जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • तीन व्यवसायिक संस्थाले प्रधानमन्त्रीलाई भने- ‘हाम्रो मात्रै होइन सर्वसाधारणको आत्मविश्वास घट्यो’

तीन व्यवसायिक संस्थाले प्रधानमन्त्रीलाई भने- ‘हाम्रो मात्रै होइन सर्वसाधारणको आत्मविश्वास घट्यो’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर तीन वटा व्यवसायिक संस्थाले उद्योगी व्यवसायीको मनोबल खस्किएको भन्दै तत्कालै आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायी मात्रै नभएर सर्वसाधारणको समेत आत्मविश्वास घट्दा विश्वास गुमेको ठहर गरिएको छ।

सोमबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ-‘मुलुकमा सर्वसाधारणको आत्मविश्वास घटेको छ भने व्यवसायीको मनोबल गुमेको छ। सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसक्दा यो समस्या आएको हो। सरकारको राजश्व १३ प्रतिशत घटेको छ, मुल्यवृद्धि गत आर्थिक बर्षभरि नै सात प्रतिशत हाराहारी रह्यो भने व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशतभन्दा तल झरेको छ।’

ज्ञापनपत्रमा रेमिट्यान्स आप्रवाह र पर्यटक आगमन बढ्दा पनि बजारमा माग सिर्जना हुन नसक्नुको मुख्य कारण व्यवसायी र सर्वसाधारणको विश्वास गुम्दै जानु रहेको ठहर गरिएको छ। ‘सरकारको पूँजीगत खर्च ६० प्रतिशत हुने गरेका कारण ठूलो रकम परिचालन भैरहेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘उच्च ब्याजदर, चालु पूँजी कर्जा मार्गदर्शन र बैंकहरुको पूँजीकोष सम्बन्धि व्यवस्थाका कारण वित्तीय संस्थाहरुबाट रकम प्रवाह हुन सकेको छैन।’

ज्ञापनपत्रमा निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन नसक्दा सर्वसाधारणमा सरकारप्रतिको विश्वास घटेको बताउँदै तत्काल भुक्तानीका लागि आग्रह गरिएको छ। उनीहरुल पुँजीगत खर्च बढाउन दसैं अगाडिनै ठेक्का लगाउन समेत सुझाव दिएका छन्। प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव अर्जुन पोखरेल र गभर्नर महाप्रसाद अधिकारी राखेर उद्योगी व्यवसायीसँग छलफल गरेका थिए।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन संयुक्त प्रयास आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीबाट सर्वसाधारणको आत्मविश्वास बढाउने गरी काम गर्ने प्रतिवद्धता आएको जानकारी दिए।

‘हामीले राखेका सुझाबलाई कार्यान्वयन गर्ने प्रधानमन्त्रीज्यूबाट प्रतिबद्धता आएको छ,’ ढकालले भने, ‘अहिलेको कठिन परिस्थितिमा निजी क्षेत्रको विश्वास लिएर अघि बढ्ने बचन समेत दिनुभएको छ।’

उनका अनुसार तत्कालै खाडी मुलुकसँग द्धिपक्षीय लगानी संरक्षण सम्झौता (बिप्पा) गर्ने प्रतिबद्धता समेत आएको छ। ‘खाडी मुलुकबाट लगानी ल्याउनका लागि तत्कालै बिप्पा गर्न प्रधानमन्त्रीबाट मुख्यसचिवलाई निर्देशन भएको छ,’ ढकालले भने, ‘अहिलेको अवस्थामा विदेशी लगानी ल्याउन धेरै महत्त्वपूर्ण छ। त्यसैले तत्कालै कार्यान्वयनमा जानु उपयुक्त हुन्छ।’

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीबाट तत्कालै कदम चाल्ने प्रतिबद्धता आएको बताए। ‘घरजग्गाको कित्ताकाट तत्कालै खोल्ने प्रतिबद्धता आएको छ। गभर्नरले पनि लिखित रुपमा सुझाव दिए चालु पुँजी कर्जा संशोधन हुने प्रतिबद्धता आएको छ,’ उनले भने, ‘योबाहेक निजी क्षेत्रमाथि भइरहेको आक्रमण पनि रोक्ने प्रतिबद्धता आएको छ।’

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका