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ। यसको मूल्य ९० हजारदेखि सुरु हुन्छ।

जोए ब्रान्डको बाइकहरु ५ हजार रुपैयाँमा बुकिङ गर्न सकिन्छ। हरेक बुकिङ गर्ने ग्राहकहरुलाई माउनटेन्ट फ्लाइट गर्न पाउनेछन्। यसको मूल्य हाल तोकिएको छैन। यो ब्रान्ड अक्टोबरमा मात्र सार्वजनिक हुँदैछ। यसैगरी अन्य ब्रान्डहरुले पनि नगद १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था गरेका छन्। त्यस्तै हेलमेट, ज्याकेट, टिसर्ट जस्था गिफ्टहरुको पनि अफर रहेका छन्। साथै बम्परमा फ्रिज, स्मार्ट वाच लगायतका अफर योजनाहरु रहेका छन्।

यस्तै बैंक तथा फाइनान्स संस्थाहरुले सवारी लोनका लागि अफरहरु ल्याएका छन्। जसमा नबिल बैंकले इअटो लोनको अफर ल्याएको छ।अफरमा गाडी खरिद गर्ने ग्राहकले ८० प्रतिशतसम्मको फाइनान्सिङ, ७ वर्षसम्मको कर्जा अवधि तथा क्रेडिट कार्ड २ लाखसम्म र आकर्षक ब्याजदरको व्यवस्था गरेको छ।

यसैगरी कामना सेवा बैंकले पनि अटो लोनका लागि आकर्षक ब्याजदर अफर ल्याएको छ। लोनको प्रक्रियामा सजिलो र छिटो हुने व्यवस्था मिलाउने र ८० प्रतिशतसम्मको फाइनान्सिङको सविधा उवलब्ध गराउने रहेको छ। साथै लोन प्रक्रिया गर्दा लाग्ने फि पनि छुट दिने अफर ल्याएको छ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?