जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाट वितरण हुने

सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाट वितरण हुने

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन गर्न एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको छ।

यस सम्बन्धमा हालैमात्र विभागका तर्फबाट विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले दुवै संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हाल नेपाल सरकारको इलेक्ट्रोनिक फन्ड ट्रान्सफरको (ईएफटी) माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ। हाल विभागमा ३७ लाखभन्दा बढी लाभग्राही आबद्ध छन्। जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ।

यस सम्झौता पश्चात लाभग्राहीहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैर वित्तीय जानकारीहरुसमेत प्राप्त हुने व्यवस्थाको परिकल्पनाअनुरुप लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टार्को र हिसाब मिलान गर्नेलगायतका सेवाहरु एनसीएचएलमार्फत उपलब्ध हुनेछन्। यस कार्यका लागि एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)अन्तर्गतका विभिन्न उपकरणहरुको प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपी÷पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलगायतका १०० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्तलगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएसअन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरुको पहिचान र हितका लागि सामाजिक सुरक्षा अन्तर्गत नगद प्रवाह र व्यक्तिहरुको डिजिटल पहिचान स्थापना गर्न राष्ट्रिय परिचयपत्र वितरण गर्नुका साथै व्यक्तिगत घटनादर्ता लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ। एनसीएचएलसँगको यस सहकार्यले विभागको सेवा प्रवाहलाई थप सहज बनाउने तथा हाल कायम रहेका र नयाँ लाभग्राहीलाई डिजिटल सेवा प्रदान गर्न थप सुविधा हुने विश्वास गरिएको छ।

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?