जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अप्रिलबाट १० ठूला बैंकको सम्पत्ति पुनर्मूल्यांकन हुने

अप्रिलबाट १० ठूला बैंकको सम्पत्ति पुनर्मूल्यांकन हुने

सन् २०२४ को अप्रिलबाट नेपालका १० वटा ठूला बैंकको सम्पत्तिको पुनर्मूल्यांकन हुने (पोर्टफोलियो रिभ्यु) सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तार कर्जा सुविधा (ईसीएफ) लिंदा नेपाल सरकारले गरेको प्रतिबद्धताअनुरुप ठूला बैंकहरुको सम्पत्तिको पुनर्मूल्यांकन हुन लागेको हो ।

कोभिडपछि अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि आईएमएफले नेपाललाई ईसीएफअन्तर्गत ३७ करोड ६५ लाख अमेरिकी डलर (करिब ५० अर्ब रुपैयाँ) ऋण दिंदैछ । त्यही ऋणको तेस्रो किस्ता उपलब्ध गराउँदै उसले नेपालका ठूला १० बैंकको कर्जा पोर्टफोलियो रिभ्युको पहिलो चरणको काम यही आर्थिक वर्षमा सुरु हुने जानकारी दिएको हो ।

आईएमएफले बिहीबार जारी गरेको रिपोर्ट अनुसार २०२३ को अन्तिमसम्म राष्ट्र बैंकले उक्त पोर्टफोलियो रिभ्युको लागि कार्यादेश तयार गर्नेछ । २०२४ को अप्रिलबाट उक्त प्रक्रिया अगाडि बढ्ने र २०२४ को जुलाई मध्य (चालु आवको असार मसान्त)सम्म तथ्यांक संकलन गर्ने कार्य हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । २०२४ को डिसेम्बरसम्म रोडम्याप तयार हुने र २०२५ समममा सम्पन्न गर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय विज्ञहरु मार्फत १० वटा ठूला बैंकको सम्पत्तिको गुणस्तर कर्जा तथा लगानी प्रणालीको सुधारको लागि रिभ्यु गर्न लागेको हो । नेपालमा बैंकिङ प्रणालीबाट उच्च कर्जा विस्तार हुने तर त्यसले अर्थतन्त्रमा योगदान कम दिने समस्या देखिएको छैन । सोही कारण बैंकहरुको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने सर्त अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको थियो ।

आईएमएफले राष्ट्र बैंकले सुरु गर्ने १० वटा ठूला बैंकको कर्जा प्रणालीको सुधार र सम्पत्तिको वर्गीकरणको महत्वपूर्ण चरण भएको भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएको छ । यसले कर्जा प्रणालीमा महत्वपूर्ण सुधार गर्ने आईएमएफले बताएको छ ।

आईएमएफले मौद्रिक नीतिको अहिलेको सतर्कतालाई निरन्तरता दिनुपर्ने पनि बताएको छ । ‘मूल्य र बाह्य क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीतिले अहिले लिएको सतर्कता कायम राख्नुपर्छ,’ आईएमएफले भनेको छ ।

आईएमएफले वित्त नीतिलाई पनि क्रमशः सबल बनाउँदै लैजानुपर्ने बताएको छ । वित्तीय पारदर्शिताका लागि संस्थागत सुशासनमा सुधारको गतिलाई कायम राख्नसके मात्रै नतिजा आउने आईएमएफले बताएको छ । थप संरचनात्मक सुधार, स्वदेशी राजस्व परिचालनमा वृद्धि सार्वजनिक लगानी व्यवस्थापनलाई सुदृढ गर्न, वित्तीय जोखिमहरुलाई सम्बोधन गर्न मध्यम अवधिको वित्तीय दिगोपनलाई बलियो बनाउन वित्तीय नीतिले भूमिका खल्नुपर्ने आईएमएफको सुझाव छ ।

यस्तै सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण फ्रेमवर्कलाई प्रभावकारी बनाउने अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक सुधार गर्नुपर्नेमा आईएमएफको जोड छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसलाई सुधार गर्न नसकेको अवस्थामा विश्वव्यापी वित्तीय प्रणालीमा सहज पहुँचको लागि पनि सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी फ्रेमवर्कलाई सुधार गर्नुपर्ने बताएको हो ।

विस्तारित कर्जा सुविधाको समझौता हुँदा नै नेपाल राष्ट्र बैंक ऐन संशोधन र नेपाल राष्ट्र बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षणको सर्त आईएमफले राखेको थियो । त्यसमा उसले पुनः जोड दिएको छ ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका