जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • डिजिटल कारोबारको सीमा बढ्यो

डिजिटल कारोबारको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै डिजिटल कारोबारको सीमा बढाएको हो ।

यससँगै मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, राष्ट्र बैंकले इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा पनि बढाएको छ । अब इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा २० लाख रुपैयाँ रहेको छ ।

पछिल्लो समय डिजिटल बैंकिङ्गमा जोड दिएको राष्ट्र बैंकले कारोबारको सीमालाई पनि बढाउँदै लगको हो । साथै, बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रविधिमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिँदै आएको छ । राष्ट्र बैंकको डिजिटल अभियानलाई सहयोग गर्दै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल प्रविधिमा जोड दिइरहेका छन् ।

यस्तै, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट हुने कारोबारको अधिकतम सीमा पनि निर्धारण गरेको छ । बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ ।

यस्तै, वालेटबाट अन्य बैंक खातामा प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ र एक वालेटबाट अर्काे वालेटमा प्रतिदिन ५० हजार रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था मिलाएको छ ।

विद्युतीय वालेटमा जुनसुकै माध्यमबाट रकम जम्मा भएतापनि उपर्युक्त सीमा भन्दा अधिक हुने छैन । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ ।

भुक्तानी सेवा प्रदायक संस्थाले रेमट्यिान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन् । यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुर्याएको मानिने छैन् ।

विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

वालेटमा कारोबार गर्दा भुक्तानी सेवा प्रदायक संस्थाहरूले नियुक्त गरेको एजेन्टको कारोबार तथा संस्थागत ग्राहकले वालेटमा रकम प्राप्त गर्दाको हकमा लागू हुने छैन । एजेन्टले गरेको कारोबारको सम्पूर्ण विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले ५ हजार रुपैयाँ कारोबार भए ५ रुपैयाँ, ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ र १० हजार माथिको कारोबार गर्दा १० रुपैयाँ शुल्क लाग्नेछ ।

साथै, अन्तर बैंक मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग कारोबार गर्दा प्रति कारोबार १० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, एजेन्ट मार्फत वालेटमा कारोबार गर्दा न्यूनतम ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । साथै, आरटिजीएस मार्फत कारोबार गर्दा विहान १० रुपैयाँ, मध्यान्ह २० रुपैयाँ र बेलुका १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

1595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका