जोडिनुहोस
मङ्लबार, जेष्ठ १६, २०८०
मङ्लबार, जेष्ठ १६, २०८०
  • होमपेज
  • बैंक कर्मचारीकै सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी

बैंक कर्मचारीकै सेटिङमा गरिबलाई बोकाइयो ऋणको भारी

यदि तपाईं सफा नियत राखेर बैंकमा ऋण माग गर्न जानुभयो भने तपाईंसँग बैंकले के के कुरा र कागजात माग गर्ला ? १० लाख ऋण लिनका लागि पनि बैंकले धितोमा राख्ने सम्पत्ति, नियमित आम्दानी, कामको प्रवृत्ति, परिवारको सङ्ख्या, गर्न लागेको काम आदि सबै सोधेर उसले ऋण तिर्न सक्छ भन्ने लागेमा मात्रै ऋण दिन्छ । यदि नियमित आम्दानी छैन, धितो पनि बलियो छैन र व्यापार व्यवसायमा विश्वास लागेको छैन भने बैंकले ऋण नदिई फिर्ता पठाउँछ ।

तर यस्तो नियम आम नागरिकका लागि हो र सम्भवतः ‘क’ वर्गको बैंकहरुमा मात्रै लागु होला । तर ‘ख’ वर्गको विकास बैंकमा जानुभयो वा अझ नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा जानुभयो भने तपाईंले ३० लाख मूल्य पर्ने जग्गा धितो राखेर ५० लाख ऋण पाउन सक्नुहुन्छ । अनि तपाईंको नियमित आम्दानी, व्यापार व्यवसाय वा ऋण तिर्ने क्षमता पनि केही चाहिँदैन ।

विश्वास लागेन ? आउनुहोस्, रुकुमका सामान्य गाडीचालक डम्मर कामीको यो कथा पढौँ ।

डम्मर कामीको स्थायी ठेगाना मुसिकोट नगरपालिका–१, पश्चिम रुकुम हो । उमेरले २६ वर्ष लागे उनी । पेसाले एक वर्ष अगाडिसम्म उनी एक सामान्य गाडी चालक थिए । साहुको गाडी चलाउँथे, महिनाको ५–१० हजार रुपैयाँ पाउँथे । खानेबस्ने व्यवस्था भने तिनै गाडी धनीको घरमा थियो । नेपालगञ्जमा बसेर विभिन्न कारोबार गर्ने तिलक विक थिए डम्मरका साहुजी ।

पढ्ने रहर भए पनि घरको आर्थिक अवस्था र चरम गरिबीका कारण डम्मर कामीले पढ्न पाएनन् । पाँच दाजुभाइमा काँइलो छोरो रहेका डम्मरले सानै उमेरदेखि स्थानीय बजारमा आमासँगै गएर दाउरा बेच्ने काम गर्थे । त्यही समयमा उनी ट्याक्टरमा सहचालकको रुपमा काम गर्न थाले ।

ट्याक्टरपछि स्थानीय रुटमा चल्ने जिपहरुमा सहचालकको रुपमा काम गरेका उनले पछि ठूला बस र ट्रकमा पनि सहचालकका रुपमा काम गरे । सोही समयमा उनले सवारी चलाउन सिके र लाइसेन्स बनाए ।

एक दिन तिलक विकसँग उनको भेट भयो । तिलक विक पनि स्थानीय व्यक्ति नै थिए र आफ्नी मामाकी छोरीसँग तिलकको विवाह भएका कारण उनले तिलकलाई भिनाजु भन्थे ।

नेपालगञ्जमा बसेर विभिन्न व्यापार व्यवसाय गर्ने तिलक विकको एउटा व्यवसाय थियो ट्राभल एजेन्सी र भाडाका जिप दिनु । तिलकलाई चालकको आवश्यकता थियो भने डम्मरलाई जागिरको । सोही समयमा तिलकले आफ्नै कम्पनीमा काम गर्न ‘अफर’ गरेपछि डम्मर राजी भएर नेपालगञ्ज आए ।

सुरुसुरुमा डम्मरले ट्राभल एजेन्सीकै गाडी रिजर्भमा गएर चलाउन थाले । केही समयपछि नेपालगञ्ज आइपुगेको समयमा तिलकका कान्छो छोरा अत्यन्तै बिरामी भए । तिलक बाहिर रहेको समयमा डम्मरले तिलकका छोरालाई अस्पताल पु¥याएर बचाएका थिए । त्यसपछि डम्मरप्रति ‘अनुग्रही’ भएका तिलकले डम्मरलाई आफ्नै घरमा बस्न र आफ्नो निजी सवारी चलाउन भने । बाहिरै बस्ने गरेका डम्मरको पनि खर्च जोगिने भयो र दिदी–भिनाजुकै घरमा बसेर भिनाजुकै निजी गाडी चलाउन थाले ।

त्यही घरमा खाने बस्ने समेत गरेका कारण डम्मरको बाहिरी खर्च हुँदैनथ्यो । त्यसकारण डम्मरले तिलकसँग तलब पनि मागेनन् । यद्यपि सुरुमा काम गर्ने समयमा मासिक ३० हजार रुपैयाँ तलब दिने सहमति भएको थियो ।

तिलकका लागि रातदिन जहाँ जानुपर्छ, जे गर्नुपर्छ उनले सबै गरे । उनी भन्छन्, ‘भिनाजु जहाँजहाँ जानुहुन्छ, म त्यहीँ जानुपर्थ्यो । कहिलेकाहीँ त उहाँ बियर लिएर कुनै घरमा छिर्नुहुन्थ्यो, म बाहिरै कुरेर बसेको हुन्थेँ । रातको २–३ बजेतिर मात्रै निस्कनुहुन्थ्यो अनि घर जानुपर्थ्यो ।’

घरमा दुई छाक खान पनि धौ धौ हुने डम्मरका लागि तिलकले नेपालगञ्जमै घडेरी किनिदिएर घर बनाइदिने आश्वासन दिएका थिए । त्यति आश्वासन पाएपछि डम्मरले आफूमात्रै नभएर आफ्नी श्रीमतीलाई पनि तिलककै घरमा घरेलु कामदारका रुपमा काम गर्ने गरी राखेका थिए । बास बस्ने स्थानकै लागि त्यति दुःख गरेका डम्मरलाई भिनाजुले घडेरी किनेर घर नै बनाइदिने बताएपछि तलबको पनि आवश्यकता भएन । कहिलेकाहीँ चाडबाडमा १०/१५ हजार माग्थे, त्यति भए उनलाई पुग्थ्यो ।

०००

डम्मरलाई मोटरसाइकल चढ्ने ठूलो रहर थियो । श्रीमान र श्रीमती नै भएर काम गरेको कारण उनले भिनाजुलाई बाइक चढ्ने रहर भएको बताए । भिनाजु तिलक विकले बैंकबाट फाइनान्स गरेर बाइक निकालिदिने तर त्यसका लागि कम्तीमा एक लाख रुपैयाँ डाउन पेमेण्ट गर्नुपर्ने बताए ।

डम्मरले पहिले खलासीको रुपमा काम गर्दा उक्त सवारीसाधनका साहुजीले डम्मरको नाममा जीवन बीमा गरिदिएका थिए । तर नियमित आम्दानी नभएको कारण बीमाको किस्ता तिर्न पनि गाह्रो भइरहेको थियो । त्यही समयमा डम्मरले बीमा ‘सरेण्डर’ गरेर इन्सुरेन्सबाट केही रकम निकाले । अनि केही रकम थपथाप गरेर मोटरसाइकलका लागि तिलकलाई एक लाख रुपैयाँ बुझाए । तिलकले डम्मरसँग नागरिकता मागे । तिलकले भने अनुसार उनले सबै गरे ।

अघिल्लो दिन ९ लाख ५० हजार थैली राखेर जग्गा पास, भोलिपल्टै ५० लाख ऋण प्रवाह

बाइकका लागि भनेर एक लाख दिएको करिब दुई सातापछि डम्मरलाई मालपोत कार्यालयमा बोलाइयो र तिम्रो लागि घडेरी किनिदिएको भनियो । डम्मर खुसी भएर तिलकले भनेको स्थानमा धमाधम औंठाछाप गरिदिए । २०७६ साल फागुनको १८ गते गिरिजा कुमारी जैशीको नामबाट साविकको मनिकापुर गाविस वडा नम्बर ९ तथा हालको नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा रहेको कित्ता नम्बर २८१ को ५४८ वर्गमिटर अर्थात् एक कठ्ठा १२ धुर जग्गा डम्मर कामीको नाममा ल्याइयो । उक्त जग्गा डम्मरको नाममा ल्याएको मिति २०७६ फागुन १८ गते ९ लाख ५० हजार रुपैयाँको थैली खडा गरी पास गरिएको छ ।

तर उक्त जग्गा डम्मरको नाममा आएको भोलिपल्ट नै बाइक लोनमा लिने भन्दै तिलकले नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकमा लगे । अनि केही कागजातहरुमा औंठाछाप र हस्ताक्षर गर्न लगाए । सोही समयमा कर्णाली विकास बैंकमै डम्मरको नाममा बैंक खाता पनि खोलियो । डम्मरको नाममा रहेका चेकमा औंठाछाप सहितको हस्ताक्षर गर्न लगाएर ती चेकहरु तिलकले नै लिए ।

बैंकमा हस्ताक्षर गर्ने सबै प्रक्रिया पूरा गरेपछि डम्मरले बाइक पाए । त्यतिबेला बाइकको ऋण २ लाख रुपैयाँ रहेको र त्यसको किस्ता नियमित तिर्नुपर्ने कुरा बताइयो । तिलकले त्यो रकम आफूले तिरिदिने भनेपछि डम्मरलाई टाउको दुखाई पनि भएन ।

त्यसपछि डेढ वर्षसम्म डम्मरले तिलकसँगै रहेर काम गरे । तर २०७८ सालको पुष १७ अर्थात् सन् २०२२ को जनवरी १ बाट डम्मरले तिलकसँग काम गर्न छाडे । तिलकसँग काम गर्न थालेको ७ वर्ष पुगिसक्दा पनि तलब नदिएको भन्दै डम्मरले ‘जागिर’ छाडे ।

त्यसको दुई महिनापछि कर्णाली विकास बैंकका कर्जा विभाग प्रमुख मुकेश गौतमले डम्मरलाई फोन गरेर जग्गाको विषयमा हस्ताक्षर गर्न भन्दै बैंकमा बोलाए । अनि जग्गा राखेर लिएको ऋणको किस्ता र ब्याज नआएको भन्दै नियमितरुपमा तिर्न भने ।

डम्मर अचम्ममा परे । आफ्नो नाममा ल्याइएको जग्गा राखेर ऋण झिकिएको छ भन्ने डम्मरलाई थाहै थिएन । त्यसपछि डम्मर उक्त विषयमा बुझ्न भन्दै नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकमा पुगे । त्यहाँ गएर बुझ्दा उनको नाममा रहेको जग्गा धितो राखेर ४८ लाखको ऋण लिएको रहेछ । मोटरसाइकल किन्ने प्रयोजनका लागि भन्दै २ लाख गरी कुल ५० लाख ऋणको भारी डम्मरको थाप्लोमा रहेको पत्ता लाग्यो ।

डम्मरले जग्गा राखेर ऋण लिएकोबारे थाहा नभएको र उक्त रकम आफूले नपाएको बताए । अनि बाइकको ऋणको केही किस्ता पनि तिरेको उनले बताए । तर बैंकले सोही समयमा तिलक विकलाई पनि बैंकमा बोलायो र डम्मरलाई नियन्त्रणमा लिइयो । तिलकले उक्त मितिभन्दा पहिले नै आफ्नो चालक डम्मर कामीले आफ्नो बाइक चोरेर भागेको भन्दै प्रहरीमा उजुरी दिएका रहेछन् । ‘चोर’ आइपुगेको पत्तो आएपछि प्रहरी पनि बैंकमै आइपुग्यो र डम्मरलाई जिल्ला प्रहरी कार्यालयमा लगियो ।

सोही दिनको राति करिब ९ बजे बैंकका कर्मचारीहरु प्रहरी हिरासतमै पुगेर केही कागजातमा हस्ताक्षर गर्न लगाए र बाइकको किस्ता नतिरेको कारण अरु कसैलाई नै बेचेर बाइक किन्न बैंकबाट लिएको ऋण तिरेको भन्ने कागजातमा हस्ताक्षर गर्न लगाइयो । डम्मर ‘जेल’बाट छुट्नका लागि आफ्नो बाइक छाड्न राजी भए ।

….अनि सुरु भयो आफ्नै जग्गाको खोजी

डम्मर जब प्रहरी हिरासतबाट मुक्त भए, तब उनले एक साथीको सहयोग लिएर आफ्नो नाममा रहेको ऋण र आफ्नो नाममा रहेको जग्गाको खोजी गर्न थाले । भिनाजु तिलक विकले ‘तिम्रो लागि किनिदिएको घडेरी’ भनेको स्थानमा डम्मर कहिल्यै पुगेका थिएनन् । त्यसपछि नापी र मालपोत कार्यालय चहार्दै डम्मर आफ्नै जग्गामा पुगे । अनि उक्त जग्गाको हालको मूल्यबारे सोधखोज समेत गरे भने आफ्नो नाममा रहेको बैंक खाता कसले कसरी चलाइरहेको छ भन्दै खोजबिन समेत सुरु गरे ।

डम्मर कामीको नाममा ल्याइएको जग्गा कर्णाली विकास बैंकका कर्जा विभागका हेड मुकेश गौतमकी श्रीमती गिरिजाकुमारी जोशीको नामबाट डम्मरको नाममा ल्याइएको थियो । ९ लाख ५० हजारको थैली बनाए पनि जग्गा कतिमा किनिएको हो भन्ने डम्मरलाई थाहा छैन । तर डम्मरको नाममा रहेको जग्गा धितोमा राखेर कर्णाली विकास बैंकबाट ४८ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । जसमध्ये पहिलो किस्तामा २ मार्च २०२० अर्थात् २०७६ फागुन १९ गते २६ लाख रुपैयाँ डम्मर कामीको खातामा ऋण दिइएको छ ।

डम्मरको खातामा २६ लाख आएकै दिन उक्त रकम बैंकका कर्जा विभागका प्रमुख मुकेश गौतमको नाममा चेक नम्बर १०५०३४ बाट झिकिएको छ । त्यसको भोलिपल्ट ३ मार्च, २०२० अर्थात् २०७६ फागुन २० गते एक पटक १४ लाख र अर्कोपटक ७ लाख ४४ हजार रुपैयाँ गरी कुल २१ लाख ४४ हजार रुपैयाँ डम्मरको ऋणबापतको रकम खातामा ट्रान्सफर गरिएको छ । उक्त रकममध्ये १४ लाख रुपैयाँ जग्गा धनी गिरिजाकुमारी जोशीको नाममा चेक नम्बर १०५०३५ बाट सोही दिन झिकिएको छ ।

डम्मर कामीको खातामा आएको रकममध्ये तेस्रो किस्ताको ७ लाख ४४ हजार रुपैयाँ अष्टलक्ष्मी बिल्डर्सका सञ्चालक रहेका भनिएका किरण भण्डारीको नाममा चेक काटेर निकालिएको छ । उनी तिलककै व्यवसायमा संलग्न व्यक्ति हुन् ।

यसरी जग्गा धितोमा राखेर ऋण लिइएको भनिएको ४८ लाख रकम न डम्मरले देख्न पाए न चलाउन नै । उनको नाममा बैंक खाता खोलियो, चेक बन्यो, औंठाछाप र हस्ताक्षर पनि गरे, तर उनले ऋणबापतको रकम भने देख्न पनि पाएनन् । यो सबै कामको चाँजोपाँजो भने व्यवसायी तिलक विकले नै मिलाए ।

जग्गाको हालको मूल्य ३५ लाख, ३ वर्ष अगाडि नै ४८ लाख ऋण प्रवाह !

रुकुम पश्चिमका डम्मर कामीको नाममा रहेको एक कठ्ठा १२ धुर जग्गाको हालको प्रचलित मूल्य करिब ३५ लाख रुपैयाँ छ । डम्मरको जग्गासँगै घर बनाएकी गोमा कुमारी डाँगीका अनुसार उक्त जग्गाको हालको मूल्य ३० देखि ३५ लाख मात्रै छ । ३ वर्ष पहिले उक्त जग्गाको वास्तविक मूल्य कठ्ठाको करिब २० लाख रुपैयाँमात्रै थियो ।

डम्मरको खाताबाट जग्गाधनी गिरिजाकुमारी जोशी र उनका पति तथा बैंकका कर्जा विभागका प्रमुख मुकेश गौतमको नाममा जारी भएको दुई वटा चेक हेर्दा पनि बढीमा ४० लाख रुपैयाँमा उक्त जग्गा किनिएको हुनसक्छ । किनभने डम्मरको खाताबाट झिकिएको रकममध्ये २६ लाख मुकेश गौतम र १४ लाख गिरिजाकुमारी जोशीको नामबाट झिकिएको छ । तर सोही जग्गा राखेर त्यसको भोलिपल्ट नै ४८ लाख रुपैयाँ झिकिएको छ ।

ओभर भ्यालुएसन गरी ऋण प्रवाह, मिलेमतोमै बैंक डुबाउने खेल

विकास बैंकहरुले व्यक्तिको नाममा ऋण प्रवाह गर्दा ५० लाखभन्दा बढीको ऋण प्रवाह गर्न मिल्दैन । पब्लिक कम्पनी भएको कारण ऋण प्रवाह गर्दा ऋण उठ्ने ग्यारेन्टी, आम्दानी तथा खर्चको विवरण, व्यापार गर्ने भए प्रोजेक्सन रिपोर्ट आदि तयार पारेपछि मात्रै ऋण पाइन्छ । अनि ऋण प्रवाह गर्दा ऋणीले ऋण तिर्न नसके धितो लिलाम गर्दा पनि बैंकलाई घाटा नलाग्ने गरी (धितो) सम्पत्ति रोक्का राखी ऋण प्रवाह गर्नुपर्छ ।

२०७६ फागुनमा ऋण लगानी गर्दा धितोमा रहने सम्पत्तिको मूल्यमा अधिकतम ६५ प्रतिशतसम्म मात्रै ऋण प्रवाह गर्न पाउने प्रावधान थियो । यद्यपि विकास बैंकहरुले कुल धितो मूल्यको ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह गर्दैनथे । तर डम्मर कामीको नाममा रहेको जग्गा धितोमा राखी ऋण प्रवाह हुँदा वास्तविक मूल्यभन्दा बढी रकम ऋणका रुपमा प्रवाह गरिएको छ । अधितकम ४० लाख जाने जग्गालाई तत्कालीन समयमै ४८ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

तत्कालीन समयमा कर्णाली विकास बैंकका लागि भ्यालुएटरको काम गर्थे, इञ्जिनियर निसार अहमद दर्जी । उनै निसारको कम्पनीबाट भएको भ्यालुएसनका आधारमा डम्मर कामीको नाममा रहेको जग्गा धितो राखेर ४८ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ । सामान्यतः ४८ लाख रुपैयाँ ऋण प्रवाह गर्न कम्तीमा पनि जग्गाको चलनचल्तीको मूल्य ७५ लाख हुनुपर्ने थियो ।

यदि कुल मूल्यको ५० प्रतिशतमात्रै ऋण प्रवाह गरिएको हो भने पनि उक्त जग्गाको चलनचल्तीको मूल्य तत्कालीन समयमै कम्तीमा ९६ लाख रुपैयाँ हुनुपर्ने थियो । तर तत्कालीन समयमा अधिकतम ४० लाख रुपैयाँ मूल्य रहेको जग्गा धितोमा राखी बैंकबाट ४८ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

बैंकले मानेन भ्यालुएसन रिपोर्ट दिन

डम्मर कामीको जग्गा धितोमा राखी ऋण निकाल्ने समयमा उक्त जग्गाको भ्यालुएसन कति गरिएको थियो भनी गरेको प्रश्नमा कर्णाली विकास बैंकले उक्त कागजात वा रकम दिन नसकिने बतायो । बैंकका डेपुटी सिइओ निरज विक्रम शाहले त्यस विषयमा जानकारी दिन नसकिने बताए । शाहले  भने, ‘केही ऋण प्रवाहमा लापरवाही भएको भन्ने जानकारी आएको छ, हामी त्यस विषयमा अनुसन्धान गरिरहेका छौँ । केही ऋण प्रवाहमा कैफियत भएको जस्तो आभाष भएको छ, हामी चाँडै नै यस विषयमा सेटलमेण्ट गर्ने प्रयास गरिरहेका छौँ ।’

डम्मर कामीको नाममा जारी भएको ऋणको विषयमा कुराकानी गर्दा डेपुटी सिइओ शाहले डम्मरलाई बैंकमा पठाइदिन आग्रह गर्दै भने, ‘डम्मर कामी तपाईंको सम्पर्कमा छन् भने एकपटक हामीलाई भेटाइदनुहोस्, हामी यस ऋणको सेटलमेण्ट गर्न चाहन्छौँ ।’

तत्कालीन समयमा अधिकतम ४० लाख पर्ने जग्गा धितोमा राखेर कसरी ४८ लाख ऋण प्रवाह भयो भन्ने प्रश्नमा डेपुटी सिइओ शाहले यस विषयमा आन्तरिक छानबिन भइरहेको र मूल्यांकनकर्तालाई ‘सस्पेण्ड’ गरिएको बताए ।

तर स्मरणीय के छ भने तत्कालीन समयमा भ्यालुएसन गर्ने कम्पनीका मालिक निशार अहमद दर्जी अहिले कर्णाली विकास बैंकको पब्लिक डाइरेक्टर बनेका छन् ।

डम्मरविरुद्ध सूचना निकाल्ने बैंकको तयारी

डम्मर कामीको नाममा अहिले पनि ४८ लाखभन्दा बढी ऋण छ । ब्याज तथा किस्ता बापतको रकम नतिरेको धेरै भएको कारण ऋण अझै बढेको हुनसक्ने अनुमान गरिएको छ । ऋण र किस्ता नतिरेको भन्दै बैंकले दैनिक पत्रिकामा सूचना निकालेर ऋण तिर्न आउन उर्दी जारी गर्ने तयारी गरेको छ । अनौपचारिक कुराकानीका क्रममा भने डेपुटी सिइओ शाहले डम्मरको तीनपुस्ते विवरण सहित ऋण तिर्न आउने बारे सूचना प्रकाशन गर्न लागेको बताए ।

राष्ट्र बैंकमा उजुरी, तर बैंक उदासिन

आफूमाथि ऋणको भारी थोपरिएको र आफूले कुनै रकम नचलाएको भन्दै डम्मर कामीले नेपाल राष्ट्र बैंकमा उजुरीसमेत गरेका थिए । तर नेपाल राष्ट्र बैंकले उजुरीका सम्बन्धमा हालसम्म कुनै कारवाही अगाडि बढाएको छैन । बरु नेपाल राष्ट्र बैंकको टोलीले भर्खरै कर्णाली विकास बैंकको अनुगमन गरेको र सबै ठिक छ भनेर गएको भन्दै डेपुटी सिइओ शाहले बैंकको बचाउ गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका