जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अर्थमन्त्री महतले भने- अर्थतन्त्र खत्तम भयो भनेर प्रचार भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराए

अर्थमन्त्री महतले भने- अर्थतन्त्र खत्तम भयो भनेर प्रचार भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराए

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्ने बताएका छन्।

‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ,’ उनले भने।

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्। देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भन्दै सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए।

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे।

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैं आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?,’ उनले प्रश्न गरे।

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ।

‘कर तिर्नेको संख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ। उनीहरूले कर तिर्न पनि सक्छन्‌। उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ। बिस्तारै ब्याज घटिरहेको छ। सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन। हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ। यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ।’

उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाए। अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने दाबी उनको छ।

अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन निर्देशन दिए। गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भने, ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के कस्ता समस्या छ र त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनुपर्नेछ।’

केही व्यक्ति तथा फर्मले भने बढी कर तिर्न तयार रहे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको अर्थमन्त्रीले बताए। उनको प्रश्न थियो, ‘बढी अन्य कर तिर्न तयार, तर भ्याटमा आउन नचाहने पनि छन्‌। भ्याटमा आउन किन समस्या हो त ? यसमा पनि गम्भीर कुरा हुनसक्छ। यसको खोजी गर्नुपर्छ।’

800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका