जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपालको बैंकिङ एशियाकै लिडर बन्नसक्छ ? छेडियो बहस, विज्ञले देखे सम्भावना

नेपालको बैंकिङ एशियाकै लिडर बन्नसक्छ ? छेडियो बहस, विज्ञले देखे सम्भावना

अबको केही वर्षभित्रै नेपालका बैंकहरु दक्षिण एशिया हुँदै विश्वसम्म पुग्नसक्ने विज्ञहरुले दाबी गरेका छन् ।

एशिया बैंकर्स एशोसिएसन(एबीए)ले काठमाण्डौमा आयोजना गरेको सम्मेलनका क्रममा आयोजित प्यानल डिसकसनमा सहभागी अर्थशास्त्री तथा विज्ञहरुले यस्तो दाबी गरेका हुन् ।

नेपाली अर्थतन्त्रसँगै बैंकिङको चमात्कारिक बढोत्तरी सम्भव रहेको र त्यसमा गम्भीरतापूर्वक काम गर्न सके नेपाल दक्षिण एशियाकै लिडर बन्नसक्ने समेत विज्ञहरुको दाबी छ ।

एबीएको ३९ औं सम्मेलनको स्थानीय आयोजक नेपाल बैंकर्स एशोसिएसनले सञ्चालन गरेको ‘रिइमाजेनिङ नेपाल्स इकोनोमिक ग्रोथ’ शीर्षकको प्यानल छलफलमा सहभागीहरुले जलविद्युत, पर्यटन, सूचनाप्रविधि, कृषि लगायतका सेक्टरमा आक्रामक भएर काम गर्न सके नेपाली अर्थतन्त्रले केही वर्षमै काचुली फेर्ने बताएका हुन् ।

ब्रिटिस एम्बेसी काठमाण्डौकी डेपुटी एम्बासडर हेइडी टभाकोलीले नेपालमा क्लाइमेट फाइनान्समा निकै ठूलो सम्भावना रहेको बताइन् । ‘नेपाली अर्थतन्त्रमा यहाँ उपलब्ध अथाह हाइड्रो रिसोर्सेजले निकै ठूलो गेम चेञ्जरको भूमिका निर्वाह गर्न सक्छ ।’ उनले भनिन्–‘इण्डियाले नेपालको १० हजार मेगावाट बिजुली किनिदिने भनेको छ । यो भनेको नेपाली अर्थतन्त्रका लागि निकै ठूलो गेम चेञ्जिङ हुनेछ ।’

नेपालले १० हजार मेगावाट बिजुली बिक्री गर्दा १२ बिलियन डलर आम्दानी गर्नसक्ने भएको उल्लेख गर्दै यो भनेको निकै ठूलो उपलब्धि हुने पनि बताइन् ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको इकानोमी सन् २०३० सम्म १०० बिलियन डलरको हुने दाबी गर्दै अझै पनि ठूला पूर्वाधारहरुमा फाइनान्सिङको समस्या रहेको बताए । त्यसका लागि आवश्यक फाइनान्सियल उपकरणहरुको विकास गर्नुपर्नेमा जोड दिंदै नीतिगत रुपमा त्यसको व्यवस्थापनको सुरुवात गरिसकिएको बताए ।

‘नेपालले समेत ग्रीन बण्ड मार्केटको विकास र बिस्तार गर्न आवश्यक छ ।’ उनले भने–‘लामो अवधिको फाइनान्सको आवश्यकता पूरा गरी ठूला पूर्वाधारसँगै एसएमइ आयोजनामा ध्यान दिन सकिए नेपाली अर्थतन्त्र निकै माथि जानेछ ।’

हमालले नेपालका बैंकहरुको खराब कर्जाको अनुपात बढिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै यसको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको बताए ।

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसीले अहिले पनि नेपालका कतिपय बैंकरहरुले विभिन्न एशियन देशका बैंकहरुमा सीइओको रुपमा नेतृत्व हाँकिरहेका उल्लेख गर्दै आगामी दिनमा यहाँका बैंक तथा बैंकरले एशियालाई नै लिड गर्नसक्ने सम्भावना रहेको दाबी गरे । ‘हामीलाई लाग्छ हामीसँग भएका सम्भावनाहरुलाई बेलैमा चिनेर काम गर्न सकिए सन् २०३० सम्ममा नेपालको बैंकिङ साउथ एशियामा लिडर बन्नसक्छ ।’ केसीले थपे–‘आशावादी बन्नसक्ने धेरै ठाउँहरु छन् । हाम्रो गुणस्तरीय सेवा विश्वसम्म नै पनि पुर्याउनसक्छौं, त्यो सम्भव छ ।’

आइएफसीका नेपाल प्रतिनिधि बबाकर एस. फेईले नेपालको जीडीपी ग्रोथ आगामी वर्ष निकै राम्रो हुने प्रक्षेपण गरे । उनले नेपालको केन्द्रीय बैंकले यहाँका बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउन राम्रा नीतिहरु लिएको उल्लेख गर्दै सुपरीवेक्षणमा थप काम गर्नुपर्नेमा जोड दिए ।

उनले पनि नेपालमा धेरै सेक्टरमा निकै ठूलो सम्भावना रहेको औंल्याए ।

सेसनमा क्लोजिङ रिमाक्र्स प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले विगत १० वर्षमा नेपालको औसत आर्थिक वृद्धिदर वार्षिक ४ प्रतिशत रहेको उल्लेख गर्दै आगामी दिनमा चमात्कारिक ग्रोथ हुनसक्ने बताए ।

कतिपयले नेपाली अर्थतन्त्रले ग्रोथ गर्न सक्दैन भनेको पनि सुनिन्छ । उनले भने–‘सन् २०१५ को भूकम्प, कोभिड प्रकोप तथा अन्य असहज अवस्थामा समेत कुनै एक्स्ट्रा अर्डिनरी इफोर्ट नलगाई हाम्रो अर्थतन्त्रमा गतिलो बाउन्स ब्याक भएको छ ।’

उनले सिंगल डिजीटको हायर ग्रोथ नेपालका लागि असम्भव नरहेको र त्यो निकट भविष्यमै प्राप्त हुनेमा जोड दिए ।

उनले नेपाली अर्थतन्त्रमा संरचनागत समस्या रहेको उल्लेख गर्दै रेमिटान्समा निर्भर अर्थतन्त्र सिफ्ट हुन आवश्यक रहेको बताए । ‘रेमिटान्समा निर्भर अर्थतन्त्र जब हाइड्रो, टुरिजम, कृषि तथा आइटीमा सिफ्ट हुन्छ, तब नेपालको ग्रोथ निकै माथि पुग्नेछ ।’ उनले भने–‘क्रस बोर्डर बिजिनेश खोजिरहेकाहरुलाई नेपालमा ठूलो सम्भावना र अवसर छ ।’

आउँदो १२ वर्षभित्रमा नेपालले १५ हजार मेगावाटसम्म बिजुली उत्पादन गर्नसक्ने दाबी गरे ।

उनले एशियाभरका बैंकरहरुलाई आफ्ना ग्राहकलाई नेपालमा लगानीको सम्भावना बुझाइदिन आग्रह गर्दै लगानीको संरक्षण र रिटर्न लैजाने विषयमा लचक नीति बनाउनेदेखि सबै खालका सहयोग गर्न नेपाल तयार रहेको बताए ।

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?