जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सधैं रेमिट्यान्सको पैसाले आयात र उपभोग गरेर अर्थतन्त्र चल्छ ?

सधैं रेमिट्यान्सको पैसाले आयात र उपभोग गरेर अर्थतन्त्र चल्छ ?

अहिले विश्व अर्थतन्त्र एक प्रकारको चापबाट गुज्रिरहेको छ । कोभिडको बेलामा दिएको सुविधाको असर विश्वभर कै अर्थतन्त्रमा परेको छ । कोभिडपछि सुधारको संकेत देखिंदै गर्दा रसिया–युक्रेन युद्धले विश्वभर नै मुद्रास्फीतिमा ठूलो असर पारेको हो ।

विश्वका राम्रो र विकसित भनिएका अर्थतन्त्रहरुले ४०/५० वर्षपछिकै उच्च मुद्रास्फीतिको सामना गरिरहेका छन् । तथ्यांकबाट तुलनात्मक रुपमा नेपालको अवस्था त्यस्तो नराम्रो देखिंदैन । अहिलेको नेपालको मुद्रास्फीति साढे ८ प्रतिशत छ । दक्षिण एसियामा भारत बाहेक तुलनात्मक रुपमा हाम्रो अर्थतन्त्र राम्रो छ । दक्षिण एशियाली अन्य देशको अर्थतन्त्रमा धेरै समस्या देखिरहेका छौं । भारतको अर्थतन्त्रको स्थायित्वको आधार स्तम्भ राजनीतिक स्थायित्व पनि हो । भारतमा आर्थिक स्थायित्वमा राजनीतिक स्थायित्वको पनि ठूलो योगदान छ । नेपालमा राजनीतिक स्थायित्व चुनौती हुँदाहुँदै पनि अर्थतन्त्र धेरै ‘स्टेबल’ छ ।

अहिले केही नै केही असहजता हाम्रोमा देखिएको छ । गत आर्थिक वर्षमा मात्रै २ खर्ब ३४ अर्बको विदेशी मुद्रा हामीले गुमायौं । साढे २ खर्ब विदेशी मुद्रा सञ्चिति बढाउने राष्ट्र बैंक स्थापना करिब ५५ वर्ष लागेको थियो । हामीले एक वर्षमा त्यति विदेशी मुद्रा सञ्चिति गुमायौं । त्यस विषयमा हामीले सोच्न जरुरी छ भनेर केही कदमहरु चाल्यौं ।

राज्यको तर्फबाट आयातमा बन्देज लगाइयो । नेपाल राष्ट्र बैंकको तर्फबाट नीतिगत औजार प्रयोग भयो । प्रतितपत्र (एलसी) मा नगद मार्जिनको व्यवस्था गर्यौं । जसको परिणाम चालु आर्थिक वर्षको ३ महिनामा नेपाली मुद्रामा करीब १२ अर्ब शोधनान्तर बचत हुन गयो । गत आर्थिक वर्षको सुरुको ३ महिनामा ८८ अर्ब शोधनान्तर घाटा थियो । अहिले १२ अर्ब बचत हुँदा ३ महिनाको खुद सुधार हेर्ने हो भने १ खर्ब भएको देखियो ।

यो सुधारले क्रमशः हाम्रो बजारलाई तरलता अभावबाट सुधार गर्दै लगेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा तरलता व्यवस्थापनको लागि ९७ अर्ब बजारमा पठाएको थियो । यो वर्ष अहिलेको सुधारले निरन्तरता पायो भने त्यति तरलता दिनुपर्ने अवस्था नहुन सक्छ । क्रमशः बजारमा तरलता सहज भएर ब्याज बढेको लगायतका समस्या बजारले नै करेक्सन गर्ने आशामा छौं । यही बीचमा ब्याज बढेको अथवा बजारलाई सुधार गर्न ल्याइएका केही नीतिगत कुरालाई लिएर निजी क्षेत्रबाट असन्तुष्टी व्यक्त भएका छन् ।

हामी एकदम खुला छौं, खुला बहसका लागि । चालु पूँजी कर्जासम्बन्धी कार्यविधि ल्याउँदा २०७८ साल पुस १५ गते बजारमा बहसका लागि जारी गरिएको हो । २०७९ भदौमा आएर मात्र यो जारी भयो र कात्तिक १ गतेदेखि लागु भयो । यत्रो समय बहसमा लगेर प्रतिक्रियासहित यो आएको हो । यसमा प्रशस्त ‘ट्रान्जिसनल’ व्यवस्थाहरु गरिएको छ । कतिपयलाई ठूलो रकमको चालु पूँजी चाहिन्छ । कसैको चालु पूँजी स्थायी किसिमको छ, भने ५ वर्ष भन्दा माथिको कर्जा लिन सकिने व्यवस्था त्यहाँ छ । यसको अर्थ ऋणीहरुले आफ्नो व्यवसायलाई, आफ्नो ऋणलाई त्यही अनुसार म्यानेज गर्नुपर्छ, त्यही अनुसार व्यवस्थापन गर्नुपर्छ ।

चालु पूँजी कर्जा सम्बन्धी कार्यविधिको अरु उद्देश्य केही पनि छैन । लिएको ऋण सही ठाउँमा सदुपयोग होस्, चालु पूँजी हो भने त्यसमै लागोस्, ऋणीहरु भोलिका दिनमा अप्ठयारोमा नपरुन् भनेर ल्याइएको हो । आज चालु पूँजी भनेर लिने भोलि लामो समयमा यसको चुक्ता कसरी हुन्छ ? यी कुरा सुधार हुन् भन्ने मात्र उद्देश्य हो । सँगै बैंकको साइडबाट नियमन हुनुप¥यो, विश्लेषण हुनुपर्यो, उद्देश्य यत्ति हो । त्यहाँ भित्र अन्य केही छैन । व्यवहारिक कुराहरु धेरै हदसम्म हामीले सल्टाएका पनि छौं । यति हुँदाहुँदै पनि व्यवहारिक समस्या छन् कि भनेर लागु भएको एक महिनापछि बैंकरहरुलाई सोधेका छौं ।

व्यवसायीहरुले कस्ता कस्ता कर्जामा व्यवहारिक समस्या देखिरहनु भएको छ, कुन–कुन कुरामा सुधार गर्नुपर्छ, त्यसमा सुझाव पाउँ भनेर मागिसकेका छौं । हामी खुला छलफलका लागि तयार छौं । कुनै पनि कुरा असंशोधनीय (संविधान त संशोधन हुन्छ भने) विषय होइन । हाम्रो उद्देश्य प्रणाली नियमित हुनुपर्यो भन्ने नै हो । नियम भित्र बस्नु पर्यो । अनुशासनमा बस्नु प¥यो । त्यो हुन सकेन भने भोलि हामी अर्कै बाटोमा लाग्छौं । यी सबै कुराका समाधान छन् । त्यो समाधान खोजिराख्दा सही उपाय खोज्नु पर्छ । सही उपकरण खोज्नु पर्छ ।

हामी कुन प्रकारको अर्थतन्त्रमा छौं ? हामीले लिएको खुला बजार अर्थतन्त्र हो कि होइन ? संविधानमा उल्लेखित व्यवस्था अनुसार सामाजिक न्यायउन्मुख व्यवस्था र खुला बजार अर्थतन्त्र भनेको एउटै हो कि होइन ? यी कुरामा बहस हुन सक्छ ।

तर, अहिले स्वीकार गरिरहेको प्रणालीबाट अर्कोतिर जान खोजियो भने त्यसको नतिजा अर्कै निस्कन्छ । यसमा सजग हुनु जरुरी छ । के बजारलाई ब्याजदर तोक्ने भनिएको हो ? तपाइँहरु सबैको सुझाव त्यही हो ? त्यो हो भने त्यसमा पनि बहस गर्न सकिन्छ । तर, त्यस भित्रका विषयमा अलि गहिरिएरै जानु पर्छ । हामी देशको अर्थतन्त्र कसरी कहाँ गइरहेको छ भन्ने बारे गहन छलफल हुनु जरुरी छ ।

हामी एउटा जटिल परिस्थितिमा छौं बाहिरबाट रेमिट्यान्स आउँछ, त्यो पैसा हामीले आयात गछौं, सामान उपयोग गछौं, के यसरी नै अर्थतन्त्र सँधै चल्छ ? चल्दैन, यसमा सुधार गर्नैपर्छ । यसरी हुँदैन, आयात रोक्नुपर्छ भनेर रोक्छौं, यो रोकिराख्दा उता राजस्व घट्छ । यही वर्ष आयात रोकिएकै सामानबाट झण्डै २८÷३० अर्ब राजस्व घट्यो । कुल कम भएको राजस्वको झण्डै ५० प्रतिशत आयात रोक्दा घटेको हो ।

कहिलेकाँही अटोमोबिल व्यवसायी साथीहरुले भन्नुहुन्छ, बर्बाद भयो । यो सँधै रोक्ने विषय पनि होइन । एउटा केही समयका लागि मात्र हो । तर, पनि यतिबेला राम्रै भएको छ । नरोकेको भए धेरै गाडी ल्याउनु हुन्थ्यो, धेरै ऋण लिनु हुन्थ्यो, ब्याज बढ्थ्यो, गाडी बिक्री हुँदैनथ्यो, होल्ड हुन्थ्यो ।

यो समयमा त तपाईंहरु भाग्यमानी हुनुहुन्छ । भोलिको दिन त अवश्य खुलिहाल्छ । सँधै त बन्द त हुँदैन । राज्यले एउटा विजनेशलाई सँधैभरि रोकेर त राख्दैन । यसर्थ, गहन छलफल जरुरी छ ।

राष्ट्रबैंकको तर्फबाट हामीले देखिरहेका कुरा भन्दै आइरहेका छौं । माग घटेको अवस्था छ । सीएनआईको प्रतिवेदनमा समेत यो देखिएको छ । अर्थतन्त्रमा सबै कुरा एकै तरहले जाँदैनन्, तलमाथि हुन्छ ।
तर, त्यो तलमाथि तलसम्म सही हो, सहन सक्ने हो, त्यो महत्वपूर्ण हो । सहनै नसक्ने, हाम्रो बसमा भन्दा बाहिर भएका क्षेत्रलाई धेरै खोल्न खोजेर, हाम्रो नियन्त्रणभन्दा बाहिर लैजान खोजेर गलत उपाय र गलत उपकरण प्रयोग गरेर अगाडि बढ्न खोज्यौं भने समस्या निराकरण होइन, समस्या भोली संकटउन्मुख हुन सक्छ ।

हामी यसमा सजग र सतर्क छौं । राष्ट्र बैंकले यी विषयमा गहन अध्ययन गरेर हाम्रा नीतिहरु पुनरावलोकन गर्दै गएका छौं । भर्खरै मात्र यससालको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेका छौं । त्यसमा पनि हाम्रो कार्यदिशा स्पष्ट उल्लेख भएको छ ।

त्यसबाट पनि कतिपय कुरा खुला गरिएको छ । समस्या छन् भने सामूहिक रुपमा समाधान गर्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक यो वर्ष भर लागेर नै गत वर्ष अफ्ठ्यारो भएको कुरालाई बाउन्सब्याक गरेकै हो ।

( बिहीबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश)

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका